FLASH NEWS
  • Loading...

बेनी नगरपालिकाको जेष्ठ नागरिकसँग स्वास्थ्यकर्मी घरभेट र विपन्नलाई आवास कार्यक्रम प्रभावकारी बन्दै

बेनी नगरपालिकाको जेष्ठ नागरिकसँग स्वास्थ्यकर्मी घरभेट र विपन्नलाई आवास कार्यक्रम प्रभावकारी बन्दै

म्याग्दी र कालीगण्डकी नदीको किनारामा अवस्थित सुन्दर तथा ऐतिहासिक बस्ती बेनी नगरपालिकाले नगरवासीको जीवनस्तर उकास्न स्वास्थ्य र सामाजिक क्षेत्रमा उदाहरणीय अभ्यास सुरु गरेको छ।

नगरवासीलाई स्वस्थ राख्न, ज्येष्ठ नागरिकलाई दैलोमै स्वास्थ्य जाँच तथा औषधि पुर्‍याउन र अति विपन्न परिवारलाई सुरक्षित अाेत लाग्ने घर दिन नगरपालिकाले यतिबेला स्वास्थ्य र सामाजिक विकासका जनमुखी कार्यक्रमहरूलाई विशेष प्राथमिकताका साथ अघि बढाएको बेनी नगरपालिकाले दाबी गरेको छ।

घरदैलोमै स्वास्थ्य सेवा र नसर्ने रोगको स्क्रिनिङ

बदलिँदो जीवनशैली र खानपानका कारण नसर्ने रोगहरू ठूलो चुनौतीका रूपमा देखा परेका छन्। बेनी नगरपालिकामा स्वास्थ्य शाखाले सञ्चालन गरेको ‘नसर्ने रोगको स्क्रिनिङ’ र ‘ज्येष्ठ नागरिक स्वास्थ्यकर्मी घरभेट’ कार्यक्रमको तथ्याङ्कले नगरभित्र उच्च रक्तचापका बिरामीहरू उल्लेखनीय रूपमा बढेको देखाएको छ। यो तथ्याङ्कले नगरवासीलाई आफ्नो स्वास्थ्यप्रति थप सचेत हुन घन्टी बजाएको छ।

बेनी नगरप्रमुख सुरत केसीका अनुसार विपन्न नागरिकको नि:शुल्क स्वास्थ्य बीमा, ज्येष्ठ नागरिकको घरदैलोमै पुगेर उपचार, र टोल-टोलमा नसर्ने रोगको स्क्रिनिङ गरेर नगरपालिकाले नागरिकलाई राज्य भएको आभास दिलाएको छ।

घरमै स्वास्थ्य जाँच गराउन पाउँदा बेनी नगरपालिका– ९, नेप्टेचौरका ज्येष्ठ नागरिक उदबहादुर चोखाल भन्छन्, “८० वर्ष हुन लागेँ, कान राम्रो सुन्दिनँ। यो औषधि खाएकै छु निको भएन। अहिले पनि जाँच्नुभयो, के भन्नुभयो बुझिनँ। अहिले बुहारीले भन्लिन् घर गएपछि। हामी बुढाबुढीलाई घरदैलोमै आएर जाँच्ने र औषधि दिनुहुन्छ। राम्रो गर्नुभएको छ, आशीर्वाद छ।”

भौगोलिक विकटता र घामपानी नभनी स्वास्थ्यकर्मीहरू नागरिकको घरघरमा पुगिरहेका छन्। बेनी नपा–९ स्थित घतान स्वास्थ्यचौकीकी कल्पना ढुङ्गाना भन्छिन्, “हरेक महिना, हरेक हप्ताको फरक-फरक दिनको क्यालेन्डर बनाएर वडाका सबै टोलबस्तीमा पुग्छौँ। ज्येष्ठ, असक्त नागरिकको नियमित स्वास्थ्य परीक्षण गर्छौँ। स्वास्थ्य अवस्था हेरी नगरपालिका र स्वास्थ्य संस्थाबाट उपलब्ध हुने नि:शुल्क औषधि पुर्‍याउँछौँ। हामीले गर्न नसकिने समस्या र अवस्था देखेपछि माथिल्लो तहको बेनी अस्पतालमा बिरामी पठाउँछौँ। घामपानी, झरीबादल नभनी हरेक हप्ता एउटा न एउटा टोलबस्तीमा पुग्छौँ। जागिर खान आएको भन्दा बढी ज्येष्ठ, अपाङ्ग तथा असक्त भई वर्षौँदेखि ओछ्यानमा पल्टिएका रोगी नागरिकलाई दैलोमै पुगेर सेवा गर्न पाएकोमा मन खुसी छ, सन्तुष्टि त्यही सेवाभाव हो।”

त्यस्तै, बेनी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख खगराज निउरेका अनुसार यो कार्यक्रमले नगरभित्रका ठूलो जनसङ्ख्यालाई बेलैमा रोगबारे सचेत गराएको छ। स्वास्थ्य शाखा प्रमुख निउरे भन्छन्, “हामीले बेनीमा बाहेक गाउँका बस्तीमा ज्येष्ठ नागरिक घरभेट कार्यक्रम मात्र होइन, नगरपालिका भित्रका ४० वर्षमाथिका सबै नागरिकको हरेक महिना रगतमा चिनीको मात्रा जाँच, रक्तचाप परीक्षण र मूत्र (किड्नीको अवस्था) हेर्ने समेतका नसर्ने रोगको स्क्रिनिङ गर्ने गरेका छौँ। यो नसर्ने रोगको स्क्रिनिङ कार्यक्रमले धेरै नागरिकले बेलैमा आफ्नो स्वास्थ्य अवस्था जानकारी पाएकाले समयमै उपचार पाएका छन्। यो निकै प्रभावकारी देखिएको छ।”

विपन्नलाइ सुरक्षित आवास कार्यक्रम

नागरिकको स्वस्थ र सुरक्षित आवास पनि नगर विकासमा उत्तिकै आवश्यक हुन्छ। त्यसैले बेनी नगरपालिकाले गत वर्षदेखि विपन्न नागरिकका लागि नि:शुल्क आवास कार्यक्रम सुरु गरेको छ। नगरपालिकाका सबै १० वटै वडाहरूमा न्यायोचित रूपमा “एक वडा, एक विपन्न आवास घर” अन्तर्गत निर्धारित मापदण्डले तोकेका नागरिकलाई क्रमसूची अनुसार वर्षेनी घर बनाउने योजना नगरपालिकाले बनाएको छ।

नगरपालिकाले गत वर्ष १३ र यो वर्ष थप १३ गरी कुल २६ वटा विपन्न परिवारका लागि प्रतिघर ३ लाख रुपैयाँ खर्चेर सुविधायुक्त आवास निर्माण गरिसकेको छ। ओत लाग्ने ठाउँ नभएका अति विपन्न परिवारका लागि यो कार्यक्रम वरदान साबित भएको छ।

बेनी नगरपालिका–६, डम्बरकी विपन्न आवास कार्यक्रमकी लाभग्राही रिमा भण्डारी नगरपालिकाबाट २ लाख ५० हजार रुपैयाँ अनुदान लिएर घर बनाउँदै छिन्। आफ्नो पीडा र खुसी साट्दै उनी भन्छिन्, “पहिले घर थिएन, सानो छाप्रोमा गुजारा गरेका थियौँ। बेनी नगरपालिकाबाट पाएको अनुदान रकममा केही थपेर नयाँ घर बनाउँदै छु। अनुदान अलि बढी भएको भए हुन्थ्यो, घर अधुरो भयो, ऋण खोजेर बाँकी काम सकेँ। खेतीबाली गर्ने आफ्नो जग्गाजमीन छैन, अरूको बारीमा थोरै अधिया मकै रोपेकी छु। श्रीमान् ७ महिना भयो साउदी जानुभएको छ। घरमा बुढी सासू, बच्चा र म छौँ। बच्चा सानो भएकाले म ज्याला मजदुरीमा जान पनि नसक्ने अवस्था छ।”

त्यस्तै, घर पाएर खुसी भएका बेनी नपा–९, नेप्टेचौरका अर्का लाभग्राही विजुन छिनाल भन्छन्, “यो घर बनाएको सुर्केघरो बाहेक अरू मेरो जमिन छैन। दुई भाइ छौँ, घर नभएको र खेती गर्ने आफ्नो जग्गा नभएकाले म पर्वतको जलजला गापा–१, बाँसखर्क ससुरालीमा बस्छु। भाइ पोखरातिर ज्याला मजदुरी गर्छ। आफ्नो घर नभएजस्तो नहुने रहेछ। नगरपालिकाबाट ३ लाख अनुदान पाएपछि बाउबाजेको थलोमा घर बनाउन लागेको हो। घर बनेपछि माइत बस्ने श्रीमती र छोराछोरीलाई पनि घरमा ल्याएर उतै ज्यालामजदुरी गर्नुपर्ला। बस्ने बास नपाएर भौँतारिएको मलाई नगरपालिकाको विपन्न आवासको पैसाले बाबुको छालामा फर्कायो (पुर्ख्यौली थलोमा फर्कायो)।”

स्थानीय सरकारको प्रतिबद्धता

बेनी नगरपालिकाका प्रमुख (मेयर) सुरत केसीका अनुसार यी स्वास्थ्य र आवास कार्यक्रमहरू केवल योजना मात्र नभएर स्थानीय सरकारको मुख्य सामाजिक दायित्व हुन्। कार्यक्रमको दूरगामी महत्त्वबारे प्रस्ट पार्दै मेयर केसी भन्छन्, “असक्त, अपाङ्ग तथा ज्येष्ठ नागरिक घरभेट कार्यक्रम नगरपालिकाको सामाजिक दायित्व भित्रको सबैभन्दा बढी प्रभावकारी कार्यक्रम हो। त्यसैबाट सिकेर बेनी नगरपालिकाले विपन्न परिवारलाई स्वास्थ्यमा पहुँच बढाउन नि:शुल्क स्वास्थ्य बीमा कार्यक्रम जोडेको हो। अघिल्लो वर्षदेखि नगरपालिकाले सबै वडामा विपन्न आवास कार्यक्रम पनि सुरु गरेको हो।”

मेयर केसीले थपे, “नगरपालिकाले सुरु गरेको असक्त, अपाङ्ग तथा ज्येष्ठ नागरिक घरभेट कार्यक्रमबाट वर्षौँदेखि औषधिको अभावमा ओछ्यानमै पल्टिएका सयौँ बिरामीले उपचार पाएका छन्। आर्थिक अभाव वा अन्य जेसुकै कारणले पनि परिवारबाट अपेक्षित स्याहारसुसार र उपचार नपाएका असक्त, अपाङ्ग बिरामीका लागि यो कार्यक्रमले ‘सरकार छ, राज्यले हेर्छ’ भन्ने विश्वास दिलाएको छ। असक्त, अपाङ्ग तथा ज्येष्ठ नागरिक घरभेट कार्यक्रम, विपन्न स्वास्थ्य बीमा, ज्येष्ठ नागरिकको नसर्ने रोग स्क्रिनिङ कार्यक्रम र विपन्न आवास कार्यक्रम बेनी नगरपालिकाको समाजवाद उन्मुख राज्य अवधारणाको व्यावहारिक अभ्यास हो, जसले गर्दा राज्यको उपस्थिति तल्लो तहका नागरिकले महसुस गरेका छन्।”

*बेनी नगरपालिका मिडिया फेलाेशिपमा सहकार्य

 

  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र