- Loading...
विकटका विद्यालय, घट्दो विद्यार्थी संख्या अनि अन्नपूर्णको शैक्षिक अवस्था

- घनश्याम खड्का
- २ हप्ता अघि
- ११२ पटक पढिएको
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको भूगोल जति लोभलाग्दो छ, यहाँको सामुदायिक शिक्षाको भित्री तस्बिर भने उत्तिकै चुनौतीपूर्ण छ। तीव्र बसाइँसराइ र घट्दो विद्यार्थी सङ्ख्याका कारण पालिकाका कक्षाकोठाहरू वर्षेनी रित्तिँदै गइरहेका छन्। भौगोलिक विकटता र जनशक्ति अभाव झेलिरहेको यो क्षेत्रमा प्रविधिको प्रयोग र केही नयाँ नीतिहरू सुरु गरिए पनि अपेक्षित प्रतिफल भने देखिन सकेको छैन।
गाउँपालिकाको शिक्षा शाखाको पछिल्लो चार वर्षको तथ्याङ्कले यहाँको विद्यालय शिक्षामा विद्यार्थीको सङ्ख्या लगातार ओरालो लागिरहेको देखाउँछ। वि.सं. २०८० मा प्रारम्भिक बालविकास (ईसीडी) बाहेक कुल १ हजार ७ सय ७ ९ जना विद्यार्थी पालिकाभरिका विद्यालयमा अध्ययनरत थिए। यो सङ्ख्या प्रत्येक वर्ष घट्दै गएर शैक्षिक सत्र २०८३ सम्म आइपुग्दा १ हजार ३ सय ९ मा सीमित भएको छ। चार वर्षको अवधिमा ४ सय ७० जना विद्यार्थी घट्नुले पहाडी भेगमा बसाइँसराइको प्रभाव कति छ भन्ने स्पष्ट पार्छ।
कक्षा ११ र १२ को अवस्था पनि उस्तै छ। २०८० सालमा उच्च शिक्षातर्फ २४० जना विद्यार्थी रहेकोमा २०८३ सालमा आइपुग्दा यो सङ्ख्या १८३ मा झरेको छ। हाल ईसीडी तहसहित गणना गर्दा पालिकाभरि कुल २ हजार ९४ जना बालबालिका (१ हजार ३८ छात्रा र १ हजार ५६ छात्र) अध्ययनरत छन्।
पालिकाभरी ईसीडी कक्षासहित कुल ३५ वटा विद्यालयहरू सञ्चालनमा छन्, जसमध्ये १० वटा माध्यमिक विद्यालय हुन्। यी १० वटा माविमध्ये ४ वटा माविमा कुल विद्यार्थी सङ्ख्या १०० जनाभन्दा पनि कम छ। दुईवटा माविमा २०० मुनि र बाँकी ४ वटा माविमा ३०० भन्दा कम विद्यार्थी छन्। पर्याप्त विद्यार्थी नहुँदा विद्यालयको प्रशासनिक खर्च धान्न र शैक्षिक गुणस्तर कायम राख्न समस्या थपिएको छ।
आर्थिक वर्ष २०८१/०८२ मा पालिकाले शिक्षा क्षेत्रमा चालु र पूँजीगत गरी कुल १८ करोड २५ लाख रुपैयाँ विनियोजन गरेको थियो। यो बजेटलाई कुल विद्यार्थी सङ्ख्याले भाग गर्दा ईसीडीसहित प्रतिविद्यार्थी लागत ८७ हजार १ सय ५३ रुपैयाँ हुन आउँछ। ईसीडी बाहेक मात्र हिसाब गर्दा प्रतिविद्यार्थी लागत १ लाख ७७ हजार ९ सय रुपैयाँ देखिन्छ।
राज्यको तर्फबाट प्रतिविद्यार्थी भइरहेको यो लगानी ठूलो भए पनि त्यस अनुसारको प्रतिफल र विद्यार्थी टिकाइराख्ने चुनौती भने कायमै छ।
अन्नपूर्ण गाउँपालिकाभित्र प्राथमिक तह (कक्षा ५ सम्म) मा ११५ जना शिक्षक कार्यरत छन्, जसमा १० जना राहत दरबन्दीका हुन्। आधारभूत तह (कक्षा ६–८) मा ६८ जना शिक्षक सङ्ख्या रहेकोमा ९ जना अनुदानका छन्। मावि तह (कक्षा ९–१२) मा ५४ जना शिक्षकको दरबन्दी भए पनि त्यसमध्ये २४ जना अनुदान र राहतका शिक्षकको भरमा विद्यालय चलेका छन्।
पहाडी भेगमा दुर्गमताका कारण विज्ञान, गणित, अंग्रेजी तथा कम्प्युटर जस्ता विषयका दक्ष शिक्षकहरू लामो समय रिक्त रहने समस्या पुरानै हो। यसै समस्यालाई कम गर्न गाउँपालिकाले ‘अन्नपूर्ण टेलिटिचिङ कार्यक्रम’ अघि सारेको थियो। पालिकाका सबै माध्यमिक विद्यालयको कक्षा ८, ९ र १० मा कम्प्युटर विषय अनिवार्य पढाइने भएकाले शिक्षक अभाव हुँदा उपलब्ध दक्ष शिक्षकहरूलाई अतिरिक्त पारिश्रमिक दिएर बिहान र बेलुकाको समयमा प्रविधिको माध्यमबाट पढाउने व्यवस्था मिलाइयो।
यद्यपि, यो प्रविधिको प्रयोग सोचेजस्तो प्रभावकारी बन्न सकेको छैन। गाउँपालिका अध्यक्ष भारतकुमार पुनका अनुसार भौगोलिक अवस्था र प्राविधिक कठिनाइका कारण यो कार्यक्रममा केही सुस्तता आए पनि पालिकाले आवश्यक पर्दाका लागि चालु वर्षमा पनि केही बजेट भने छुट्याएको छ।
अध्यक्ष पुन भन्छन्, “टेलिटिचिङले सोचेजस्तो काम नगरे पनि स्मार्ट बोर्डबाट भइरहेको पठनपाठन भने प्रभावकारी देखिएको छ।” गाउँपालिकाले विद्यालयहरूलाई स्मार्ट टीभी, स्मार्ट बोर्ड, र कम्प्युटरजस्ता उपकरणहरू हस्तान्तरण गरेको छ। आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रगति प्रतिवेदन अनुसार आईसीटी शीर्षकमा मात्रै ६ लाख ५० हजार रुपैयाँ खर्च भएको छ। शिक्षा अधिकृत जीसीका अनुसार अहिले सबै मावि तहका विद्यालयमा स्मार्ट बोर्ड जडान गरी पाठ्यक्रम अनुसार पठनपाठन भइरहेको छ।
गाउँपालिकाले शिक्षा क्षेत्रमा एउटा व्यावहारिक नीति पनि सुरु गरेको छ। कुनै महिला शिक्षक सुत्केरी विदामा बस्दा विगतमा विद्यालयहरू महिनौंसम्म शिक्षकविहीन हुने र विद्यार्थीको पढाइ रोकिने समस्या थियो। यो समस्या समाधान गर्न पालिकाले सुत्केरी विदाको अवधिभरका लागि गाउँपालिकाकै आन्तरिक स्रोतबाट खर्च बेहोर्ने गरी अर्को सट्टा शिक्षक नियुक्त गर्ने नीति लिएको छ। यसले गर्दा कक्षाकोठा रित्तो हुन पाएका छैनन् र बालबालिकाको सिकाइ नियमित भएको छ।
भौगोलिक रूपमा विकट क्षेत्रका बालबालिकालाई विद्यालयमै खानेबस्ने सुविधासहित अध्ययनको व्यवस्था मिलाउन गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको अवधारणा अनुसार अन्नपूर्ण गाउँपालिका–५ शिख र संघिय सरकार मार्फत अन्नपुर्ण गापा, ३ दानास्थित ज्ञान प्रकाश माविले
नमुना आवासीय मावि सञ्चालन गरिएका छन् । तर न शिक्षा क्षेत्र नियमन गर्ने पुरा अधिकार पाएके अन्नपुर्ण गाउँपालिकाले नै नमुना विद्यालयहरूके समिक्षा गरेके छ । न त सम्बन्धीत विद्यालयहरूले नै तथ्याङ्क ब्यवस्थित गर्न सकेका छन । अरू ब्यवस्थापकीय कुरा अझै परके कुरा बनेके छ ।
नीतिगत रूपमा यी विद्यालयहरू दुर्गमका विद्यार्थीलाई सुविधा दिन खोलिएका हुन्। तर, शैक्षिक नतिजाको ग्राफ भने उतारचढावपूर्ण देखिन्छ।
पछिल्लो ५ वर्षमा शिख माविमा मात्र करिब ९ करोड खर्च भएको छ। तर लगानीको अनुपातमा ती विद्यालयको शैक्षिक गुणस्तरमा सुधार भएको ठोस र मापनयोग्य सूचक भने अझै स्पष्ट हुन सकेको छैन।
विद्यार्थीको घट्दो सङ्ख्या र बसाइँसराइ अन्नपूर्ण गाउँपालिकाको शिक्षा क्षेत्रको मुख्य चुनौती हो। तर, स्मार्ट बोर्डको प्रयोग, आईसीटीको विस्तार र सुत्केरी सट्टा शिक्षक जस्ता नीतिहरूले केही सुधारको प्रयास गरेको देखिन्छ। यस्ता विद्यालयहरूलाई केवल भौतिक संरचनामा मात्र सीमित नराखी सिकाइको वास्तविक केन्द्र बनाउन लगानीको सही सदुपयोग र गुणस्तरमा ध्यान दिनु आवश्यक छ।
*अन्नपुर्ण गाउँपालिका मिडिया फेलाेशिप प्राप्त

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य




















