- Loading...
धवलागिरीको शैक्षिक सुधारको नयाँ दिशा : हेम मावि आवासीय मोडल उदाहरणीय पाइला

- घनश्याम खड्का
- २ हप्ता अघि
- १५२ पटक पढिएको
म्याग्दीको करिब आधा भूगोल ओगटेको धवलागिरी गाउँपालिकामा टुप्पी माथिको गुर्जावस्ती समेत पहाडका खोँच र भिराला पाखाहरूमा छरिएका साना-साना बस्तीहरू छन्।
भौगोलिक रूपमा जिल्लाकै सबैभन्दा दुर्गम धवलागिरी गाउँपालिकामा शिक्षाको अवस्था पनि निकै सकसपूर्ण छ। शैक्षिक सूचकहरूमा पछाडि रहेर पनि शैक्षिक गुणस्तरको कसीमा सहरका ठूला विद्यालयसँग प्रतिस्पर्धा गर्नुपर्ने यहाँका विद्यार्थीका लागि ‘विषयगत शिक्षकको अभाव’ र ‘कठिन भूगोल’ वर्षौंदेखि बाधक बनेका छन्। तथ्याङ्क कार्यालय बागलुङले प्रकाशित गरेको जिल्ला प्रोफाइल २०८२ अनुसार धवलागिरीमा ७६.२२ प्रतिशत साक्षरता रहेको छ।
धवलागिरी गाउँपालिकाको लेखा शाखाले उपलब्ध गराएको आर्थिक वर्ष ०८२/८३ को कुल ४६ करोड ५६ लाख ६ हजार ५ सय रुपैयाँको बजेटमध्ये कुल बजेटको ३७ प्रतिशत अर्थात् १७ करोड ३८ लाख रुपैयाँ शिक्षा क्षेत्रमा विनियोजित थियो।
गाउँपालिकाको शिक्षा शाखाले दिएको विवरण अनुसार शैक्षिक सत्र ०८२ मा धवलागिरी गाउँपालिकामा कुल २ हजार ३ सय ३५ जना विद्यार्थी अध्ययनरत थिए। शिक्षा क्षेत्रमा विनियोजित बजेटलाई सो वर्षका कुल विद्यार्थीले भाग लगाउँदा औसत प्रतिविद्यार्थी ७४ हजार ४ सय ३२ रुपैयाँ लगानी भएको देखिन्छ। तर, त्यो लगानीले अपेक्षित नतिजा दिन सकिरहेको छैन।
धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन भन्छन्, “जति लगानी शिक्षामा गरिएको छ, त्यसअनुरूप प्रतिफल आएको छैन। दुर्गम भूगोल र छरिएका साना बस्ती हाम्रा लागि सबैभन्दा ठूलो बाधा बनेका छन्।”
धवलागिरीको शैक्षिक गुणस्तर कमजोर बन्नुका धेरै कारणमध्ये शिक्षकहरूको सरुवा र दरबन्दीको समस्या प्रमुख हो। प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद शर्मा भन्छन्, “स्थायी दरबन्दीमा आउने शिक्षकहरू एक वर्षको परीक्षणकाल पूरा हुनासाथ घरपायक वा सुगम क्षेत्र रोजेर सरुवा भइहाल्छन्।” शर्माले थपे, “चालू आर्थिक वर्षमा मात्र १२ जना शिक्षक सरुवा भए।
विशेष गरी गुर्जास्थित जनकल्याण माध्यमिक विद्यालयबाट १२ जनामध्ये ६ जना शिक्षक सरुवा भई जाँदा त्यसको प्रत्यक्ष असर विद्यार्थीको पढाइमा परेको छ।” गाउँपालिकाले शैक्षिक सुधार योजनाअन्तर्गत विद्यालय मर्जरसँगै शिक्षक दरबन्दी मिलान र विद्यार्थीको सङ्ख्या अनुसारको भौतिक पूर्वाधार व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ।
शिक्षक धेरैजसो जिल्लाबाहिरका हुँदा उनीहरूको मनमस्तिष्क सधैं सरुवामै अल्झिरहने गरेको पालिकाको बुझाइ छ। विज्ञान, गणित, अंग्रेजी र सामाजिक विषयका शिक्षक पाउन मुस्किल छ, जसले गर्दा विद्यार्थीहरू स्वअध्ययनको भरमा एसईई जस्तो राष्ट्रिय परीक्षामा सामेल हुनुपर्ने बाध्यता छ।
गाउँपालिका अध्यक्ष पुनले थपे, “विद्यालय मर्जरको प्रक्रियामा प्राविधिक जटिलता देखिएको छ। स्थानीय स्तरमा हुने अनावश्यक राजनीतिक हस्तक्षेप र विभिन्न प्रकारका दबाबका कारण पनि मर्जरको प्रक्रियाले गति लिन सकेको छैन। हामीले विद्यालयहरूलाई केवल गाभ्ने मात्र होइन, टाढाका विद्यार्थीका लागि स्थानीय तहबाटै ‘स्कुल बस’ सञ्चालन गर्न सकिने वा अन्य यातायातका विकल्पहरू खोजेर सहज पठनपाठनको वातावरण बनाउनेबारे पनि गम्भीर गृहकार्य गरिरहेका छौँ।”
धवलागिरी गापाका चेचुङ, नाउरा, नेर्वाङ, कल्लेनी जस्ता १५–२० घर भएका साना बस्तीमा २–३ जना बच्चा छन्। ती विद्यार्थी अर्को नजिकको विद्यालय ३–४ घण्टा हिँडेर पुग्न नसक्ने भएकाले खर्च बढी भएपनि स्कुल राख्नैपर्ने बाध्यता छ। यसै वर्षदेखि यी बस्तीमा रहेका बालविकास केन्द्र राखेर आधारभूत तह (कक्षा १-३) सम्मका विद्यालय बन्द गरी विद्यार्थीहरू हेम माविमा ल्याइएको छ।

आशाको दियो बाल्दै हेम नमुना आवासीय मावि
वर्षौंदेखि शैक्षिक स्तरमा पछाडि परेको धवलागिरी गाउँपालिकामा स्थानीय सरकार गठन भएसँगै सुरु गरिएको शैक्षिक जागरणले सार्थकता पाउन थालेको छ। धवलागिरी गाउँपालिका-७, शिवाङस्थित हेम माध्यमिक विद्यालयमा सञ्चालित ‘नमुना आवासीय विद्यालय’ जस्तै मोडल कार्यक्रमले शिक्षामा आशाको दियो बालेको छ।
टाढा र एकान्तका बस्तीबाट आएका विद्यार्थीलाई निःशुल्क खान-बस्न तथा ट्युसनसहित आवासीय अध्ययन/अध्यापनले पालिकाभरिकै शैक्षिक स्तरमा गुणात्मक सुधार ल्याएको छ। हेम माविले हाल ५६ जना विद्यार्थीलाई निःशुल्क आवासीय सुविधासहित पढाइरहेको छ ।
प्रधानाध्यापक शेरबहादुर केसीका अनुसार, विद्यार्थी सङ्ख्या समग्रमा घट्दो क्रममा रहे पनि आवासीय सुविधाका कारण वरपरका टाढाका बस्तीबाट विद्यार्थी आउने क्रम बढेको छ। “हाम्रो अनुभवमा विद्यालयहरू मर्जर गरी आवासीय बनाउँदा लगानी पनि कम लाग्ने र गुणस्तर सुधार हुने देखिन्छ,” उनी भन्छन्।
धवलागिरी गापा भित्र रहेका १० वटा माध्यमिक विद्यालयमध्ये हेम मावि सिवाङ बाहेक अन्य ९ वटा विद्यालय सामुदायिक प्रयासमा खुलेका हुन्। नेपाल सरकारबाट स्वीकृति लिई समुदायले नै सम्पूर्ण आर्थिक, भौतिक तथा प्रशासनिक जिम्मेवारी बहन गर्ने गरी स्थापना गरिएका सामुदायिक विद्यालयहरूमा पछिल्लो समय व्यवस्थापकीय संकट देखिएको छ।
सरकारले राहत शिक्षकको व्यवस्था र आंशिक आर्थिक सहयोग गर्दै आए पनि, स्थानीय तहमा दक्ष र आर्थिक रूपमा सबल परिवारको बसाइँसराइले समुदायको सक्रियता क्रमशः घट्दै गएको छ। बुद्धि विकास माविका प्रधानाध्यापक जगबहादुर किसानका अनुसार, स्थानीय चन्दा र सहयोगमा भर पर्ने यी विद्यालयमा समुदायको साथ र स्रोतको अभाव हुँदा भौतिक पूर्वाधार मात्र नभई शैक्षिक गुणस्तर पनि खस्कँदै गएको छ ।
धवलागिरी जस्ता गाउँपालिकाका लागि विद्यालय व्यवस्थापन थप चुनौतीपूर्ण बनेको छ। गुणस्तरमा सुधारभन्दा पनि सामाजिक प्रतिष्ठा र इगोका कारण कतिपय समुदायले विद्यालयलाई जर्बजस्ती सञ्चालन गरिरहेका छन । समुदायको वास्तविक सहभागिता र गुणस्तरीय शिक्षाभन्दा पनि विद्यालय टिकाइराख्ने होडबाजीले गर्दा शैक्षिक सुधारको मूल उद्देश्य ओझेलमा पर्ने जोखिम देखिएको छ ।
“३०-४० मिनेटको दूरीमा मावि खुलेका छन्, जुन राजनीतिक विषय बनेको छ” अध्यक्ष पुन दुःखेसो गर्छन् ।
‘धवलागिरिको इच्छा, गरिखाने शिक्षा’
धवलागिरी गाउँपालिकाले ‘धवलागिरिको इच्छा, गरिखाने शिक्षा’ कार्यक्रममार्फत सामुदायिक विद्यालयमा पढ्दै कमाउँदैको अवधारणा धवलागिरी मावि मुना र हेम नमूना आवासीय मावि झिनडाँडाका विद्यार्थीले व्यावसायिक तरकारीखेती सुरु गरी कार्यान्वयनमा ल्याएको छ ।
गाउँपालिकाबाट प्राप्त आर्थिक सहयोगबाट मल, बीउ, र टनेललगायतका सामग्री खरिद गरी विद्यार्थीले खाली जग्गालाई सदुपयोग गर्दै व्यावसायिक सीप सिकिरहेका छन् । विद्यार्थीलाई किताबी ज्ञानसँगै व्यावहारिक र व्यावसायिक कृषि शिक्षा प्रदान गर्ने उद्देश्यले सञ्चालित यो कार्यक्रम प्रभावकारी बन्दै गएको गाउँपालिका शिक्षा समितिका अध्यक्ष समेत रहेका पालिका अध्यक्ष प्रेम पुनले बताए ।
अध्यक्ष पुनका अनुसार कार्यक्रम पालिकाका अरू विद्यालयहरूमा पनि क्रमशः विस्तार गर्ने पालिकाको योजना छ। शिक्षामा लगानी बढाउँदै गर्दा धवलागिरी गाउँपालिकाले ‘पढ्दै कमाउँदै’ कार्यक्रममार्फत विद्यार्थीलाई आत्मनिर्भर बनाउने प्रयास पनि गरिरहेको छ ।
दुई वर्ष अघिसम्म २८ प्रतिशतमा सीमित रहेको एसईईको औसत उत्तीर्ण दर यस वर्ष ३६ प्रतिशतमा उक्लिएको छ। यो सानो सुधारले धवलागिरीका जनप्रतिनिधि र शिक्षकहरूलाई आवासीय विद्यालयको मोडेल नै सही बाटो हो भन्ने विश्वास दिलाएको छ। अबको चुनौती भनेको सीमित स्रोत-साधनको अधिकतम उपयोग गर्दै समुदायको ‘इगो’ र भूगोलको विकटतालाई चिरेर शिक्षालाई हरेक बालबालिकाको पहुँचमा पुर्याउनु हो।
* धवलागिरी गाउँपालिकाकाे मिडिया फेलाेशिप प्राप्त

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य




















