FLASH NEWS
  • Loading...

जलवायु संकटले बढायो हिमाली अर्थतन्त्रको चिन्ता, किसान खोज्दैछन् च्यांग्रा जोगाउने उपाय

जलवायु संकटले बढायो हिमाली अर्थतन्त्रको चिन्ता, किसान खोज्दैछन् च्यांग्रा जोगाउने उपाय

बदलिँदो हावापानीका कारण एकातिर गोठमै च्यांग्रा थलिँदै छन् भने अर्कोतिर हिमाली चरन क्षेत्र सुक्दै गएका छन् ।

बर्खाको झरी किसानका लागि राहत बन्नु पर्ने हो । तर, उपल्लो मुस्ताङका चराङका च्यांग्रापालक किसान कर्साङ गुरुङलाई त्यही झरी पिरलो बनेको छ । ‘पहिला बर्खायाममा मुस्ताङमा सामान्यबाहेक पानी नै पर्दैनथ्यो,’ लोघेकर दामोदरकुण्ड गाउँपालिका– १ चराङका कर्साङ भन्छन्, ‘हाम्रा च्यांग्राले हिउँ त खप्छन् तर पानी खप्न सक्दैनन् । पानीले भिजेपछि निमोनियाले च्यांग्रा थलिन र मर्न थालेका छन् ।’

यो संकट केवल कर्साङको गोठको मात्र होइन बरु नेपालको हिमाली अर्थतन्त्र र अन्तर्राष्ट्रिय बजारसँग जोडिएको बहुमूल्य पश्मिना उद्योगकै अस्तित्वको सवाल बनेको छ । च्यांग्राको पश्मिना विश्व बजारमा उच्च माग रहेसँगै सरकारले नै चराङमा पश्मिना संकलन तथा प्रशोधन केन्द्र स्थापना गरेको छ ।
जलवायु परिवर्तनसँगै मुस्ताङको छायावृष्टि क्षेत्रमा अस्वाभाविक वर्षाले हिमाली भेगको यो परम्परागत पशुपालनलाई ठूलो संकटतर्फ धकेलिरहेको छ । मुस्ताङमा पालिने च्यांग्रा रैथाने जाति हुन् ।
पश्मिनाभन्दा पहिला नेपाली समाजले च्यांग्राको मासुको स्वाद सम्झिन्छ । दसैंमा परम्परादेखि नै करोडौं रुपैयाँका च्यांग्रा मुस्ताङबाट देशका सहर पु¥याइन्छ । च्यांग्राबाट मात्रै मुस्ताङमा वार्षिक ४० करोडभन्दा बढी नगद भित्रने गरेको आँकलन छ । मुस्ताङको अर्थतन्त्र पुस्तौंदेखि यही च्यांग्रा व्यापारले चलायमान बनाएको छ । तर बदलिँदो हावापानीका कारण एकातिर गोठमै च्यांग्रा थलिँदै छन् भने अर्कोतिर हिमाली चरन क्षेत्र सुक्दै गएका छन् ।


पशु सेवा विज्ञ केन्द्र मुस्ताङका प्रमुख डा. लालमणि अर्यालका अनुसार जलवायु परिवर्तनले यी दुवै फरक प्रजातिको प्राकृतिक अनुकूलन क्षमतामा असर देखिन थालेको छ । तापक्रम बढ्नु, हिउँदमा कम हिउँ पर्नु, बेमौसममा हिउँ पर्ने, छायावृष्टि भई अति कम वर्षा हुने क्षेत्रमा बर्खायाममा अस्वाभाविक बाक्लो र धेरै दिन झरी पर्ने क्रम बढेका, पशु चौपायाको चरन क्षेत्र माथि सर्दै गएको र फिरन्ते भेडा च्यांग्राको वंशालुगत गुणमै असर देखिनु जलवायु परिवर्तनको असर भन्ठानिएको छ ।
मुस्ताङका चुलुक, च्यांग्रापालक कृषक र पशु स्वास्थ्यमा कार्यरत चिकित्सकहरूले भोगिरहेको यो समस्यालाई वैज्ञानिक अध्ययनले पनि पुष्टि गरेको छ । पशु चिकित्सक अनन्त कोइराला र हिकास्टका केबी श्रेष्ठले सन् २००० देखि २०१० सम्म जोमसोम र कागबेनी क्षेत्रका ७१ वटा गोठमा गरेको र ‘एसियन जर्नल अफ एग्रिकल्चर एन्ड डेभलपमेन्ट’ (एजाड) जुन २०१७ मा प्रकाशित प्रतिवेदनमा मुस्ताङमा गर्मी दिनहरू बढेकोले च्यांग्रा र चौंरीहरूमा बाह्य तथा आन्तरिक परजीवी र छालाका नयाँ रोग देखिएको, उत्पादन क्षमतामा ह्रास आएको उल्लेख छ ।


मुस्ताङका पशु चिकित्सक डा लालमणि अर्यालले जलवायु परिवर्तनको कारणले मुस्ताङका च्यांग्रामा जैविक संकटलाई पुष्टि गरे । डा. अर्यालका अनुसार च्यांग्राको शरीरमा दुई तहको रौं हुन्छ । बाहिर लामा र जकल्टिएका कडा रौं हुन्छन् भने छालासँग टाँसिएर मसिना नरम भुवा (पश्मिना) हुन्छन् । सुख्खा र ठोस हिउँ पर्दा बाहिरी कडा रौंले त्यसलाई भित्र छिर्न दिँदैन र भित्री भुवा (पश्मिना) ले थर्मल इन्सुलेसन (च्यांग्राको शरीरमा तातो राख्छ) कायम राखिरहन्छ ।
तर जब मुस्ताङ जस्तो सुख्खा ठाउँमा मौसमी प्रवृत्ति परिवर्तन भई अस्वाभाविक ठूलो र लामो समय वर्षा हुन्छ, तब पानीले भित्री पश्मिनासमेत पूरै रौँ भिजेर च्यांग्राको शरीरमा टाँसिन्छ । जसको कारण चिसो गढेर ब्याक्टेरिया सक्रिय भई घातक निमोनिया देखिने डा. अर्याल बताउँछन् ।
सन् २०२४ मे २१ मा प्रकाशित ‘डायलग अर्थ’ मा प्रकाशित मुस्ताङ जस्तै उचाइ र भूगोल भएको भारतको लद्दाखका रैथाने च्यांग्रामा गरिएको स्थलगत अध्ययनले ट्रान्स–हिमालयन क्षेत्रमा अत्यधिक चिसो हावा र हिउँ खप्न सक्ने च्यांग्राहरू फेरिएको मौसमी चक्रपछि बेमौसमी वर्षा र क्लाउड ब्रस्ट जस्ता मौसमी घटनापछि कलेजो र फोक्सोको निमोनियाको सिकार भई धमाधम मर्न थालेको उल्लेख छ ।
त्यस्तै प्रकृतिको संकट मुस्ताङमा पनि देखिएको तथ्य सन् २०१७ को जुनमा ‘एसियन जर्नल अफ एग्रिकल्चर एन्ड डेभलपमेन्ट’ भोलुम १४ अंक १ मा प्रकाशित रिपोर्टमा मुस्ताङको बदलिँदो सूक्ष्म हावापानी ‘माइक्रो क्लाइमेट’ को कारणले वर्षाको मात्रा बढेकोले च्यांग्रामा खोकी लाग्ने, सिँगान बग्ने र कलेजो–फोक्सोमा पानी जमेर मर्ने क्रम बढेको उल्लेख छ ।


लोमन्थाङ गाउँपालिका २ छोसेरका अगुवा कृषक मिङ्मा छिरिङ गुरुङ भन्छन्, ‘हिउँ पर्दा केही हुँदैन । चर्को घाम र पानी भयो भने तुरुन्तै च्यांग्राले सिँगान बगाउने, खोक्ने गर्छन् । लसुन र जिम्बुको तातोपानी बनाएर खुवाउँछौं, खुला चौरमा बस्ने गोठ, कसरी तातो बनाउनु, यस्तो बेला पाठापाठीलाई जोगाउनै मुस्किल हुन्छ ।’
बालुवाले छोपेको पहाडमा फाट्टफुट्ट पलाउने टुक्यह्मा, म्ह्याँ, तालाङ, छेम्मा, कोते, झब्जाङ, रब्जाँ, सै र तोरा रैथाने नामका काँडेदार झाडी उम्रिन्छन् । यिनै काँडेदार झाडी र झार नै मुस्ताङका च्यांग्रा र चेलुकको चरन हो । च्यांग्रा, चौंरी, स्थानीय झोपागाई र घोडा उपल्लो भेगका मुख्य पशुपालन हुन् ।
च्यांग्रापालक कृषक कर्साङ गुरुङका अनुसार हिमपातको मात्रा घटेपछि उपल्लो मुस्ताङका चरनखर्कहरूबाट झब्जाङ, रब्जाँ र सै घाँस पूरै सुकेर नष्ट हुँदै छ भने छेम्मा प्रजातिको घाँस सुक्दै माथि–माथि सर्दै गएको छ ।
‘हिउँदमा धेरै हिउँ प¥यो भने च्यांग्रा र चौंरी गोठका लागि राम्रो मानिन्छ । गाउँको नजिक–नजिकमा धेरै घाँस उम्रिन्छ, च्यांग्रा र चौंरी चराउन टाढा जानु पर्दैन । पशु पनि चरेर अघाउँछन् । तर अहिले चरन अपुग हुन थालेको छ,’ लोमन्थाङ गाउँपालिका २ नाम्सुङका ६५ वर्षीय छिमी दोर्जे गुरुङले भने, ‘अहिले त हिउँमा हिउँ पर्न छोड्यो, परे पनि अलिअलि मात्र पर्छ, हिउँ एकै दिनमा पग्लिन्छ । पानी नपुगेर घाँस उम्रिन छोड्यो । चरन पनि भएन, पाल्नेले पेशा छाडेपछि च्यांग्राका गोठ पनि घटे ।’ गुरुङ ४५ वर्षसम्म च्यांग्रा गोठालो गरेका अनुभवी कृषक हुन् ।


गुरुङले आफ्नो आम्दानीको हिसाब सुनाए, ‘पहिला मासुका लागि च्यांग्रा बेचेरै घरको खर्च चल्थ्यो । अहिले चरन अभाव छ, रोग र चिसोले पाठापाठी बचाउनै धौ धौ भएको छ । चरनखर्कमा घाँस घट्ने र च्यांग्रा, चौंरी, गाई, घोडाको सबैको एउटै चरनमा खुम्चिएपछि आहारा अभाव भई उत्पादन (माशु, पश्मिना) घट्न थालेको छ । पहिला जस्तो बढी तौल आउन छोडेको छ ।’

साविक भेटेरिनरी तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङको अभिलेखमा आर्थिक वर्ष २०७८÷७९ मा मुस्ताङभर ३८ हजार हाराहारी मात्र चेलुक, च्यांग्रा रहेकोमा यो संख्या बढेर आव २०८१÷८२ मा ५६ हजारभन्दा बढी पुगेको छ । सोही अवधिमा गण्डकी प्रदेश सरकारले मुस्ताङका चेलुक, च्यांग्रा पालनमा ३ करोड ७ लाख अनुदान वितरण गरेको छ ।
कृषी गणना ०८ मा देशभरको भेडा, च्याङ्ग्रा एकमुष्ठ विवरण समावेस छ । ०७८ मा भने मुस्ताङमा भेडा र च्याङ्ग्राको २० हजार ६ सय ९२ वटा भएको उल्लेख छ । स्थानीय च्याङ्ग्रापालक कृषक, भेटेरिनरी तथा पशु सेवा केन्द्र र कृषी गणनाको तथ्याङ्कमा विरोधाभाष देखिन्छ । तर स्थानीय गाउँपालिका र सरोकारवाला कार्यालयका अभिलेख अनुसार भने घर–घरमा च्याङ्ग्रा पाल्नेको संख्या ह्वात्तै घटेपनि ब्यवसायीक रुपमा एकै ब्यक्तिले धेरै संख्यामा पाल्ने भएकोले संख्या बृद्धी भएको हो ।
मुस्ताङमा च्यांग्राको संख्या वृद्धि पछाडि पालनशैली नै फेरिनु मुख्य कारण हो । पुस्तौंदेखि हरेक घरघरमा धेरथोर च्यांग्रा पालिन्थ्यो, जसले गर्दा झट्ट हेर्दा गाउँभरि गोठको संख्या धेरै देखिन्थ्यो । तर अचेल गाउँबाट सहरतर्फ बसाइँसराइ बढ्दो छ । पशुपालन गर्नेहरू परम्परागत पेसा छोडेर विदेश पलायन हुने बढेकोले गोठको संख्या घटेको छ । तर अचेल परम्परागत शैली फेरिएर फर्म दर्ता गरी कामदार राखेरै व्यावसायिक रूपमा च्यांग्रा पाल्न थालिएको छ । राज्यका विभिन्न निकायले दिने आर्थिक सहायता (अनुदान) फर्मले मात्र पाउने भएकोले पनि फर्म दर्ता गरी हेरालु (गोठालो) राखेर एउटै फर्मले धेरै संख्यामा पाल्न थालेका छन् । त्यसैले गाउँमा गोठको संख्या घटे पनि च्यांग्राको संख्या बढेको हो ।
त्यति मात्र होइन, केही वर्षअघि चितुवाको आक्रमणबाट र अत्यधिक भारी हिमपातमा पुरिएर उपल्लो मुस्ताङमा सयौंको संख्यामा एकै पटक च्यांग्रा मरेपछि घटेको संख्या बिस्तारै लयमा फर्कन थालेपछि च्यांग्राको संख्या बढ्न थालेको लोघेकरदामोदरकुण्ड गाउँपालिकाका पशु सेवा शाखा प्रमुख एवं पशु प्राविधिक चक्र विकले बताए । विकका अनुसार निमोनियाको छुट्टै खोप नभए पनि पिपिआर समेत रोगको नियमित खोप लगाउने गरिएको छ । निमोनियाको भने कृषकले नै रैथाने उपचारको भर पर्ने गरेका छन् ।
‘लगातार तापक्रम वृद्धि र समयमा हिमपात नहुँदा हिमपातको लाइन माथि सरेको, अति न्यून हिमपातले जमिन भिज्न नपाउँदा हिमाली झारहरू उम्रिने क्रम पनि तलबाट माथि सर्दै गएको भेटिएको छ’ एक्याप लोमन्थाङ प्रमुख उमेश पौडेलले भने, ‘जलवायु परिवर्तनले अनियमित हिमपात र वर्षाको कारण हिमाली चरनमा असर गरेको छ । हिमचितुवाको आक्रमण बढेको देखिन्छ ।’


मुस्ताङी च्यांग्राको पश्मिना
नेपाल पश्मिना उद्योग संघका अनुसार नेपालबाट वार्षिक ३ अर्बको पश्मिना तेस्रो मुलुक निर्यात हुन्छ । तर यी पश्मिना नेपालको उत्पादन नभई युरोपका विभिन्न देशबाट पश्मिनाको कच्चा पदार्थ भेडाको ऊन ल्याएर प्रशोधन गरी उत्पादित पश्मिनाको सामान र पश्मिना नै निर्यात गर्ने गरिएको छ ।
नेपालको पश्मिना उद्योगमा ठूलो हिस्सा तिब्बतबाट आयातित कच्चा पदार्थमा निर्भर रहेका बेला मुस्ताङमा च्यांग्रा जोन बनाई पश्मिनाको आयात घटाउने र हिमाली भेगका कृषकको आर्थिक अवस्थामा सुधार ल्याउने लक्ष्यमा जलवायु संकटले जोखिम बढाउँदो छ ।
पश्मिनाको कच्चा पदार्थको आयात घटाउन नेपाल सरकारले मुस्ताङकाे चराङमा पश्मिना (भुवा) संकलन केन्द्र स्थापना गरेकाे छ । मुस्ताङमा जस्तै च्याङ्ग्रा मनाङ, डोल्पा, मुगु र हुम्लामा पनि पालिने भएकाेले ती स्थानमा समेत भुवा संकलन केन्द्र स्थापना सकिने विज्ञहरू बताउँछन । । मुस्ताङको उपल्लो भेगमा पर्ने लोघेकरदामोदरकुण्ड गाउँपालिका १ चराङमा च्यांग्राको भुवा संकलन तथा प्रशोधन केन्द्र बनाइएको छ ।
पश्मिना संकलन केन्द्र लोमन्थाङका मुख्य पश्मिना संकलक पासाङ गुरुङका अनुसार पछिल्लो ६ वर्षदेखि लोघेकर दामोदरकुण्ड र लोमन्थाङ क्षेत्रका च्यांग्राबाट पश्मिना संकलन थालिएको हो । गुरुङका अनुसार गत वर्ष लोमन्थाङ संकलन केन्द्रबाट ८ सय केजी पश्मिना संकलन भएको थियो ।
यहाँ उत्पादित पश्मिना प्रति केजी ४ हजार ५ सय रुपैयाँमा नेपाल पश्मिना महासंघले खरिद गर्ने गरेको छ । कृषकलाई पश्मिना उत्पादनमा प्रोत्साहन गर्न गण्डकी प्रदेश सरकारले कृषि तथा पशु विकास कार्यालय मुस्ताङमार्फत प्रति केजी ३ सय रुपैयाँका दरले प्रोत्साहन अनुदान थप दिने गरेको छ ।
अन्तर्राष्ट्रिय पश्मिना संघका पश्मिना विशेषज्ञ, नेपाल पशु प्रजनन तथा आनुवंशिक अनुसन्धान केन्द्र, नेपाल पश्मिना उद्योग संघ र च्यांग्रा पश्मिना किसान संघले संयुक्त रूपमा मुस्ताङमा पालिएका च्यांग्राको भुवा झिकेर मंगोलियाको अन्तर्राष्ट्रिय पश्मिना प्रयोगशालामा परीक्षण गर्दा उत्कृष्ट कच्चा पदार्थ भनेको च्यांग्रा जोन मुस्ताङले जनाएको छ ।
कृषि तथा पशुपन्छी विकास निर्देशनालय, पशुपन्छी स्रोत व्यवस्थापन तथा प्रवद्र्धन कार्यालयका प्रमुख सहसचिव जगदीश पाण्डेका अनुसार जलवायु परिवर्तनको असर मुस्ताङसमेत हिमाली भेगका पशुपालनमा देखिन थालेको छ । पछिल्लो एक दशकयता हिउँदमा हुनु पर्ने हिमपातमा धेरै कमी आएकोले चरन क्षेत्रमा च्यांग्रा, चुलुक, चौंरी, लुलुगाई समेत जनावरहरूको चरन (आहारा) मा कमी आउँदा मासु उत्पादनमा मात्र होइन, यसको पश्मिना उत्पादनमा समेत कमी आएको छ ।
‘खुल्ला चरनमा आश्रित च्यांग्राहरूले प्रशस्त चरन नपाएपछि स्वाभाविक छ, मासु, पश्मिना उत्पादनमा कमी आउँछ । तापवृद्धिले यिनीहरूको जैविक गुणमै फेरबदल आएको त छैन तर भविष्यमा कसो होला,’ पाण्डेले सुनाए ।
रैथाने च्यांग्रापालन जोगाउने हो भने, अब हामीले जलवायु परिवर्तन छेक्न सक्दैनौं बरु हामी नै अनुकूलन हुने हो । त्यसका लागि परम्परागत च्यांग्रा वा पशुपालन विधि, शैली र तौरतरिका फेनुपर्ने विज्ञहरुको सुझाव छ । खुला चौरमा च्यांग्रा राख्दा पानीले भिज्ने भएपछि पानी नपस्ने गोठ बनाउनु पर्छ । रुखबिरुवा नहुने मुस्ताङमा परम्परागत गोठको सट्टा ट्रस्ट पाइपको स्थायी प्रकृतिको गोठको संरचना बनाई माथिबाट त्रिपाल वा जस्तापाताको छाना राखेर गोठ बनाउनु पर्छ ।
त्यस्तै, जलवायु परिवर्तनको बहानामा रैथाने च्यांग्रामा स्थानीय भूगोलको रोग प्रतिरोधात्मक क्षमता उच्च हुने भएकोले जथाभाबी आनुवंशिक परिवर्तन ‘क्रसब्रिडिङ’ गराउँदा त्यो नासिने भएकोले प्रत्युत्पादक हुन सक्ने विज्ञहरूको सुझाव छ ।
उपल्लो मुस्ताङका लोघेकरदामोदरकुण्ड र लोमन्थाङ गाउँपालिकालाई च्यांग्रा जोन बनाई प्रवद्र्धनको कार्यक्रम गरिरहेको कृषि, वन तथा पर्यटन मन्त्रालयअन्तर्गत राष्ट्रिय पशु पन्छी स्रोत व्यवस्थापन तथा प्रवद्र्धन कार्यालयका उपसचिव केशव भट्टले च्यांग्राको परम्परादेखि मासुका लागि मात्र पालिँदै आएकोमा मन्त्रालयले स्थानीयलाई च्यांग्राको शरीरमा खेर गइरहेको बहुमूल्य वस्तु पश्मिनाको महत्व र मूल्य चिनाउने प्रयास थालेको बताए ।
‘मासुका लागि मात्र पाल्दा च्यांग्रा पालन खर्चिलो भएको भन्दै स्थानीय पेसा छोड्न थालेका थिए, अहिले पश्मिनाबाट पनि आम्दानी थपिन थालेपछि भने फेरि पेसाप्रति आकर्षण बढ्दो छ,’ उपसचिव केशव भट्ट भन्छन्, ‘तर जलवायु परिवर्तनको प्रभाव हिमाली चरन क्षेत्रमा परेको र घाँस उत्पादन घट्दा च्यांग्रा समेत चरनमा निर्भर जनावरहरूलाई आहारा समस्या देखिएको छ ।’


उच्च पहाडी तथा हिमाली क्षेत्रका चरन खर्कमा सामुदायिक चरिचरन गराउँदै आएका आश्रित समुदायको जीविकोपार्जनमा सुधार ल्याउन खर्क नीति २०६८ आएको भए पनि खर्क व्यवस्थापनमा कानुनी उल्झन पेचिला बनेका छन् । खर्क नीतिको उद्देश्यअनुसार सामुदायिक चरिचरन रहेको खर्क व्यवस्थापन समुदायलाई हस्तान्तरण गरिनु पर्नेमा अझै वन मन्त्रालय वा संरक्षण क्षेत्रभित्रै राखिएकोले चरन व्यवस्थापन गर्न समस्या भइरहेको हो ।
राष्ट्रिय पशुपन्छी स्रोत व्यवस्थापन तथा प्रवद्र्धन कार्यालयका उपसचिव भट्ट भन्छन्, ‘खर्क नीति संघीयताअघि आयो तर स्थानीय सरकार र समुदायमा हस्तान्तरित हुनुपर्ने भएन । त्यसले गर्दा चरनखर्क व्यवस्थापनमा स्वामित्व विवाद अल्झियो ।’
नीतिगत बहस र कानुनी उल्झनहरू बिस्तारै हट्दै जालान् तर जलवायु परिवर्तनले ल्याएको संकट भने झन् गहिरिँदै जाने पक्का छ । हिमाली खर्कमा हिउँ पर्न छोड्नुले चरन खर्कमा घाँस उम्रिन छोड्नु र बेमौसम (मनसुनको अन्त्यतिर) अस्वाभाविक वर्षा बढेकोले चिसो लागेर च्यांग्रा बिरामी पर्न थालेसँगै मानिसलाई मात्र होइन, पशुचौपायालाई पनि जलवायु अनुकूलित बासस्थान र चरनखर्क व्यवस्थापन गरिनु पर्ने देखिन्छ ।

*प्रेस रजिष्टारकाे कार्यालय, पाेखराकाे लेखनवृत्ति फेलाेशिप प्राप्त स्टाेरी ।

  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र