- Loading...
राहुघाट (रघुगंगा) करिडोरमा नयाँ अवसरको ढोका खुल्दै

- घनश्याम खड्का
- ३ हप्ता अघि
- १७१ पटक पढिएको
धौलागिरी आइसफलबाट बगेर आउने राहुघाट (रघुगंगा) खोला अहिले केवल हिमालको पानी मात्र बोक्दैन, म्याग्दीका दुर्गम गाउँबस्तीको जीवन बदल्ने ‘समृद्धि करिडोर’ बनेको छ।
कुनै समय भूगोलको विकटताले राहुघाट खाेला वारीपारीका दर्जनौँ बस्तीहरू दुर्गम थिए, हिंडेर अाउजाउ गर्न मुस्किल थियाे । गाउँपालिकाबाट प्रवाहहुने दैनिक प्रशासनिक सेवा लिन पनि घन्टाैं हिँड्न बाध्य हुन्थे। तर अहिले राहुघाट करिडोरमा निर्माण भएका जलविद्युत आयोजनाहरूले बिजुली उत्पादनसँगै सडक, पुलले वस्ती जाेडेका छन । रोजगारी र स्थानीय अर्थतन्त्रको नयाँ अध्याय सुरु भएका छन्।

राहुघाट करिडेरमा निर्मित अायाेजनाबाट १६८ मेगावाट क्षमताको ऊर्जा उत्पादन हुन थालेकाे छ । थप कम्तीमा ४६ मेगावाट विधुत छिट्टै थपिनेक्रममा छ । हाइड्रोहरूले केवल बिजुली मात्र बालेका छैनन्, वर्षौंदेखि विकास पर्खेका दुर्गम गाउँमा सडकको सुविस्ता, आधुनिक शिक्षा र नगद अाम्माानीले सुविस्ता पूर्ण जीवन र अवसर भित्र्याएका छन्।
केही वर्ष अघिसम्म सामान्य प्रशासनिक सिफारिस लिन वा स्वास्थ्य उपचारका लागि घण्टौँको जोखिमपूर्ण पैदल यात्रा गर्नुपर्ने रघुगंगा गाउँपालिकाका बासिन्दाका लागि अहिले अजिङ्गर र तिप्ल्याङडाँडा भीर छिचोल्दै बनेका सडक र पक्की पुलहरूले सिंहदरबारको जग गाउँमै ल्याइदिएका छन्।
आयोजनाहरूले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयहरूमा डिजिटल शिक्षाको सुरुवात, खेलमैदान निर्माण र स्थानीय युवाहरूलाई गाउँमै रोजगारीका अवसर दिएर वैदेशिक पलायन रोक्न ठूलो मद्दत पुर्याएका छन्।
विधुत विकासले ल्याएकाे अवसरलाइ स्थानीय सेयर स्वामित्व, राष्ट्रिय ग्रिडको अनियमितता र वातावरणीय संवेदनशीलता जस्ता चुनौतीहरूलाई सही व्यवस्थापन गर्न सके राहुघाट करिडोर हिमाली ग्रामीण रूपान्तरणकै एउटा उत्कृष्ट र सफल राष्ट्रिय नमुना बन्ने निश्चित छ। यहाँको कथा मेगावाटको मात्र होइन, गाउँलेको जीवन फेरिएको कथाको पनि हो।
राहुघाट खोलामा अहिले ४८.५ मेगावाटको माथिल्लो राहुघाट, ३५.५ मेगावाटको चिमखोला–राहुघाट–मंगले, २१.३ मेगावाटको ठूलोखोला, २२.५ मेगावाटको माथिल्लो ठूलोखोला ‘ए’ लगायतका आयोजनाहरू सञ्चालनमा छन्। निर्माणाधीन ४० मेगावाटको राहुघाट जलविद्युत आयोजना सम्पन्न भएपछि करिडोरको कुल उत्पादन क्षमता १६८ मेगावाट पुग्नेछ।
त्यतीमात्र हैन, राहुघाट खोलामा निर्माण सम्पन्न र निर्माणाधीन आयोजनाबाहेक थप दुईवटा जलविद्युत आयोजना थपिने भएका छन्।
डिभिजन वन कार्यालय म्याग्दीका अनुसार, धौलागिरी आइसफल पदमार्गमा पर्ने कछुवा ओढारमुनि ड्याम बनाई गरी ८.३ मेगावाटको सुपर अपर ठूलोखोला तथा लवरखोलामा ६.७ मेगावाटको लवरखोला जलविद्युत आयोजना निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कन प्रक्रिया अगाडि बढाइएको छ।
रघुगंगा गाउँपालिकाका ३ देखि ८ नम्बर वडासम्म राहुघाट खोलाले छुट्याएका दर्जनौँ बस्ती अहिले जलविद्युत आयोजनाहरूले बनाएका पहुँचमार्ग र ट्रष्ट ब्रिजमार्फत जोडिएका छन्। बुक्लमा राहुघाट जलविद्युत आयोजनाले निर्माण गरेको ट्रष्ट ब्रिजले झिं, पाखापानी, कोटगाउँ, ठाडाखानी र कुइनेका बासिन्दालाई गाउँपालिका केन्द्र मौवाफाँटसँग प्रत्यक्ष जोडिदिएको छ।
रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी भन्छन्, “हाइड्रो नआएको भए पालिकाको बजेट र क्षमताले यति छिटो यी दुर्गम बस्तीलाई सडक र पुलले जोड्न सम्भव थिएन। उनीहरूले बिजुली लगे होलान्, तर गाउँमा अवसर पनि ल्याएका छन्।”
दग्नामको अजिङ्गर भीर, तिप्ल्याङडाँडाको अक्करे भीरजस्ता कठिन भूभाग छिचोल्दै खोलिएका सडकहरूले अहिले गाउँ–बजारको दूरी घटाएका छन्। वर्षौंदेखि अलग–थलग रहेका बस्तीहरू मोटर यातायातसँग जोडिएका छन्। जलविद्युत आयोजनाहरूले सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गर्नुपर्ने रकमबाट स्थानीय विद्यालयहरूको स्वरूप पनि फेरिएको छ।

आयोजनाहरूले कुल लागतको ०.७५ प्रतिशत रकम समुदायमा खर्च गरेका छन्। यही रकमबाट सामुदायिक विद्यालयहरूमा स्मार्ट बोर्ड जडान, कम्प्युटर, प्रिन्टर, इन्टरनेट सेवा विस्तार र कतिपय विद्यालयमा नियमित विद्युत आपूर्ति सम्भव भएको छ।
पहिले पाठ्यपुस्तकमा सीमित शिक्षण अहिले डिजिटल माध्यममा रूपान्तरण हुन थालेको छ। शिक्षकहरूले मल्टिमिडिया सामग्री प्रयोग गरेर पढाउन थालेका छन् भने विद्यार्थीहरूले कम्प्युटर प्रयोग गर्न सिकिरहेका छन्।
राहुघाट करिडोरका गाउँहरूमा अहिले स्तरीय भलिबल र बास्केटबल मैदान देख्न सकिन्छ। युवा क्लबका भवन, साउण्ड सिस्टम, आमा समूहका भवन, मन्दिर तथा सामुदायिक संरचनाहरू निर्माण भएका छन्। चिमखोला, मंगले, दग्नाम र आसपासका बस्तीमा सामुदायिक गतिविधि बढेका छन्।
चिमखोलाका वडाध्यक्ष थकप्रसाद पाईंजा भन्छन्, “हाइड्रो आएपछि हामीले बाह्रै महिना चल्ने सडक मात्र पाएनौँ, खेलमैदान, सामुदायिक भवन, मन्दिर र अन्य संरचनाहरू पनि बने। खेर गएका जमिनले मूल्य पायो, गाउँमा नगद अर्थतन्त्र भित्रियो।”
जलविद्युत आयोजनाहरूले स्थानीय युवालाई प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी पनि दिएका छन्।
निर्माण अवधिमा सयौँ स्थानीयले श्रमिक, चालक, अपरेटर, सुरक्षागार्ड तथा प्राविधिकका रूपमा काम पाए। कतिपयले निर्माण सामग्री ढुवानी, पसल सञ्चालन, होटल व्यवसाय र ठेक्कापट्टाबाट आम्दानी गरे। चिमखोलाका स्थानीय शिक्षक पृथबहादुर पुनका अनुसार आयोजनाले गाउँका प्राविधिक जनशक्तिलाई गाउँमै टिकाउने अवसर सिर्जना गरेको छ।
“चिमखोलाका मात्र तीन जना हाइड्रो–इलेक्ट्रिसियनहरूले स्थायी प्रकृतिको रोजगारी पाएका छन्। अरू धेरै युवाले पनि विभिन्न जिम्मेवारीमा काम पाइरहेका छन्। पहिले वैदेशिक रोजगारीतर्फ जाने सोच बनाएका कतिपय युवाले अहिले गाउँमै अवसर देख्न थालेका छन्,” पुन भन्छन्।
राहुघाट करिडोरका अन्य वडाहरूमा पनि स्थानीयले साना–ठूला जिम्मेवारीका रोजगारी पाएका छन्। कृषि उत्पादन, ढुवानी, व्यापार र सेवा क्षेत्रमा नगद कारोबार बढेको स्थानीयहरू बताउँछन्। तर विकासको यो यात्रामा सबैजना सन्तुष्ट भने छैनन्।
स्थानीयले आयोजना निर्माण हुँदा प्रभावित क्षेत्रका बासिन्दालाई सेयरमा प्राथमिकता दिने भनिए पनि धेरैले अवसर नपाएको गुनासो गर्छन् । केहीले भने राहुघाट जलविधुत अयेजनाले अधिग्रहण गरेके घरजग्गाके मुअब्जा नभएके गुनासे गरेका छन ।

रघुगंगा गाउँपालिका–३ पिप्लेका गोविन्द शाही भन्छन्, “हाम्रै बारीमा आयोजना बने, हाम्रै गाउँको पानीबाट बिजुली उत्पादन भयो। तर सेयरमा प्राथमिकता दिने कुरा व्यवहारमा आएन। गाउँ छेउको टर्बाइनले बिजुली निकालिरहेको हुन्छ, हामी भने राष्ट्रिय ग्रिडमा समस्या आउँदा अन्धकारमै बस्नुपर्छ। स्थानीयलाई विद्युत उपभोगमा प्राथमिकता दिने भनिए पनि व्यवहारमा धेरै ढाँटछल भएको महसुस हुन्छ।”
पालिकाले जलविद्युत आयोजनाहरूलाई सहज वातावरण सिर्जना गरिदिएबापत स्थानीयवासीको हितमा अधिकतम लाभ लिन आयोजनाका विभिन्न काममा स्थानीयलाइ जेड्ने, कानुनसम्मत ढङ्गले पालिकावासीलाई शेयरको दायरामा ल्याउने र आयोजनाहरूलाई सामाजिक उत्तरदायित्वका काममा परिचालन गर्ने विषयलाई प्राथमिकतामा राखिएको पालिका अध्यक्ष भणडारी दावी गर्छन ।

दावी जे गरिएकाे भएपनि राहुघाटमा ऊर्जा करिडोरको विस्तारसँगै वातावरणीय प्रश्नहरू पनि उठिरहेका छन् । आयोजना निर्माणका क्रममा हजारौँ रुख काटिएका छन्। सुरुङ निर्माणका लागि गरिएका विष्फोटनले केही स्थानमा खानेपानी र सिँचाइका मुहान प्रभावित भएको स्थानीयको गुनासो छ। निर्माण सामग्री र ढुंगामाटो व्यवस्थापनमा कमजोरी हुँदा कतिपय ठाउँमा खेतीयोग्य जमिन र वनक्षेत्रमा असर परेको छ।
चिमखोलाका वडाध्यक्ष थकप्रसाद पाईंजाका अनुसार मलाङ पहिरो क्षेत्रप्रति स्थानीयको चिन्ता अझै बाँकी छ। जलवायु परिवर्तनका कारण धौलागिरी क्षेत्रका हिमनदीहरू तीव्र रूपमा परिवर्तन भइरहेका बेला भविष्यमा बाढी, पहिरो तथा भू–अस्थिरताका जोखिमहरूलाई समेत गम्भीर रूपमा अध्ययन गर्नुपर्ने आवश्यकता विज्ञहरूले औँल्याएका छन्।

एकातिर सडक, पुल, डिजिटल शिक्षा, रोजगारी, खेलकुद पूर्वाधार र नगद अर्थतन्त्रको विस्तार छ। अर्कोतिर स्थानीय सहभागिता, सेयर स्वामित्व, विद्युत पहुँच र वातावरणीय संरक्षणका प्रश्नहरू अझै समाधान हुन बाँकी छन्। तर धौलागिरीको काखबाट बगेको राहुघाटले अब केवल पानी मात्र बगाउँदैन। यसले गाउँका युवाको रोजगारी, विद्यार्थीको डिजिटल शिक्षा, किसानको आम्दानी र दुर्गम बस्तीको विकासका सपना पनि बगाइरहेको छ।
*रघुगंगा गाउँपालिकाकाे मिडियाफेलाेशिप कार्यक्रम अन्तर्गत तयार पारिएकाे फिचर समाचार ।

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य



















