- Loading...
त्यो दिन: धाैलागिरीकाे फेदीमा मृत्युसँग पासा खेल्दा

- घनश्याम खड्का
- २ हप्ता अघि
- ७६६ पटक पढिएको
संसारको सातौं अग्लो धौलागिरी हिमालको छाती चिरेर बग्ने ‘धौलागिरी आइसफल’ केवल हिउँको नदी मात्र होइन, प्रकृतिको एउटा अद्भूत, रहस्यमयी र निष्ठुर रूप पनि हो। यही हिउँ पग्लिएर बग्ने राहुघाट खोलाको सुस्केरासँगै जलविद्युत आयोजनाहरू निर्माणाधित थिए। भूगोल एकातिर छ, मानवीय महत्त्वाकांक्षा र जीविकोपार्जनको संघर्ष अर्कोतिर।
जेठको पहिलो साता, धौलागिरी आइसफलको पूर्वतिर मुस्ताङको लेते गाउँको ठिक माथिल्लो भेगमा पर्ने ‘कालीबराह बुक्यान’ यतिबेला फिरन्ते भेडा गोठालाहरूको चरन क्षेत्र मात्र रहेन, यार्सागुम्बुको खोजीमा मृत्युसँग मितेरी लगाउन पुगेका सयौं गरिब मानिसहरूको आश्रयस्थल पनि बनेको छ। यो त्यो समय हो, जहाँ हिउँ पग्लने तीव्र क्रमसँगै पहाडहरू निरन्तर ब्युँझिरहेका हुन्छन्।

स्थानीय रघुगंगा गाउँपालिकाले यसलाई ‘धौलागिरी आइसफल पदमार्ग’को रूपमा विकास गर्न विस्तृत आयोजना प्रतिवेदन त बनाएको छ, पर्यटन मन्त्रालयले पनि यसलाई ‘नयाँ र विकास गर्नुपर्ने गन्तव्य’को सूचीमा राखेर गलेश्वरदेखि चिमखोला हुँदै कराेडाैं खर्चेर सजिलाे भागमा मात्र पदमार्ग निर्माण गरिरहेको छ। राजनीतिक नक्साले यसलाई म्याग्दीमा पार्छ, तर भौगोलिक सुगमताले मुस्ताङको थासाङ गाउँपालिका–२, लेते/कालोपानीसँग जोड्छ। तर, कागजका योजना, बजेटका भाषण र नक्साका धर्साहरूभन्दा धेरै फरक र क्रूर छ— हिमालको त्यो वास्तविक धरातल। पर्यटनको प्रचुर सम्भावना भएर पनि राज्यको ध्यान नपुग्दा हाम्रा पदमार्गहरू कसरी मृत्युमार्ग बनिरहेका छन् भन्ने कुराको प्रत्यक्ष भोगाई हो यो यात्रा।
पत्रकारिताको एउटा अनौठो र प्राणघातक भोक हुन्छ, जसले सजिला बाटोहरू छोडेर सधैं जोखिमको गहिराइ नाप्न र ओझेलमा परेका कथा खोतल्न उक्साउँछ। त्यही भोकले जेठ ४ गते म, कमल खत्री, राकेश शर्मा र किरण कार्की गरी चारजना पत्रकार मिलेर राहुघाटको उपल्लो क्षेत्र, निर्माणाधीन जलविद्युत, पूर्वाधारविहीन आइसफल ट्रेल, कालीवराह बुक्यानमा हुने यार्सा व्यापार र आइसफल–लेते वैकल्पिक पदमार्गको स्थलगत यथार्थ बुझ्न बेनीबाट निस्कियौं।
पहिलो र दोस्रो दिन: आशाको पाइला र फड्केको जोखिम
पहिलो रात हामी सांस्कृतिक गाउँ चिमखोला पुग्यौं। चोयाको डोको, थाली नाच र ‘यानीमाया’ भाकाको यो उद्गम थलोमा पुग्दा गाउँ सुनसान जस्तै थियो। गण्डकी प्रदेश सरकारले यसलाई सांस्कृतिक गाउँ त घोषणा गर्यो, तर यहाँका युवाहरूको बाध्यता बदलिएको छैन। गाउँका ६० प्रतिशतभन्दा बढी युवाहरू धौलागिरीको फेदीमा यार्सागुम्बु खोज्न उकलिसकेका रहेछन्। गाउँ रित्तो थियो, तर आशाहरू हिमालतिर उक्लिरहेका थिए। त्यहीं मित्र ओम पुनले हाम्रा लागि दुईजना सहयोगी र भान्छाका सामानको व्यवस्था गरिदिए।
जेठ ५ गते बिहान। जलविद्युत आयोजनाले खनेको पहुँच मार्ग हुँदै हाम्रो जीप घ्याँसीखर्क, छरी, सेतिनीभ्याली र सुगरथला हुँदै दिउँसो १२ बजे ससलधारा पुग्यो। माथिल्लो ठूलोखोला जलविद्युतको इन्टेक निर्माण भइरहेको ससलधारामा भोक मेटेपछि हाम्रो वास्तविक पैदल यात्रा सुरु भयो। चेप्टेओढार र दोबिल्ला छिचोल्दै राती कछुवा ओढार पुग्दा शरीर गलिसकेको थियो। मन्त्रालय र स्थानीय निकायको बजेटले कतिपय ठाउँमा ढुंगे सिंढी त बनाएको थियो, तर राहुघाट र कतिपय ठाडो खहरे खोलाहरूमा गोठालाहरूले दुईवटा काठ तेर्स्याएर बनाएका ‘फड्के’ तर्दा मुटुको धड्कन स्वतः बढ्थ्यो। हिमालमा विकास र पर्यटनको नारा अझै कति जोखिमपूर्ण र खोक्रो छ भन्ने कुराको साक्षी थिए ती अस्थायी फड्केहरू। एउटा सामान्य झोलुङ्गे पुलसमेत नहुँदा यहाँका रैथाने र पदयात्रीहरू दैनिक आफ्नो ज्यान हत्केलामा राखेर हिँड्न बाध्य छन्।

तेस्रो दिन: प्रकृतिको घुम्टो र भीरमा ड्रोन हराउँदाको सन्त्रास
जेठ ६ गते। बिहान साढे ६ बजे तातो सुपको सहारामा हामीले आइसफलतर्फको कडा उकालो काट्न थाल्यौं। ९ बजे ‘धौलागिरी भ्यूहिल’ पुग्दा प्रकृतिले आफ्नो घुम्टो ओढिसकेको थियो। बाक्लो बादलले गर्दा धौलागिरीको पूर्ण रूप आँखैभरी सजाउन त पाएनौं, तर त्यसको अदृश्य विशालताको महसुस भने मुटुको धड्कनसम्म भइरहेको थियो। भ्यूहिल र आइसफल बेसक्याम्पको बीचमा एउटा यस्तो गहिरो, अँध्यारो र भयावह खोंच छ, जसलाई देख्ने बित्तिकै जोकोहीको पैताला रोकिन्छ, गन्तव्य त्याग्ने सोच आउँछ। लाग्यो, हिमालले आफ्नो सुन्दरताको रक्षाका लागि यस्ता भयानक सिमानाहरू बनाएको हुँदो रहेछ। तर हाम्रो पत्रकारिताको जिद्दीका अगाडि त्यो खोंचले पनि बाटो छोड्नै पर्यो, र हामी अघि बढ्यौं।
आइसफलबाट कालीबराह पुग्ने एउटा छोटो बाटो त आँखाकै अगाडि थियो। तर, हाम्रा पथप्रदर्शकले ‘त्यो बाटोमा पाइलैपिच्छे मृत्यु लुकेको छ’ भन्दै नजाने सुजाएपछि हामीले आफ्नो आँटलाई अलिकति थाम्यौं। आखिर हिमालसँग जुध्न सकिन्छ, तर अहंकार गर्न सकिँदैन। त्यसपछि हामी फर्कियौं र निगालो, फुच्चे गुराँस अनि नीलो गुराँसको रैथाने सुगन्ध बोकेको घना जंगल छिचोल्दै अघि बढ्यौं। उकालाे चढ्दै जाँदा एउटा विशाल ढुङ्गाको ओढार फेला पर्यो, स्थानीय यार्चासंकलकहरूले भने त्यसलाई ‘चिमखोले ओढार’ भन्दा रहेछन्। हामी त्यही ओढारमा ओत लाग्यौं, जहाँ विगत एक महिनादेखि यार्सा संकलन गरिरहेका कृष्ण पाइजाहरूसँग हाम्रो भेट भयो। उनीहरूकै चुल्हाेमा हामीले पनि खाना पकायाैं । हिमालमा मानव जीवन कति कति कठिन र कष्टकर हुन्छ, उनीहरूको अनुहारका धर्साहरू र त्यो ओढारको बास हेरेर प्रष्ट महसुस हुन्थ्यो।
हामी ओढारमा त बस्यौं, तर भोलिको यात्रा त्योभन्दा पनि कठीन भीर र चट्टानहरूको बीचबाट हुनुपर्ने थियो। धाैलागिरी अाइसफलकाे पर्यटन प्रवर्धनमा कराेडाै खर्च गरिएपनि अावश्यक पर्ने ठाउँमा सामान्य पदमार्ग देखाउने साइनबोर्ड वा मार्ग-संकेत समेत राखेको थिएन। कति जोखिमपूर्ण छ भन्ने कुराको पूर्वअनुमान लगाउन हामीले एउटा आधुनिक उपाय निकाल्यौं— हामीसँग भएको ‘ड्रोन’ आकाशमा उडायौं। प्रविधिको सहायताले त्यो अपरिचित र भयानक भीरको बाटो पहिल्याउने हाम्रो आशा थियो। ड्रोन बिस्तारै ओढारको जग छाडेर बादल र भीरको खोँचतर्फ उक्लियो। हामी स्क्रिनमा हेरिरहेका थियौं। तर, हिमालको आफ्नै नियम हुन्छ, उसलाई आफ्नो रहस्य सहजै खोल्न मन पर्दैन क्यारे! दुर्भाग्यवश, ड्रोन केही माथि पुगेर भीरको खोँचमा मोडिनै लाग्दा अचानक ‘सिग्नल लस्ट’ भयो। ड्रोनसँगको सम्पर्क पूर्ण रूपमा टुट्यो।

त्यो क्षण हाम्रो सातो गयो। हिमालको त्यो सुनसान कुनामा, जहाँ जीवनकै ठेगान थिएन, त्यहाँ हाम्रो अमूल्य सञ्चार र दृश्याङ्कनको साधन हराउँदा टोलीमा एक किसिमको सन्नाटा छायो। अब कसरी खोज्ने? कहाँ खोज्ने? त्यो टोेलीका लागि केवल एउटा साधन मात्र थिएन, हाम्रा कयौँ दिनका मिहिनेतका भिजुअलहरू, पत्रकारिताको दस्तावेज पनि त्यहीँ भित्र कैद थिए। हामी सवै जना आ–आफ्नो ज्यान हत्केलामा राखेर, ओढारको आडैमा रहेको त्यो ठाडो र चिप्लो भीरमा खोजी गर्न हिँड्यौं।
खुट्टा अलिकति चिप्लियो भने सिधै अथाहा खोंचमा खसिने डर, तर आँखा भने ड्रोनको खोजीमा भीरका कुनाकुना दौडिरहेका थिए। त्यो एउटा पत्रकारको आफ्नो सामग्रीप्रतिको निष्ठा र बाध्यता दुवै थियो। भीरमा टिकिक अावास सुनियाे, हामी सास थामेर त्यतातिर बढ्यौं। निकै कठिन र जोखिमपूर्ण खोजीपछि, भाग्यवश केही माथि जरबुटे निगालाको एउटा बाक्लो झाडीमा त्यो ड्रोन सुरक्षित रूपमा अल्झिएको फेला पर्यो। ड्रोन फेला पर्दा हामीले हराएको प्राण फर्किएको महसुस गर्यौं। त्यो रात चिमखोले ओढारको चिसो ढुङ्गामा पल्टिरहँदा बाहिर सिरेटो चलिरहेको थियो। एकातिर भर्खरै भीरमा हराएर भेटिएको ड्रोनको सन्त्रास, अर्कोतिर भोलि आँखाले देखिने गरी पार गर्नुपर्ने त्यो भयंकर भीरको बाटो। ओढारभित्र कृष्ण पाइजाहरूको मधुरो आगोको धुवाँसँगै हाम्रो मनमा पनि अनौठा र संवेदनात्मक तरंगहरू खेलिरहेका थिए। हिमाल जति सुन्दर छ, यसले मानिसको धैर्यता र साहसको परीक्षा पनि त्यत्तिकै क्रूरतापूर्वक लिँदो रहेछ।
चौथो दिन: चिसो भात र हुस्सुको चक्रव्यूह
७ गतेकाे चाैथाे विहानै चाउचाउकाे झाेलमा ताताेभात खाएपछि हाम्रो यात्राको सबैभन्दा सकसपूर्ण, भयानक र संवेदनात्मक दिनको सुरुवात भयो। बिहान ६ बजे प्लास्टिकमा थोरै भात पोको पारेर हामी भीरको उकालो लाग्यौं। त्यो कुनै बाटो थिएन, वन्यजन्तु र भेडाहिड्ने साँघुराे डाेराे मात्र थियो। कुन शक्तिको भरमा उक्लियौं, थाहा छैन। बिहान १० बजेतिर ४,३०० मिटरको उचाइमा रहेको कालीबराह चरन क्षेत्र (जसलाई स्थानीय संकलकहरू ‘च्याउवारी’ भन्छन्) उक्लियौं।
कालीबराह र ४,७०० मिटरको पहेँलीबराह तालवरपर हिउँको सेतो साम्राज्य थियो। दिउँसो १ बजे हिउँकै चिसो छेउमा बसेर त्यो प्लास्टिकको चिसो भात खाँदा लाग्थ्यो— जीवनको वास्तविक स्वाद र मूल्य केवल भोकसँग मात्र जोडिएको हुँदो रहेछ। सुखसुविधा त केवल सहरका भ्रम मात्र हुन्।

दिउँसो २:१५ बजे, यार्सा संकलकहरूको सहयोगमा हामी पहेँलीबराह तालमाथिको डाँडामा उक्लियौं। वल्नतल्न एउटा सानो मन्दिर जस्तो संकेत भेटियो। सम्भवतः यो नै सिङ्गो पदमार्गमा मानव हातले बनाएको एकमात्र अस्पष्ट निशाना थियो। तर, त्यही बेला प्रकृतिले आफ्नो क्रूर रूप देखायो। भुइँमा घुँडासम्म आउने बाक्लो हिउँ, माथि आँखाै तिर्मिर्याउने बाक्लो हुस्सु, र सिमसिम हिमवर्षा। केही मिटर अगाडिको साथी पनि नदेखिने अवस्था। हामीलाई बाटो देखाउन आएका कृष्ण पाइजा र सहयोगी भाइहरू भौगोलिक सीमा र आफ्नो बाध्यताका कारण त्यहीँबाट फर्किने भए। अब हामी (म, राकेश शर्मा, कमल खत्री र किरण कार्की) हिउँ र हुस्सुको त्यो अनन्त महासागरमा पूर्ण रूपमा एक्ला भयौं। एकले अर्काेलाइ मन नखाेलेपनि केही अात्तिएका पनि थियाैं ।
हामी मुस्ताङको लेते–कालोपानी ओर्लिनु पर्ने थियो। गुगल म्याप हेर्दा ‘नजिकै’ त देखायो, तर डिजिटल प्रविधिले हिमालको हुस्सु र हिउँ छिचोल्न सक्दैनथ्यो। स्याटेलाइटको सिग्नल थियो, तर पैताला टेक्ने जमिन अदृश्य थियो। आत्तिएका हामीले चिमखोलाका भूगोल विज्ञ ध्रुव पाइजालार्इ फोन गर्यौं। उनले एउटा अधुराे आश्वासन दिए, “दाहिने नच्याप्नु, देब्रे पनि धेरै नजानु, भीरको डिलैडिल हिंड्नु, त्यहाँ ढुंगा गाडिएका संकेत भेटिन्छन्, अनि गोठ बस्ने खर्क आइपुग्छ।”
हामी त्यही टेलिफोनिक मार्गनिर्देशनको भरमा हिँड्यौं। तर, राज्यले पर्यटक वा पदयात्रीका लागि एउटा पनि स्पष्ट दिशा-संकेत नराख्दाको परिणाम हामीले भोग्दै थियौं। कुहिरोको चक्रव्यूहमा कुन बेला बाटो बिरायौं, पत्तै भएन। जब हुस्सु अलिकति हट्यो, हामी झस्कियौं। हाम्रो सातो गयो। हामी एउटा यस्तो ठाडो भीरमा अड्किएका थियौं, जहाँबाट न माथि फर्कन सकिन्थ्यो, न तल ओर्लिन।
साँझ झमक्क पर्यो। सिमसिम पानी परिरहेकै थियो। हामी उभिएको पखेल्नो तल छ्याङ्ग सेतो पहरामा टुंगिएको थियो— अर्थात्, एक कदम अगाडि भनेको सिधा मृत्युको अथाहा खोंच थियो। न कतै ओत लाग्ने ओढार, न टेन्ट टाँग्ने समथर जमिन। त्यो विखल्बन्द र चरम मानसिक तनावको क्षणमा, ओतको खोजीमा जसोतसो भीर उक्लिँदा एउटा सानो, कोचेप्रो चट्टानी ओडार भेटियो, जहाँ मुस्किलले चारवटा झोला र टाउको मात्र अटाउँथ्यो। आधा जीउ ओढारभित्र, आधा बाहिर रहने गरी टेन्ट तान्यौं। न अन्नको गेडो, न पानीको थोपा। चिसोले ओठ निलो भइरहँदा, बाहिर बगिरहेको सिरेटो र भित्र चलिरहेको अनिश्चितताको श्वासका बीच हामीले ब्याकुल भएर उज्यालो पर्खियौं। त्यो रात, जीवन र मृत्युबीचको दूरी एउटा सानो ढुंगाको चेप जत्तिकै साँघुरो थियो। मनमा एउटै प्रश्न खेलिरह्यो— के भोलिको सूर्योदय देख्न पाइएला?

पाँचौं दिन: कुलपितृको इतिहास र निगालोको डोरी
जेठ , ८ गते बिहान ६ बजे टेन्टबाहिर निस्कँदा स्थिति अझै भयानक थियो। माथि फर्किने बाटो हिउँ र भीरले बन्द गरिसकेको थियो। भीरको पखेल्नो यति साँघुरो र ठाडो थियो कि हेलिकप्टर उद्धारका लागि आउँदा पनि ल्याण्ड गर्ने ठाउँ थिएन, हावामै अँडिदा भित्तामा पंखा ठोकिने निश्चित थियो। अर्थात्, हामी सरकारी संयन्त्र र प्रविधि दुवैको पहुँचभन्दा बाहिर थियौं। अब जे गर्नु थियो, आफैंले गर्नु थियो।
कमल खत्री र राकेश शर्मा विकल्पको खोजीमा निगालोको घारीतिर छिरे। म र किरण कार्की माथिल्लो डिलमा बाँकी थियौं। किरणको अनुहारमा डर र निराशा प्रष्ट देखिन्थ्यो। उसले आत्तिएको र रूँला जस्तो स्वरमा भन्यो, “दाइ, हाम्रो कुलवंशमा बाबु र बाजेका दाजुभाइमध्ये कम्तीमा ६ जना भीरबाट लडेर मरेको इतिहास छ। नातिको पालामा म…” उसको बोली अड्कियो, आँखा रसाए। हिमाली पत्रकारिताको कठिन अनुभव र पारिवारिक वियोगको त्यो ऐना हेरिरहँदा मेरो मुटु पनि नराम्ररी धडकियो। पुर्खाहरूको त्यो नियति कतै हाम्रो पनि त हुने होइन? तर मैले आफूलाई बलियो बनाउँदै दृढ स्वरमा भनें, “त्यस्तो केही हुँदैन किरण, हामी सकुशल छौं, मोबाइल चल्दैछ, गुहार मागौंला।” मेरो ओठको ओभानो ढाडसले उसको मन अलिकति शान्त भयो।

प्रहरीलाई खबर गर्ने कि नगर्ने भन्ने दोधारबीच राकेश तलबाट फर्कियो। कमल अझै तल बाटो खोज्दै थियो। अन्ततः, अलिकति हिम्मत र रैथाने अक्कल लगाउने हो भने यो भीर पार गर्न सकिन्छ भन्ने निष्कर्षमा हामी पुग्यौं। त्यो भीर तीनवटा डरलाग्दा खण्डमा विभाजित थियो। माथिल्लो भागमा जरायुक्त निगालोको झाडी, बीचमा लामो र चिप्लो ठाडो ढुंगे पहरा, र तल्लो भागमा घाँसे भीर।
राकेशको झोलामा भाग्यवश ५ मिटर जति लामो एउटा डोरी रहेछ। त्यसलाई निगालोको बलियो फेदमा बाँधेर पहिले कमल झर्यो, त्यसपछि राकेश। म र किरणले माथिबाट डोरीको सहारामा झोलाहरू तल पास गरायौं। जुत्ता लगाएर ओर्लिन असम्भव जस्तै थियो, चिप्लने डर उत्तिकै थियो। त्यसैले तुना बाँधेर जुत्तालाई माला जस्तै गलामा झुण्ड्यायौं र खाली खुट्टाले चट्टानको चिसो स्पर्श महसुस गर्दै दोस्रो खण्डमा झरियौं। डोरी छोटो थियो, त्यसैले ढुंगाले किचेर काटिएका निगालाका बलिया आँख्लाहरू एकआपसमा बाँधेर डोरीलाई लामो बनायौं।
त्यही घरेलु र अस्थायी निगालोको डोरीको सहारामा, एक–अर्काको हात र श्वासलाई समात्दै हामी तेस्रो र अन्तिम खण्डमा ओर्लियौं। कमलले कम्मरमा डोरी बाँधेर पहिलो कदम चाल्यो। राकेश र मैले माथिबाट अड्याइरह्यौं। अन्तिममा राकेश ओर्लिने पालो आयो। तर, राकेशलाई माथिबाट कसले अड्याउने? हाम्रो सातो गयो।
ठीक त्यही बेला, लाग्छ प्रकृति वा ईश्वरले हाम्रो प्रार्थना सुन्यो। त्यो पत्थरको पखेल्नामा एउटा ढुंगा ठ्याक्कै शिवलिंगको आकारमा गढिएर बसेको रहेछ। राकेशले डोरीको एक भाग त्यही ढुंगामा बाँध्यो र आफ्ना हात–खुट्टाका नङहरू पहराका साना चेपहरूमा अड्याउँदै, भित्तो समातेर बिस्तारै तल झर्यो। तलबाट हामीले हात थापेर उसका पाइलाहरूलाई रैथाने आड दियौं।

त्यो कठोर चट्टानी भाग पार गरेपछि सुरु भयो घाँसे भीर। त्यही घाँसमा झुण्डिँदै, घिस्रिँदै र लड्दै–पद्तदै करिब ४ घण्टाको अनवरत संघर्षपछि हामी तलको घना जंगलमा ओर्लियौं। भुइँमा सुरक्षित खुट्टा टेक्दा लाग्थ्यो— हामीले मृत्युलाई जितेर कुनै ठूलो युद्ध मैदानबाट फर्किएका छौं। हामी सबैले त्यो भयानक भीरतिर फर्किएर आफ्ना कुलपितृ र धौलासिर हिमाललाई शिर झुकाएर कृतज्ञताको नमस्कार गरायौं।
गोठाला ज्ञान र नयाँ जीवनको सुरुवात
तर संकट अझै पूर्ण रूपमा टरेको थिएन। आकाश बादलले ढम्म थियो, सिमसिम पानी पर्न थाल्यो। हामी जंगलको बीचमा एउटा ठूलो चौरमा त पुग्यौं, तर चारैतिर निगालोको अभेद्य र घना झाडी थियो। हिँड्ने कुनै गोरेटो थिएन। जानु पर्ने तल हो भन्ने मात्र थाहा थियो, तर कताबाट? यदि यहाँ अलमलियो भने फेरि रात पर्ने निश्चित थियो।
ठीक त्यही बेला मलाई विगतमा ग्रामीण रिपोर्टिङका क्रममा रैथाने गोठालाहरूले सिकाएको एउटा पारम्परिक ज्ञान याद आयो— हिमाली भेगका घना जंगल वा चरनखर्कमा गोठालाहरू हिँड्ने बाटोका झाडी वा निगालाका बोटहरूलाई छ्याप्प–छ्याप्प कोल्टे पारेर काट्दै मार्ग-संकेत (Trail Signs) छोडेका हुन्छन्।
राज्यको पर्यटन मन्त्रालयले लाखौं बजेट खर्च गरेर पनि जुन बाटोमा एउटा सानो दिशा-संकेत बोर्ड राख्न सकेको थिएन, त्यहाँ पुर्खौंदेखिको गोठालो ज्ञान हाम्रो लागि जीवनको महामार्ग बन्यो। हामीले निगालोका ती काटिएका पुराना कोल्टे संकेतहरू भुइँमा खोज्न थाल्यौं। एउटा संकेत भेटियो, त्यसपछि अर्को। त्यसैलाई पछ्याउँदै अन्ततः हामी मुख्य गोरेटो भेटाउन सफल भयौं।
दिउँसो ठिक २ बजेतिर, हामी लेतेको कालोपानीभन्दा केही माथि बेनी–जोमसोम सडकखण्डमा ओर्लियौं। भोक, प्यास, मानसिक र शारीरिक थकानले हामी लखतरान थियौं। एउटा होटलमा पुगेर धित मरुन्जेल भात खायौं र बेलुका ४ बजे बेनीको बस चढेर घर फर्कियौं।
बसको झ्यालबाट म्याग्दी र मुस्ताङका ती अजङ्गका पहाडहरू हेरिरहँदा मेरो मनमा अनेकन विचारहरू खेलिरहे। यो क्षेत्रमा पर्यटनको प्रचुर सम्भावना छ, ठूला-ठूला जलविद्युत बनिरहेका छन्, तर पर्यटक र पदयात्रीको सुरक्षाका लागि न्यूनतम पूर्वाधार, स्पष्ट पदमार्ग र बजार व्यवस्थापनको चरम अभाव छ। मार्ग-संकेतको सानो कमजोरीले मात्रै पनि कतिपय आन्तरिक तथा बाह्य पर्यटकहरूले यहाँ अकालमै ज्यान गुमाउनु परिरहेको तितो यथार्थ मेरो आँखाअगाडि नाँचिरह्यो।

पत्रकारिताको त्यो अनौठो भोकले हामीलाई मृत्युको ढोकासम्म त पुर्यायो, तर हिमालको त्यो कठोर भूगोल, ओढारको त्यो चिसो रात, र गोठालाहरूको त्यो रैथाने ज्ञानले जीवनको एउटा यस्तो अमूल्य र अविस्मरणीय पाठ सिकाएर पठायो, जुन कुनै विश्वविद्यालयका कोठा वा सरकारी दस्ताबेजमा भेटिँदैन। यो केवल एउटा रिपोर्टिङ यात्रा वा डायरीको पाना मात्र थिएन, यो त मृत्युसँग पासा खेलेर अक्षुण्ण राखिएको जीवनको नयाँ जन्म थियो।

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य




























