FLASH NEWS
  • Loading...

महावीर पुनः गाईगोठदेखी संसदको रोष्टम यात्रा

महावीर पुनः गाईगोठदेखी संसदको रोष्टम यात्रा

आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई झण्डै तेब्बर मतान्तरले पछाडी छाड्दै म्याग्दी निर्वाचन क्षेत्रबाट स्वतन्त्र उम्म्मेदवार महावीर पुन विजयीहुँदा मतगणनास्थल बाहिर सयौंको संख्यामा उनका सर्मथकहरु र्‍यालीसहित विजयउत्सव मनाउने तयारीमा थिए ।
तर नवनिर्वाचित जनप्रतिनिधी पुनले आफ्ना समर्थकहरुलाई रोक्दै भने, ‘विजय र्‍याली नगरौं, यसले चुनावमा सँगै प्रतिस्पर्धा गरेका पराजित साथीहरुको मनमा चोट पुग्न सक्छ । अवको बाटो सहकार्यको हो ।’ यो एउटा वाक्यले नै महावीरको राजनीतिक चातुर्यता र मानवीय उचाईलाई प्रष्ट्याउँछ ।
महावीरको यो भारी जित केवल एक राजनीतिक विजय मात्र थिएन, यो त दशर्कौदेखी गरेको सामाजिक सेवाको ‘जनअनुमोदन’ थियो । उनी सादगी जीवनशैलीको सामाजिक परिक्षण उत्तिर्ण भए ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका, ८ नागी गाउँमा जन्मेर १५ बर्षको उमेरसम्म नागीका नुनथला, सेतोखस्रु, जलजला र हम्पालका धुरीमा गाईगोठ र घाँसदाउरा गाईगोठ र खस्रुका घाँसको भारी बोक्दै बाल्यकाल विताएका महावीर पुन आज मुलुकको नीति निर्माण गर्ने सर्वोच्च थलो प्रतिनीधि सभामा पुगेका छन । नागरिकतामा विस २०११ साल माघ ११ गते जन्ममिती लेखाएका महावीर पुन एक सांसद वा पूर्वमन्त्री मात्र हैनन, उनी नेपालको ग्रामिण प्रविधि र विदेशी सीप स्वदेश फर्काउने जिउँदा प्रतीक हुन ।
बाजे मैते पुनको ‘चल तिग्री खा जिब्री’ भन्ने दर्शनबाट दीक्षित महावीरको बाल्यकाल अभाव र सङ्घर्षमय थियो । भात खान दशैं कुर्नुपर्ने समयमा उनले काठको पाटीमा अँगारले लेख्न सिक्दै अक्षारम्भ गरे ।
‘बाल्यकालका गोठघर गर्दाका अधिकांश क्षण धुमिल हुँदै गएपनि बाजे मैते भन्ने गरेको उखान, ‘चल तिग्री खा जिब्री’ सम्झिरहन्छु । केटाकेटी उमेरमा काम भन्दा बढी खेल्न मन लाग्ने । बाजेले सम्झाई रहन्थे, ‘तिग्रा नचलाएपछि जिव्रोले के खान्छ ?’
नागीको मगर समाजमा जन्मिहुर्केका उनी ८ कक्षा पढ्न जन ६ घन्टा तल ‘क्षत्री’ बाहुल्य मल्लाजमा झरे, उनले पहिलो पटक जातीय र साँस्कृतिक विविधताको अनुभव गरे । बाबु कृष्ण पुनको ‘छोरालाई पढाउनु पर्छ’ भन्ने दृढताले यो परिवार २०२६ साल माघमा पुख्यौली थलो छोडेर चितवन झर्न बाध्य बन्यो ।
अमृत साईन्स क्याम्पसमा ‘जाङ्गे’ लगाएर पढ्दा उनले संभान्त वर्गको खिसीट्युरी सहे । त्यो माहौल आज पनि डा.सरोज धितालको मानसपटलमा ताजै छ । त्यतिबेला विद्यार्थीको पोसाक, बोल्ने शैली र उठबसले नै उनीहरुको आर्थिक हैसियत, भौगोलिक पृष्ठभूमि र सामाजिक बर्गाको प्रश्ट चित्र कोर्थ्यो । अस्कलमा आईएससी पढ्दाका सहपाठी डा धिताल सम्झिन्छन, ‘हामी त्यही ‘लो क्लास’ विद्यार्थीको समुहमा थियौं । तर त्यो समुहभित्र पनि एक जना यस्तो विद्यार्थी थियो, जसको हुलिया सबै भन्दा भिन्न र एक्स्ट्रा थियो । र उ महावीर पुन थियो ।’
जतिवेला कलेजमा सुकिलो देखिने होडबाजी हुन्थ्यो, महावीर भने सँधै खुट्टामा साधारण चप्पल र कालो जाँङ्गे (हाफ पाईन्ट) लगाएर कलेज जान्थे । अभावलाइ लुकाउन नखोज्ने उनको त्यो सादगी र अलिकति विद्रोही हुलियाले गर्दा सवैको आँखा उनीमाथी ठोकिन्थ्यो । क्याम्पसभरी त्यही विशेष ‘ड्रेसअप’का कारण चिनिन्थे ।
स्नातकपछि चितवनका विद्यालयमा १३ बर्ष विज्ञान पढाउँदा उनले विद्यार्थीलाई बंगुल पालनदेखी केरा खेतीसम्म सिकाय । तिनताका उनको स्व.जाग्रितप्रसाद भेटवालहरुसँग उनको उठवस थियो । शिक्षण पेशा त्यागेर काठमाण्डौ हानिए ।
काठमाण्डौका गल्लीमा ‘आवारा झै भौतारिँदा र बागबजारका भट्टीमा सुकुटी र तुम्बाको सिर्जना मेट्दा उनी खाडी मुलुक जाने तयारीमा थिए । तर बाटोमा भेटिएका पूर्व विद्यार्थीले उनलाई अमेरिकन लाईब्रेरी पुर्‍याए, त्यहीबाट उनको ‘नेब्रास्का, अमेरिका यात्रा’ यात्रा सुरु भयो ।
सन् १९९२ मा अमेरिकाको सुविधायुक्त जीवन त्यागेर उनी नागी फर्के । उनले जापानी मानवशास्त्री प्रा.जिरो कावाकिताले नेपालमा ल्याएको स्थानीय सहभागीताको दर्शनलाई आफ्नो ‘नागी मोडेल’मा मिसाए । गाउँको विकासकालागी उनले जापानी विकास दर्शन र अमेरिकी प्रविधीको फ्युजन गराएका छन ।
शिक्षा मन्त्री बन्दासम्म ५ महिना अघि सम्म पुन उनै कावाकिताले स्थापना गरेको हिमालय संरक्षण संस्था (आईएचसी)को अध्यक्ष थिए । कावाकिताले म्याग्दीको जुन भुगोलका गाउँवस्तीहरुमा बस्ने मानिसहरुको जिवन सहज बनाउन भौतिक ‘रोपवे/रुपलाइन’ जोडेका थिए, उनै कावाकिताको विकास दर्शनबाट प्रभावित महाविरले त्यही भुगोका वस्तीमा ‘डिजिटल रोपवे (वायरलेस इन्टरनेट’ले जोडे ।
साधारण घरायसी वाइफाई राउटर प्रयोगगरी ४० किलोमिटर परको पोखराबाट बादलमुनीका गाउँमा इन्टरनेट पुर्‍याउँदा उनलाई विश्वले सन् २००७ मा रोमन म्यागासेसे पुरस्कार दियो । आइएचसी संस्थाका संस्थापक कावाकिता र उनको विकास मोडेलको अनुकरण गर्ने चेला महावीर दुवैले एउटै भुमिमा ‘भौतिक रोपवे’ र ‘डिजिटल रोपवे’ पुर्‍याए वापत रोमन म्यागासेबाट पुरस्कृत हुन ।
महावीरको सार्वजनिक छवि जति चम्किलो छ, उनको पारिवारिक पाटो उत्रिकै त्यागी । अन्नपूर्ण गाउँपालिका, ८ काफलडाँडाकी ओममाायाँ पुर्जासँग प्रेम विवाह गरेका पुनका दुई छोरीहरु छन । श्रीमतीले पोखरामा सिलाई कटाई गरी र साथीभाइले गरेको सहयोगबाट घरखर्च चलाउँछिन ।
गत भदौ २३ र २४ गतेको जेन्जी विद्रोहपछि बनेको चुनावी सरकारमा शिक्षा मन्त्री बनेका महावीर चार महिनापछि राजिनामा दिएर म्याग्दी निर्वचन क्षेत्रको चुनाव ‘सरप्राइज इन्ट्री’ हुँदा जिल्लाको परम्परागत चुनावी गणित पुरै खलवलियो । चुनावमा पुनले २२ हजार ८ सय ५० मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्दी एमालेका हरीकृष्ण श्रेष्ठले ७ हजार ९ सय १९ मतमा सिमित रहे ।
जीतसँगै पुनमाथी प्रश्न र अपेक्षाका पहाड खडा भएका छन । राष्ट्र्रिय आविस्कार केन्द्र र वीरगंञ्जको कृषी औजार कारखानाको भविश्यलाई लिएर धेरैको चासो छ । किनभने राष्ट्र्रिय आविष्कार केन्द्र अहिलेसम्म पुनको उर्जा, पागलपन र क्रेजमा टिकेको छ । सहयोगीहरुलाई डर छ, यदी महावीर सिंहदरवारमा फाईल र संसदीय अङ्कगणितमा अल्झिए भने ? पुन आफै सरकारको हिस्सा बनेपनि अव उनले फेरी जनतासँग चन्दा माग्लान कि महावीरको वुढ्यौली उमेर जस्तै यी संस्थाहरु पनि विस्तारै गल्दै, थाक्दै ढल्लान ?
यस विषयमा महावीरका मुख्य सहयोगी तथा चुनावी अभियानका कमाण्डर चित्रबहादुर तिलिजा भन्छन, ‘नवनिर्वाचित सांसद पुनको प्रहिलो प्राथमिकता नीतिगत सुधारमा नै रहने छ । संसद बैठक बस्नु अघि पुन काठमाण्डौको राष्ट्रिय आविष्कार केन्द्र र वीरगञ्जको कृषी औजार कारखाना पुग्ने र त्यहाँको अवस्था वुझ्ने कार्यायोजना छ । त्यसपछि मात्र उनी म्याग्दी फर्केर स्थानीय तहसँगको समन्वयमा विकासका योजनाको सूची तयार पार्नुहुनेछ ।’
विजयी भएपछि संञ्चारकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा पुनले आफ्नो कार्ययोजना प्रष्ट पारका छन । उनले भने, ‘एक पटक काठमाण्डौ पुगेर फर्केपछि जनताको घरदैलोमा पुग्छु । योजनाहरु सांसदले केन्द्रबाट छनौट गर्ने होईन, स्थानीय सरकारले आवश्यकता महसुस गरेका योजनाहरु नै सांसदका योजना बन्नुपर्छ । म बजेट बाँड्ने भन्दा पनि स्थाीय सरकारका योजनालाई केन्द्रसम्म पुर्‍याउने र बजेट ब्यवस्थापनमा सहजीकरण गर्छु । सवै दल र स्थानीय सरकारसँगै मिलेर काम गर्छु ।’
म्याग्दीका मतदाताको अपेक्षा छ, महावीर अव हाम्रा प्रतिनिधी भए । गाउँ गाउँमा विकास पूर्वाधार बनुन, फिललो शुसासन मजवुद बनोस । उता सहयोगीहरुका चाहना छ, महाविरले आविष्कार केन्द्रको प्रयोगशाला अलपत्र नछाडुन । यी दुई अपेक्षाहरुको सन्तुलन मिलाउन महावीरले नसके उनको छवि संकटमा पर्न सक्ने खतरा छ ।
म्याग्दीका मतदाताले झण्डै तेब्बर मतान्तरले विजयी बनाई सिंहदरवार पठाएर विगतको पसिनाको मुल्य त चुक्ता गरे ।’तर गाउँाँ विकास र सुशासनको अपेक्षा अझै बाँकी छन । आविश्कार केन्द्र, कृषी औजार कारखाना, मतदाताका अपेक्षा र सिंहदरवारको राजनीतिबीचको सन्तुलन मिलाउनमा महावीरको वास्तविक परीक्षा भने अव सुरु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र