- Loading...
महावीरको इन्ट्री र मत दुवै ‘सरप्राइज’

- घनश्याम खड्का
- १ महिना अघि
- १६३ पटक पढिएको
म्याग्दी निर्वाचन क्षेत्रबाट झण्डै तेब्बर मतान्तरले विजयी भएर मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट प्रमाणपत्र बुझिसकेपछि नवनिर्वाचित सांसद महावीर पुनका समर्थकहरू विजयोत्सव मनाउने तयारीमा थिए। बेनीको वीरेन्द्र चोकमा सयौँको संख्यामा शुभचिन्तकहरू र्यालीसहित अबिर जात्रा गर्न तम्सिएका थिए।
तर, नवनिर्वाचित जनप्रतिनिधि पुनले आफ्ना समर्थकहरूलाई रोक्दै हप्काए— “म उत्सव मनाउन होइन, काम गर्न आएको हुँ। विजय र्याली नगरौँ, यसले चुनावमा सँगै प्रतिस्पर्धा गरेका पराजित साथीहरूको मनमा चोट पुग्न सक्छ। अर्को कुरा, जनताको पैसा र समय र्यालीमा खेर फाल्नु हुँदैन। अबको बाटो सहकार्यको हो।”
यो एउटा प्रसङ्गले नै महावीरको राजनीतिक चातुर्य र मानवीय उचाइलाई प्रष्ट्याउँछ। निर्वाचनको अन्तिम नतिजा अनुसार पुनले २२,८५० मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठ ७,९१९ मतमा सीमित भए।
नेपाली राजनीतिमा चुनाव जित्नु भनेको शक्ति प्रदर्शन र तामझामको उत्सव हो। तर, वि.सं. २०८२ को यस निर्वाचनमा पुनले नितान्त फरक र मौलिक शैली अपनाए। उनले मतदातासँग कुनै ठूला वाचा गरेनन्, न त प्रतिस्पर्धीको आलोचना नै गरे।
उनको चुनावी दर्शन सरल थियो— “भोट दबाबमा दिने कुरा होइन। मलाई मन परे भोट देऊ, मन नपरे आफूलाई मन पर्ने अरू कसैलाई देऊ।” उनको यो ‘लो-प्रोफाइल’ र कम खर्चिलो शैलीले अन्य उम्मेदवारहरूलाई समेत नैतिक दबाब दियो, जसका कारण म्याग्दीको यसपटकको चुनाव भड्किलो प्रचारभन्दा घरदैलो र संवादमा केन्द्रित रह्यो।
महावीरको यो जित केवल राजनीतिक विजय मात्र थिएन, यो त उनले दशकौँदेखि गरेको सामाजिक सेवाको ‘जनअनुमोदन’ थियो।
वि.सं. २०११ साल माघ ११ गते म्याग्दीको अन्नपूर्ण गाउँपालिका-८, नागीमा जन्मिएका महावीरको बाल्यकाल अभाव र संघर्षमा बित्यो। बाजे मैते पुनको दर्शन ‘चल तिग्री खा जिब्री’ (तिग्रा नचलाए जिब्रोले खान पाउँदैन अर्थात् परिश्रम नगरी खान पाइँदैन) बाट दीक्षित पुनले काठको पाटीमा अङ्गारले लेखेर अक्षराम्भ गरेका थिए।
बाबु कृष्ण पुनको छोरा पढाउने दृढताले २०२६ सालमा उनको परिवार चितवन झर्यो। अमृत साइन्स क्याम्पस (अस्कल) मा आइएससी पढ्दाका सहपाठी डा. सरोज धिताल आज पनि पुनको त्यो विद्रोही हुलिया सम्झन्छन्। धिताल भन्छन्, “हामी निम्नवर्गीय विद्यार्थीको समूहमा थियौँ, तर महावीरको हुलिया सबैभन्दा भिन्न थियो। कलेजमा सुकिलो देखिने होडबाजी हुँदा उनी सधैँ साधारण चप्पल र कालो जाँङ्गे (हाफ पाइन्ट) मा हुन्थे।”
स्नातकपछि १३ वर्ष शिक्षण पेशामा रहेका पुन छात्रवृत्ति पाएर अमेरिकाको नेब्रास्का विश्वविद्यालय पुगे। तर, सन् १९९२ मा अमेरिकाको सुविधायुक्त जीवन त्यागेर उनी आफ्नै जन्मथलो नागी फर्किए, जहाँबाट उनको प्रविधि र विकासको नयाँ यात्रा सुरु भयो।
पुनले जापानी मानवशास्त्री प्रा. जिरो कावाकिताको ‘स्थानीय सहभागिता’ को दर्शनलाई आफ्नो ‘नागी मोडेल’ मा मिसाए। कावाकिताले जुन भूगोलमा मानिसको जीवन सहज बनाउन भौतिक ‘रोपवे’ बनाएका थिए, महावीरले त्यही क्षेत्रमा वायरलेस इन्टरनेटमार्फत ‘डिजिटल रोपवे’ पुर्याए।
साधारण घरायसी राउटर प्रयोग गरी ४० किलोमिटर टाढाको पोखराबाट बादलमुनिका गाउँमा इन्टरनेट पुर्याए बापत उनलाई सन् २००७ मा प्रतिष्ठित ‘रोमन म्यागासेसे पुरस्कार’ प्रदान गरियो।
सुशीला कार्की नेतृत्वको चुनावी सरकारमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बनेका पुनले शिक्षा सम्बन्धी केही नीतिगत सुधार गर्न खोजेका थिए। तर, कर्मचारीतन्त्र र राजनीतिक संयन्त्रभित्र आफ्ना योजनाहरू अनुमोदन गराउन नसकेपछि उनले चार महिनामै राजीनामा दिए। “नीति बनाउने ठाउँ संसदमै नपुगी नहुने रहेछ” भन्ने निष्कर्षका साथ उनी अन्तिम समयमा स्वतन्त्र उम्मेदवारका रूपमा म्याग्दीको चुनावी मैदानमा उत्रिएका थिए।
विजयसँगै पुनमाथि अपेक्षाका पहाडहरू खडा भएका छन्। विशेषगरी राष्ट्रिय आविष्कार केन्द्र र वीरगञ्जको कृषि औजार कारखानाको भविष्यलाई लिएर धेरैको चासो छ। सहयोगीहरूलाई डर छ— कतै महावीर सिंहदरबारको संसदीय अङ्कगणित र फाइलहरूमा मात्र अल्झिने त होइनन्?
यस विषयमा पुनका चुनावी कमाण्डर चित्रबहादुर तिलिजा भन्छन्, “सांसद पुनको पहिलो प्राथमिकता नीतिगत सुधार नै रहनेछ। संसद बैठक बस्नुअघि उनी आविष्कार केन्द्र र कृषि औजार कारखाना पुगेर त्यहाँको अवस्था बुझ्नेछन्। चन्दाको भरमा चलेका यी संस्थाहरूलाई सरकारी नीति र बजेटभित्र समेट्ने उनको योजना छ।”
निर्वाचित भएपछि पुनले आफ्नो कार्यदिशा स्पष्ट पारेका छन्। उनले भनेका छन्:
“योजनाहरू सांसदले केन्द्रबाट छनौट गर्ने होइन, स्थानीय सरकारले आवश्यकता महसुस गरेका योजनाहरू नै सांसदका योजना बन्नुपर्छ। म बजेट बाँड्नेभन्दा पनि स्थानीय सरकारका योजनालाई केन्द्रसम्म पुर्याउने र बजेट व्यवस्थापनमा सहजीकरण गर्नेछु।”
संसदमा उनले कुल बजेटको १ प्रतिशत अनुसन्धान र विकासमा खर्च गर्नुपर्ने एजेण्डालाई प्रमुखताका साथ उठाउने बताएका छन्। चुनाव जितेपछि पनि पोखराका सडकमा बसेर आफ्नो आत्मकथा बेच्दै गरेका पुनको सादगीपन अझै फेरिएको छैन।
म्याग्दीका मतदाताले झण्डै तेब्बर मत दिएर पुनलाई सिंहदरबार त पठाए, तर आविष्कार केन्द्र, मतदाताको विकासको भोक र सिंहदरबारको राजनीतिबीच सन्तुलन मिलाउने महावीरको वास्तविक परीक्षा भने अब सुरु भएको छ।

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य





























