FLASH NEWS
  • Loading...

डोजरले निलेका गोरेटोलाई पदमार्गको विकासे ट्याग

  • पुनहिल डट कम
  • १ महिना अघि
  • ११३ पटक पढिएको
डोजरले निलेका गोरेटोलाई पदमार्गको विकासे ट्याग

‘हामीले वनपाखा जाने ठाउँको नामबाटै बाटोलाई चिन्छौं तर पालिकामा बजेट विनियोजन हुँदा पदमार्ग भनी नामाकरण गरिएको हुन्छ । सँधै हिंड्ने बाटोमा मर्मत गरी बनाएको पदमार्गमा हिंड्दा ‘विकासे’ बाटो जस्तो, कतै कही नमिलेको झै लाग्छ’ अन्नपूर्ण गाउँपालिका, ६ घारका उपभोक्ता श्यामप्रसाद खड्काले भने, ‘घाँसदाउरा र खेतवारीमा जाने बाटोलाई पदमार्ग भन्दा अपनत्व नभए जस्तो, कतै अन्यत्र गएजस्तो महसुस हुन्छ । पुरानै नाममा मिठास र आत्मिएता थियो ।’
नेपालको विश्व प्रसिद्घ पदमार्गमध्यको अन्नपूर्ण चक्रिय पदमार्गको अधिकांश भाग सडकले निल्यो । अन्नपूर्ण चक्रिय पदमार्गको एउटा खण्ड घान्द्रुक–घोरेपानी (पुनहिल)पदमार्ग पनि अव मोटरबाटोको धुलोले छपक्कै छोपिएको छ । त्यस्तै, अन्नपूर्ण प्रथम हिमाल पुग्ने मौरिस हर्जोग पदमार्गको ४२ किलोमिटरमध्य २२ किलोमिटरमा मोटरले पर्यटक बोक्छन । म्याग्दी खोलाबाट जाने राउण्ड धौलागिरी पदमार्गको र राहुघाट खोला पछ्याउँदै उक्लिने धौलागिरी आइसफल पुग्ने सेन्चुरी पदमार्गको अधिकांश घना जंगली पदमार्ग मोटरबाटोले भताभुङ्ग बनाएको छ ।
‘विकास’ नाममा जथाभावी खनिएका सडकले दशकौंदेखी विदेशी पर्यटक लोभ्याउने शान्त र प्राकृतिक गोरेटोहरु विस्थापित मात्र गरेन, पदयात्रा पर्यटनको आयु घटाउँदै लगेको छ । जव विदेशी पर्यटक हिंड्ने पदमार्ग नासिए, प्रदेश र स्थानीय सरकारहरु नयाँ जुक्ति निकाले ‘गोरेटो बाटो’लाई पदमार्गको ट्याग लगाएर बजेट सिध्याउने ।
अहिले गाउँ–गाउँमा खेतवारी जाने, वनजंगल जाने वा घरवस्तीबाट मोटरबाटोसम्म पुग्न ढुङ्गा छापेका सिँढी वा सिमेन्ट प्रयोगगरिएको आरसिसि सिँढी बनिरहेका छन । संघीय, फ्रदेश र स्थानीय तीनै तहले कार्यक्रम र बजेटमा ती सिँढीयुत्त बाटोलाई ‘पदमार्ग’ लेख्ने गरेका छन ।
सैद्घान्तिक रुपपमा पदमार्ग शब्दले एक गन्तब्यबाट अर्को गन्तब्यसम्मको लामो दुरीका पर्यटकीय उद्देश्यले हिंडिने बाटा हुन । अहिले गाउँघरमा निर्माण भएका छोटो दुरीका चिटिक्क पारी बनाईएका बाटाहरु भने सुधारिएका गोरेटो बाटा हुन । सुधारिएका गोरेटो बाटालाई पदमार्ग भनिँदा वास्तविक पर्यटकीय महत्वलाइ घटाएको पर्यटनकर्मी चित्र तिलिजाले बताउँछन ।
गाउँ–गाउँमा सडक विस्तार भै मोटर चल्न थालेपछि पर्यटक हिंड्ने परम्परागत पदमार्ग मात्र नासिएको छैन, पदमार्गको परिभाषा नै फेर्न थालिएको छ । पुराना गोरेटो र घोडेटोहरु नासिएका छन । मानिसहरुको दैनिकी अव सडकसँग जोड्नु पर्ने भएपछि पुराना गोरेटो, घोडेटो प्रयोगहीन भै नयाँ गोरेटो खन्नु पर्ने बाध्यता आएको हो ।
पर्यावरणमैत्री पर्यटन र सहरी विकास अभियन्ता सौरभ ढकालका अनुसार अर्थ उस्तै लागेपनि गोरेटो (पुटपाथ), घोडेटो (म्युल ट्रेक), पदमार्ग (ट्र्रेकिङ ट्र्रेल) र पैदल मार्ग (पेडिस्ट्रियन वे)को अर्थ फरक हुन्छ । मानिस र जनावरहरु आवतजावत गर्न बनेका प्रकृति र मानव निर्मित बाटाहरु प्रयोगमा आएका हुन । सुन्दा उस्तै लागेपनि गोरेटो, घोडेटो, पदमार्ग र पैदल मार्ग बीच प्राविधिक, साँस्कृतिक र ब्यवहारिक भिन्नता छन ।

गोरेटो बाटो सवैभन्दा पुरानो र प्राकृतिक बाटो हो । मानिस तथा गाईवस्तु मेलापात तथा वनजंगल जान आउने प्रयोग भएका साँघुरा बाटा गोरेटो हुन । त्यस्तै, गोरेटोमा सुधारगरी घोडाखच्चडबाट मालसामान ढुवानी गर्न योग्य बाटाहरु घोडेटो हुन भने पदमार्ग पर्यटनसँग जोडिएको बाटो हो । पदमार्ग केवल गन्तब्यमा पुग्ने बाटो मात्र नभै याक्रात्रममा खानवस्न पाईने, दिशा निर्देश चिन्ह भएका र देखिने दृश्य, संस्कृति र अनुभव पनि हो ।
पैदल मार्ग भने सहरी पैदल मार्ग हो । सवारी साधनहरु गुड्ने सडकको दुवै वा एक किनारामा मानिसहरु मात्र हिंड्न प्रयोग गरिने बाटो नै पैदल मार्ग हुन ।
नेपालको ग्रामिण भेगमा विकासको कथा गोरेटो बाटोबाट युगौंयुग नेपाली गाउँलेहरुलाई जोड्ने र गाउँले हिंड्ने बाटो मात्र थिएनन, ति जीवनशैली, संस्कृति र इतिहाँस जोडिएका थिए । समयअन्तराल ति नासिँदै गएको धौलागिरी पर्यटन विकास परिषदका अध्यक्ष अमर बानियाँ भन्छन, ‘गोरेटो, गोरेटो मात्र नाएिका हैनन, नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने पर्यटकीय गन्तब्य जोड्ने पदमार्गहरु समेत मोटरबाटोले तहसनहस भएको छ । बचेका पदमार्गपनि विनासको संघारमा छन ।’
विस २०५० सालसम्मै पैदल सजिलोसँग हिंड्न मिल्ने गोरेटो वाटो राजनैतिक दलको चुनावी एजेण्डा हुन्थ्यो । अजिङ्गरभीर, नाउराभिर ०६४ सालसम्म प्रमुख राजनैतिक एजेण्डा थिए, भोट माग्ने । तर अहिले विकासको चित्र र भाष्य दुवै फेरिएको छ । घरदैलोसम्म बाहृै महिना मोटर चल्न सक्ने सडक प्राथमिकतामा परेको छ । गाउँ–गाउँमा पर्यावरण संरक्षणमा ख्यालै नराखी डोजरले पहाड भत्काएर बनाएको डोजरे सडक क्रान्तिले डाँडापाखा र भुगोललाई मात्र होईन सामाजिक संरचनालाई पनि भत्काई दिएको छ ।
गाउँवस्ती सम्म पुगेको ‘सडक क्रान्ति’ले स्थानीय जीवनमा पहुँच, सुविधा र ब्यापार थपेपनि ग्रामिण भेगका परम्परागत गोरेटा बाटाहरु भने नष्ट भए । जीवनलाई थप सजिलो र सुविस्ताकालागी दैलोसम्मै मोटर बाटो पुर्‍याउने चाहले गोरेटो न घोडेटो, चौतारी न कुवा, कुलो सवै नास्दाबढी विकासप्रेमी बन्ने होडवाजी भैरहेको गैहृसरकारी संस्था मिलनकी कार्यकारी निर्देशक दीलु विटालु बताउँछिन ।

रघुगंगा गाउँपालिकाका सिनियर सवइन्जिनियर कमल चोखालका अनुसार सडक पुगेपछि गोरेटो बाटोको आवश्यकता नै सकियो भन्ठानिएको थियो । त्यसो भएन । वरु घर/वस्ती–सडक जोड्न फेरी गोरेटो चाहिने भयो । समयसँगै नासिएका परम्परामा खेतवारी, मेलापात, वनजंगल, विद्यालय, बजार जाने यी गोरेटाहरु धमाधम नाम फेर्दै पदमार्गमा रुपान्त्रण हुँदैछन ।
सिनियर सवइन्जिनियर चोखाल भन्छन, ‘गोरेटो बाटो भन्दा योजना बाँड्नेहरुले बजेट नछुट्टाउने भएकोले पर्यटन क्षेत्रबाट नाम चोरेर योजनाहरुको पनी सुधारिएको नाम राख्ने चलन आएको हो । विकास शैली उस्तै छ । ’
गोरेटो वाटोको नाम मात्र होईन, स्वरुप पनि फेरिएको छ । परम्परागत गोरेटो बाटोहरु साँघुरा, जोखिमयुक्त, चिप्ला र असहजिला थिए । नाम फेरिएपछिका पदमार्गहरु भने सकेसम्म ढलानयुक्त नभए चिटिक्क छपनी ढुङ्गा विच्छाएका सिंढी हुने गरेका छन । प्रकृतिमैत्री नभएपनि यी पदमार्ग निर्माणपछि निक्कै आर्कषक देखिएका छन । घनावस्ती भित्र त अझ ढल निकाससहित बाटा मर्मत गरिएका छन ।
स्थानीयको सम्पदा, पहिचान र सांस्कृतिक महत्व राख्ने गाउँघरका गोरेटो वाटालाई ‘पदमार्ग’ बनाउन प्रधानमन्क्री रोजगार कार्यत्रम (चालु आवमा खारेज भएको) प्रमुख हो । अर्को प्रदेश पर्यटन कार्यालयका कार्यक्रम पनि यस्तै गोरेटोलाइ नाम फेरेर बजेट सक्नेमा अग्रेणी छ । को अगाडी गत वर्ष जिल्लाका ६ वटा स्थानीय तहले ५ सयबढी टोले पदमार्ग निर्माण गरेका थिए । पदमार्गहरु सहरी क्षेत्रमा बढी आरसिसी गरिएका र अलि माथी ग्रामिण वस्तीमा भने ढुङ्गे छपनी राखेर सिंढी बनाउने गरिएको छ ।
अन्नपूर्ण गाउँपाििलका उपाध्यक्ष दीवकुमारी तिलिजाका अनुसार सडकले मान्छे हिंड्दै आएको बाटो मासियो वा भत्कायो त्यसैले वनपाखा, खेतवारी र घाँसदाउरा गर्न मात्र हैन गाडी चढ्न सडक पुग्ने अर्को बाटो चाहिएकोले नामको परिभाष खोजिएन सानो बजेटमा जनश्रमदान मिलाएर पदमार्ग निर्माण गरिएका हुन ।
डिभिजन वन कार्यालयका सहायक वन अधिकृत तथा संरक्षणर्की चन्द्रमणी सापकोटा भन्छन, गोरेटो बाटोहरु नेपाली ग्रामिण जनजिवनका साँस्कृतिक तथा सामाजिक सम्पदा हुन । सामुदायीक सहभागितामा ढुङ्गेसिंढी भएका वातावरण मैक्री गोरेटाहरु संरक्षण आवश्यक छ । आरसिसि ढलानयुत्त सिंढी झट्ट देख्दा राम्रा झै लागेपनि यी वातावरण अनुकुलित छैनन । न परम्परागत ग्रामिण जीवनशैलीको झलक नै दिन सकेको छ ।
मानिसले प्रयोग गरेको सवैभन्दा पुरानो र प्राकृतिक बाटो मासिएपछि संभव भएसम्म गोरेटो/घोडेटो बाटो मर्मत र संरक्षण गर्दै बेलढुङ्गा, पुलाहश्रम समेतका धार्मिक तथा पर्यटकीय स्थलहरुसँग जोडेर सम्पदा मार्ग ‘हेरिटेज ट्रेल)को रुपमा विकास गर्न थालेको बेनी नगरपालिकाका मेयर सुरत केसी बताउँछन ।

विकास र संरक्षणको वहरमा स्थानीयका आफ्नै पीडा र तर्क छन । अन्नपूर्ण गाउँपालिका, ६ घोरेपानीका शुशिल गर्वुजा भन्छन, ‘पर्यटक हिँड्छन भनेर हामी कति पुस्तासम्म पिठ्युँमा डोको बोकेर बाँच्ने, कति दिन खुट्टाले चिसो बाटो नापेर जीवन विताउने ? ।
उस्तै भनाई छ, धवलागिरी गाउँपालिका, ४ मुदीका युवा विजय रोकाको, भन्छन, ‘सिमित मान्छेहरुले पर्यटनको लाभ लिन्छन भनेकै आधारमा दुर्गमका गाउँले कति दिन आधुनिक सुविधा उपभोग गर्न बन्चित हुने ? हामी कति दिन जिवित संग्राहलय बनेर बस्ने ? विरमी पर्दा भीरको बाटोमा डोकोमा कति दिन बोक्ने ? नुनतेल ढुवानी कतिदिन भरियामा निर्भर रहने । त्यसैले हामी पदमार्गभन्दा सडक ल्याउने पक्षमा छौं ।’
पर्यापर्यटन तथा सहरी विकास अभियन्ता सौरभ ढकाल भन्छन, सडक खन्ने र पदमार्ग जोगाउने विषय द्वन्द्व गर्ने विषय नै हैन । न विकास र पर्यटन एक एर्काका शुत्रु नै हुन । मुख्य समस्या भनेको ‘इन्जिनियरिङ दृष्टी’ को अभाव हो । संभव भएसम्म साँस्कृतिक पहिचान बोकेका पदमार्ग, गोरेटा सवै जोगाउँदै मोटरबाटो खन्ने, गाडी गुडाउने । संभव नभएको स्थानमा वैकल्पिक हेरिटेज ट्र्रेल पनि निर्माण गर्दा भैहाल्यो त । अनि, गोरेटो पुर्खाको पाईला हो, घोडेटो हाम्रो ढुवानीको आधार हो, पदमार्ग हाम्रो अर्थतन्त्रको मेरुदण्ड र पैदल मार्ग हाम्रो शहरु सभ्यताको परिचय हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र