FLASH NEWS
  • Loading...

गोवर बेचेर मनग्य कमाउँदै म्याग्दीका किसान

  • पुनहिल डट कम
  • २ हप्ता अघि
  • १७५ पटक पढिएको
गोवर बेचेर मनग्य कमाउँदै म्याग्दीका किसान

बेनी नगरपालिका, ६ बाँसबोटका दुर्गा पौडेलले पनि यस गोवर बेचेर यो वर्ष ३ लाख २० हजार नगद बुझे पौडेलको गोठबाट पनि वरपरका कृषकले मात्र होईन ट्याक्टर र ट्रिपर पुग्ने ठाउँका ब्यवसायीक फलफुल तथा तरकारी खेती गर्ने कृषकले किनेर लैजाने गरेका छन । उनको गोठबाट हिमालपारीको मुस्ताङका स्याउ कृषकले पनि लैजाने गरेका छन । पछिल्ला तीन वर्षदेखी पौडेलको गोठबाट पुस/माघ महिनामा ३–४ ट्रक गोवरमल मुस्ताङ पठाउँदै आएका छन ।

‘भैसीको गोवर बेचिन्छ । गहुँत भने आफ्नै खेतवारीमा अन्नवाली, तरकारी र घाँसखेतीमा प्रयोग गर्छु । मेरो गोठबाट प्रत्यक १० दिनमा ७ हजार लिटर गहुँत जम्मा हुने रहेछ । माग भै आएमा गोठ मल जस्तै ब्यवस्थित रुपमा ड्रममा प्याक गरी गहुँच पनि वेच्ने सोच्दैछु’ पौडेल पशुपालन फार्मका दुर्गा पौडेलले भने, ‘जिल्लामा सुन्तला खेती विस्तार भएसँगै हाम्रो मलको माग पनी बढेको छ ।’

पौडेलले मात्र होईन, बेनी नगरपालिका, ७ टुनीखर्कका कृष्णप्रसाद आचार्यले पनि गाईभैसीको गोवर वेचेर बार्षिक चार लाखबढी कमाउँछन । आचार्यको ‘शर्मा कृषी तथा पशुपंक्षी फार्म (गोठ)मा २० वटा भैसी छन । तिनै भैसीको गोवर बेचेर मात्र शर्माले माघ/फागुन/चैत तीन महिनामा मात्र तीन लाख नगद बुझे । छुट्टै भैसीको गोवर दिएर एक लाख ४० हजारबढीको घाँस साटे । भैसीको दुध बेच्ने त छँदैछ ।

शर्माले पाकेको (कम्पोष्ट भएको) गोठे मल ५० केजीको बोरामा प्रति बोरा एक सय रुपैयाँमा विक्रि गरेका हुन । आलो मल (कम्पोष्ट भैनसकेको मल) भने ५० रुपैयाँ बोरा विक्रि हुन्छ । शर्माको गोठबाट जिल्लाको रघुगंगा गाउँपालिका, बेनी नपाका गौश्वारा, खवरा, बगरफाँट, पुलाचौर समेत छिमेकी पर्वत जिल्लाको जलजला गापा, १ बाँसखर्क, ४ मिलनचोकसम्मका कृषकले किनेर लैजाने गरेका छन ।

म्याग्दीमा पाैडेल, अाचार्य जस्ता गाेवर बेच्ने दुइ दर्जनबढी कृषक छन । सदरमुकाम वरपरका वस्तीमा दुधकालागी गाइभैसी फार्म चलाउने कृषकहरू, माशुकालागी बाख्रा पाल्ने कृषाक र कुखुरा फार्मबाट बढी मल उत्पादन र विक्रि हुने गरेकाे छ ।

‘गरेको त मैले गाईभैसीको दुध उत्पादन पेशा गरेको हो । तर गाईभैसीको दुध मात्र होईन, मलमुत्र बेचेर पनि राम्रो आम्दानी भएको छ । मलमुत्रको आम्दानी कृषककाालागी सप्लिमेन्ट्र कमाई भैरहेको छ’ दुध उत्पादक कृषक कृष्ण शर्माले भने, ‘गोठेमल तथा घाँससँग साटेको मलको मुल्य गर्दा बार्षिक ४ लाख जति कमाई भयो । मल खोज्न कृषकहरु गोठमै आउँछन ।’

पशुपालक कृषकहरुले गाईभैसीको गोवर बेचे पनि गहुँत भने आफ्नै खेतवारीमा प्रयोग गर्ने गरेका छन । केही घरमा पशुपालन नगरेका कृषकले मकै, धान खेती गर्न खेतवारीको घाँससँग गाईभैसी गोवर (प्राङ्गारिक मल) साट्ने गरेका छन । घरमा एउटा मात्र भैसी भएको तर खेतीवाली धेरै लगाउने कृषकले गोठेमल किनेरै पनि लैजान्छन ।
घर–घरमा पशु चौपाया पाल्ने चलन घट्दै गएसँगै दैलो छेउको वारीमा खेतिवाली लगाउन गाईभैसी, बाख्रा र कुखुराको मल किन्ने बढेका छन । जिल्लामा फस्टाउँदो ब्यवसायीक सुन्तला खेती र अर्गानिक तरकारी खेती गर्ने कृषकहरुले टाढा टाढासम्म प्राङ्गारिक मल किनेर खेतवारीमा हाल्ने गरेका छन ।

कृषकहरुका अनुसार बाख्राको मल (झुतो) ५० केजीको बोरामा प्रति बोराको दुई सय ५० रुपैयाँमा र कुखुराको सुली प्रति बोरा एक सय रुपैयाँमा विक्रि हुने गरेको छ । घरमा ८–१० वटा बाख्रा, २–३ वटा भैसी र एक हल गोरु पाल्नेहरुले पनि बर्षमा ४०–५० हजारको मल बेच्ने गरेका छन ।

‘मेरो बाख्रा फार्म हो । मेरो फार्मबाट आफ्नै बारीमा पुग्दो प्रयोग गरी बेचेको बार्षिक दुई लाख रुपैयाँबढीको बाख्राको मल (झुतो) बेच्ने गरेको छु’ बेनी नपा, ४ डाँडाखेतका महेन्द्र बानियाँले भने, ‘असोज/कात्तिकमा आलु रोप्ने बेला, मंसिरमा गहुँ छर्ने समय र फागुन/चैत मकै रोप्ने सिजनमा मलको माग आउँछ ।’

रोजगारी र अवसर खोज्दै विदेशियका युवाले पठाएको रेमिटेन्स रकमले परिवारको खानपान, लवाईखवाई र शिक्षामा मात्र सहयोग पुर्‍याएका छैनन, खेतवारीको उर्वराशक्ति बढाउन गाईवस्तुको मल किन्न सहयोग गरिरहेका छन ।

माटोको उर्वराशक्ति बढाउन प्रयोग गरिने पदार्थलाई मल भनिन्छ । गोवर मल सवै जीवनहरुको पाचन प्रकृया समाप्त भएपछि मलद्धारबाट बाहिर निस्कने पदार्थ हो । जैविक मल जनावरहरुले उत्सर्जन गरेको मलमुत्र साथै रुखविरुवाको पातपतिङ्गर तथा हरियो विरुवा कुहिएर बन्छ । कृषिवाली उत्पादनकालागी अर्गानिक मललाई अत्यन्तै महत्वपूर्ण मान्छि । गोवरमल मध्य सवै भन्दा राम्रो गाईको मल मानिन्छ । बाख्रा, कुखुराको मलको प्रयोग गर्दा कृषकले अनुपात मिलाउन सक्नु पर्छ ।