FLASH NEWS
  • Loading...

मुस्ताङकाे मार्फाखाेलामा वेमौषमी बाढी, बेनी–जोमसोम सडकमा यातायात अवरुद्ध

  • पुनहिल डट कम
  • १ महिना अघि
  • १८३ पटक पढिएको
मुस्ताङकाे मार्फाखाेलामा वेमौषमी बाढी, बेनी–जोमसोम सडकमा यातायात अवरुद्ध

हिमालपारीको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका, २ मार्फामा पर्ने राजखोला (मार्फाखोला)मा विहिवार दिउँसो अचानक वेमौषमी बाढी आउँदा सडक यातायात अवरुद्ध भएको छ ।
धौलागिरी दोस्रो र टुक्चेचुली हिमालको विचमा पर्ने धम्पुसचुली हिमालको फेदमा पर्ने काशीघन क्षेत्रमा रहेको हिउँ दिउँसोको चर्को घामले पग्लदा ठाडो खहरेखोलामा बाढी आएको हो । स्थानीय जनहित माध्यामिक विद्यालय जोमसोमका शिक्षक सुदिप नेपालीका अनुसार दिउँसो ३.२० बजेदेखी बाढी आएको थियो । ठडो खहरे खोलामा कालोलेदो माटोसहितको बाढी आएपछि बेनी–जोमसोम सडकमा यातायात अवरुद्ध भएको छ ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तका अनुसार यातायात सुचारु गर्न २ वटा जेसिवीले ग्युमपाईप राखी बाढीलाई बाँडेर याताायाात सुचारु गर्ने प्रयास साँझ ६.१५ बजेसम्म जारी छ । रातीसम्मै भएपनि यातायात खुलाउने लक्ष्य रहेको छ ।

‘म्याग्दीबाट विद्यालयमा जाँदैछु । गाडी ३.२२ बजे राजखोलामा आईपुग्दा बाढी आएकोले रोकिएका छौं । कम्तीमा दुई सय यात्रु वारी र उत्तिकै संख्यामा यात्रु पारी रोकिएका छन’ जनहित माविका शिक्षक सुदिप नेपालीले भने, ‘अहिले ६ बज्यो, खोला अझै घटेको छैन । ’
छायाबृष्टी हुने सुख्खा वलौटे भुगोल भएको मुस्ताङमा पछिल्ला केही वर्षदेखी बाढीपहिरोले वितण्डा मच्चाउन थालेको छ । यस अघि पनि यस खोलामा यसरी नै वेमौषमी बाढी आएको थियो । तस्वीर सौजन्य ः सुदिप नेपाली, शिक्षक जनहित मावि, जोमसोम