FLASH NEWS
  • Loading...

यसरी भएको थियो, २०६० चैत ७ गते बेनी आक्रमण

  • पुनहिल डट कम
  • १ महिना अघि
  • ११३ पटक पढिएको
यसरी भएको थियो, २०६० चैत ७ गते बेनी आक्रमण

तत्कालिन विद्रोही नेकपा माओवादीले म्याग्दी सदरमुकाम बेनी आक्रमण गरेको चैत ७ गते २० बर्ष पुगेको छ । र बेनी भिडन्तका अहिले दुई वटा अवषेश ‘खत’को रुपमा बाँकी छन, १, क्रसफायरमा परि छियाछिया परेको विजुलीको पोल र २, डिभिजन वन र बेनी नगरपालिकाको नजिकै (तत्कालिन शाही सेनाको कालीप्रसाद गण (ई)को ब्यारेक रहेको स्थान)मा रहेको बंकर ।

पृष्ठभूमि ः
०६० फागुन २३ गते देखी अनिश्चितकाल सम्म माओवादीले जिल्लाका विभिन्न गाउँहरुमा माईकिङ्ग गर्दै सदरमुकाम आवत जावतमा प्रतिबन्ध लगाएपछी आक्रमण हुन सक्ने अनुमान गरिएको थियो । तर यसलाई राजाको पश्चिमाञ्चल क्षेत्रको पोखरामा हुने अभिनन्दनलाई असर पुर्‍याउन यसो गरिएको मुल्याङ्कन गरियो र त्यसै अनुसार सुरक्षाकर्मी परिचालित पनी भए ।
माओवादीले यति नै वेला जिल्लाका विभिन्न भेगमा भर्ति केन्द्र संचालन गर्नुका साथै बिभिन्न गाउँबाट जवान युवाहरु अपहरण गरिरहेका थिए । पछि उनीहरुलाई मानव ढालको रुपमा प्रयोग गरेको पाईयो । उनीहरुले बेग, चिमखोला, कुईने, पाखापानी आदी ठाँउबाट चौपाया लगी रहेका थिए । गाउँगाउँका पसलबाट सवै खाद्यन्न जम्मा गरिरहेको खवर आई रहेको थियो । फागुन दोस्रो हप्ता भारतको तामिलनाडु क्षेत्रका अनुहार भएका नेपाली भाषा बोल्न नजान्ने भारतियहरुले पुलाचौरको गाँज्नेको धुरीमा युद्ध तालिम संचालन गरेको पनी स्थानियबासीले बताएका थिए ।
त्यहीक्रममा ०६० चैत ७ गते शनिवार राती माओवादीले सदरमुकाम बेनीमा भिषण आक्रमण गरे । पश्चिम डिभिजनको कमाण्डमा भएको बेनी आक्रमण जनयुद्धको ८ वर्षे अनुझवमा माओवादीले जिल्ला सदरमुकाममा गरेका ९ ओटा आक्रमण मध्य सैन्यवल र आत्रमणको ब्यापकताको दृष्टिले सवैभन्दा ठूलो थियो ।

यी ठाउहरुँबाट भएको थियो आक्रमण ः
माओवादीहरुले पूर्वको खवरा, दक्षिणको हाँडेभीरको जंगल, पश्चिमको मंगलाघाट, महाँरानीथान, अथुङ्गेको डाँडा, ठुलो सल्लेरी र मुख्य बजारको विरेन्द्रचोक, बालमन्दीरचोक र खुल्ला मञ्चबाट ८१ एमएमको मोर्टार लगाएतका अत्याधुनिक हतियारले आक्रमण गरेको सेना उल्लेख गरेको थियो । माओवादीले प्रयोग गरेका ८१ एमएम मोर्टारका खोकाहरु अथुङ्गेको बास्बोट तथा भकिम्ली गाउंसम्म फाईएका थिए ।
आक्रमणत्रममा सेनाले माओवादीबाट एके ४७ एक थान, एस.एम. जी. एक थान, एस.एल. एम ५ थान र थ्रि नट थ्री ३ थान बरामत गरेको हो । यस बाहेक सयौं ग्रिनेट र गोली पनी फेला पारेको थियो । रुसमा निर्मित एके ४७ राईफल भेटिएको पहिलो हो । सेनाले एके ४७ राईफल फ्रयोग गर्दैन थियो ।

माओवादीले आक्रमणमा कति शत्ति प्रयोग गर्‍यो ?

नेपाली सेनाको कालीप्रसाद गण (ई)को ब्यारेकको गेटमा भेटिएको पश्चिम केन्द्रीय कमाण्ड पश्चिम डिभिजनल सतवरिया दोस्रो विग्रेड चौंथो बटालियन बि. कम्पनी ल्पाटुन नं. ३ का कमाण्डर श्रमजिवीको साथमा फेला परेको परिचय पत्र तथा युद्ध सामाग्रीको रेर्कड अनुसार बेनी आक्रमणमा माओवादीको तिन विग्रेड संलग्न थियो । बेनी आक्रमणमा मंगलसेन प्रथम विग्रेड, वासु स्मृति चौंथो विग्रेड र सतवरिया दोस्रो विग्रेड संलग्न भएको थियो ।
एके ४७ चलाउने कमाण्डर ज्योतिसको परिचय पत्रमा वासु स्मृति ४ विग्रेड एघारौं वटालियन कम्पनी ए. ल्पाटुन २ सेक्सन ए.उल्लेख थियो । सेनाको ब्यारेक भित्र पुगेकी अर्की महिला छापामारको शवमा भेटिएको परिचय पत्रमा मंगलसेन प्रथम विग्रेड तेस्रो बटालियन कम्पनी सी. ल्पाटुन नं १ लेखेको थियो । उनै लडाकुको साथमा भेटिएको अर्को पत्रमा उल्लेख भए अनुसार पश्चिम डिभिजनल सतवरिया दोस्रो विग्रेड चौथो बटालियन ल्पाटुन नं ३ ले प्रयोग गरेको युद्ध सामाग्री विवरण यस्तो छ ः–
७.६२ एमएम सेल्फ लोडिङ्ग राईफल १ थान र सोको वुलेत ६५ म्यागजिन १, थ्रि नट थ्रि ७ थान र सोको वुलेट ३१२, सटगन २ थान र वुलेट ४०, म्याग्नम २ थान र वुलेट ४२, टुवेल्भर १ थान र वुलेट १२, माईन १, जिलेटिन ४० केरा, तार कट १ थान, विधुतीय डिटोनेटर ३ थान, त्रिकोण १ थान, तार साढे एक क्वायल र ग्रिनेट ८७ थान रहेका छन् ।
माओवादीले एउटा ल्पाटुनलाई पनी विभिन्न समुहमा बिभाजन गरी आक्रमण गरेका थिए । एक ल्पाटुनलाई एसल्ट ग्रुप, डिस्चार्ज ग्रुप, राईफल सप्लाई ग्रुप, माईनिङ्ग ग्रुप, हेड क्वाटर र श्वास्थ्य पोष्ट गरी छ समुहमा वोँडेका थिए भने एसल्ट ग्रुपलाई पनी हतियारको स्तर अनुसार ए, वि,र सि गरी बाँडेका थिए ।

बेनी आक्रमणमा कस्को कति क्षति ?

बेनी भिडन्तमा परी १७ सेना, २१ प्रहरी गरी ३८ सुरक्षाकर्मीले ज्यान गुमाए । राज्यले गरेको प्रतिकारमा मारिने माओवादीको ९५ शव फेला परेका थिए । भिडन्तमा सयौं माओवादी घाईते भएको बताईए फनि यकिन संख्या खुलेन ।
बेनी आक्रमण त्रममा दुई जना बालवालिका सहित सवैभन्दा बढी १९ जना सर्वसाधारण मारिए । मारिने सर्वसाधारण मध्य खाडीमुलुकबाट घर फर्कदै थिए । माओवादीले सर्वसाधारणको होटल रहेको घरमा आगो लगाउँदा गरेका बास बसेका ति दुई जना जिउँदै जलेका हुन । चैत ८ गते सेनाको हवाई आक्रमणमा परी खवरामा गृहणीसमेत सात मजदुरहरुको घट्ना स्थलमै मुृत्यु भयो । आक्रमणक्रममा माओवादीले जिविसका चौकिदार योगेन्द्र गैरेलाई सेनाको आरोप लगाउँदै गोली हानी हत्या गरेका थिए । माओवादीले फालेको बम खेलाउँदा अथुंङ्गे गाविस–४का झिल्के सार्की र ताकममा गौरी गर्वुजाको मृत्यु भयो ।
एक्कासी आक्रमणलाई सहनु परेपनी प्रहरीले रातभर विहान ६ बजेसम्म माओवादीको प्रतिकार गरिरहे । तर विहान अवेरसम्मपनी थप सुरक्षावल पुग्न नसक्दा रातभर लडी रहेका प्रहरी तथा सुरक्षाकर्मीको मनोवल घट्दै गएको र गोली गठ्ठा सकिदै गएपछि आठ बजे माओवादीले प्रहरी कार्यालय पुर्ण नियन्त्रणमा लिए । डिएसपी रणबहादुर गौतमसमेत ३३ जना प्रहरी र ८.३० बजे प्रमुख जिल्ला अधिकारी सागरमणी पराजुलीलाई कब्जा गरे । सेनाले आफ्नो ब्यारेक माक्र सुरक्षित गर्‍यो ।
राती १० बजेबाट आत्रमण सुरु भै विहान १० बजेसम्म १२ घन्टा भिडन्त चलेको थियो । माओवादीले विहान ५ बजे पछीमात्र मुख्य हमला गरेका थिए । माओवादीले कारागार र प्रहरी कार्यालयबाट धेरै हतियार पनि लुटी गरेका थिए । संयोगवस सोही दिन पोखराबाट गस्तीमा आएको करिव ७० जना सेना जिल्ला विकास समितिको सभाहलमा बास बसेको थियो । माओवादीले पनि ति सेना सो स्थानमा वास बसेको पत्तो पाएनन । अनपेक्षित ठाउबाट प्रतिकार भएपछि माओवादीले सैनिक ब्यारेक कब्जा गर्ने मुख्य लक्ष्य प्राप्त गर्न सकेनन । एक्कासी वास बस्न आएको सेनाको गस्ती टोलीकै मद्दतले सेनाले ब्यारेकसम्म रक्षा गर्न सकेको थियो ।
आक्रमणबाट जिल्ला कारागार, जिल्ला प्रहरी कार्यलय, कर्मचारी मिलन केन्द्र, जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय, जिविस, म्याग्दी पुस्तकालय, जिविस गेष्ट हाउस पुर्ण ध्वस्त भए । नेपाल बैंक लिमिटेड, राष्ट्रिय बाणिज्य बैंक, जिल्ला शिक्षा कार्यालय, मालपोत कार्यालय, उद्योग बाणिज्य संघ लगाएतका संघ/संस्था र कार्यालयका सम्पुर्ण कागजात जलाई दिएका थिए ।
माओवादीको पश्चिम डिभिजन कमाण्डका राजनैतिक कमिसार विप्लव र सैन्य कमाण्डर पासाङ्गले चैत ९ गते एक विज्ञप्ती जारी गरी आक्रमणमा विग्रेड सह कमाण्डर योद्धा र वटालियन कमाण्डर वहुविर मारिएको पुष्टी गरे । उनीहरुलाई माओवादीले विहान ९ बजे कालीपुल स्थित कालीगण्डकी नदी किनारामा सम्मानसहित गाडेको प्रत्यक्षदर्शीले बताए । रेडक्रसको अगुवाईमा बजार क्षेत्रमा अलपत्र परेका ३५ माओवादीका शव एकै ठाउँमा गाडिएको थियो । गाडीएका शवहरु ०६१ सालको असार–भदौको कालीगण्डकीको भेलले बगायो ।

आक्रमणको प्रभाव ः
बेनी आक्रमण त्रममा माओवादीले प्रमुख जिल्ला अधिकारी सागरमणी पराजुली, प्रहरी नायव उपरिक्षक रणबहादुर गौतम सहित करिव ४० जनालाई कब्जामा परेका प्रमुख जिल्ला अधिकारी पराजुली, डिएसपी गौतम समेत कब्जामा लिएका सुरक्षाकर्मीलाई बेनीबाट हिंडाएर अथुङ्गेबाट पश्चिम बाबियाचौर, अर्मनहुँदै बाग्लुङको ताराखोला पुर्‍याएर फेरी म्याग्दीको रुमबाटबाट मुनाहुँदै जलजला, ढोरपाटनबाट रुकुमको पेल्मा, हुकाम, महताराहुँदै १५ दिनमा रोल्पाको थवाङ पुर्‍याएका थिए । युद्धबन्दीलाई माओवादी पश्चिम डिभिजन कमिसार विप्लव र कमाण्डर पासाङले वक्तब्य मार्फत भारतको दिल्लीमा पक्राउपरी नेपाललाई सुर्फदगी गरिएका माओवादी नेताहरु मातृका यादव, शुरेश आले मगर र किरण शर्मालाई मुक्तm गर्न सौदा गरे । तर माओवादीले चैत २४ गते रेडत्रसको अर्न्तराष्ट्रिय समिति (आईसिआरसी)को मध्यस्थतामा युद्धबन्दीहरुलाई थवाङबाट मुक्त गरेका थिए । माओवादीले संञ्चालन गरेको १० बर्षे शसस्त्र युद्धमध्य बेनी आत्रमण अन्तिम भिडन्त हो । यो आक्रमणपछि माओवादीले राजनैतिक रुपमा राज्य विरुद्ध ठूलो मनोबैज्ञानिक दवाव सृजना गरे । राजनैतिक दलहरुलाई माओवादीसँग कार्यगत एकता गर्न बाध्य पार्‍यो ।