FLASH NEWS
  • Loading...

सोमबार दिउँसो सदरमुकाम बेनी वरपरका चार वनमा डढेलो

  • पुनहिल डट कम
  • १ महिना अघि
  • १२९ पटक पढिएको
सोमबार दिउँसो सदरमुकाम बेनी वरपरका चार वनमा डढेलो

लामो खडेरीसँगै जिल्लाका सामुदायीक, राष्ट्रिय, आरक्ष र संरक्षण क्षेत्रका वनमा दैनिक आधा दर्जनबढी डढेलो लाग्ने गरेको छ ।
सोमबार एकै दिन सदरमुकाम बेनी वरपर मात्र चार स्थानमा वन डढेलो लाग्यो । सोमबार दिउँसो करिव एकै समय बेनी नगरपालिका, ७ र ८ वडामा पर्ने वराहपाखो सामुदायीक वन, बेनी नपा, २ र ३ मा पर्ने तोराखेतको जंगल, बेनी नपा, ३ कै ठूलोरानीवन र वेनीको पारीपट्टी मल्लाजको भीरमा डढेलो लागेको थियो । सोमबार नै मंगला गापा, ४ को आलडाँडा सामुदायीक वन र अन्नपूर्ण गापा, १ को दोवा सामुदायीक वन, वडा नं ६ घारको साल्जा, खोप, महभीर, जुकेपानी, भुर्दुङ सामुदायीक वनमा डढेलो लागीरहेको डिभिजन वन कार्यालयले जनाएको छ । मंगला गापाको आलडाँडा र अन्नपूर्ण गापा दोवा र घारको जंगलमा ५ दिन अघि लागेको डढेलो अझै निभेको छैन ।


फागुन सुरु भएदेखीयता जिल्लाका कम्तीमा ५५ वटा सामुदायीक वनको १ हजार बढी क्षेत्रफलमा डढेलो लागेको डिभिजन वन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार हिमालमुनीका राष्ट्रिय वन र चरन क्षेत्रमा लागेको डढेलोको कतै अभिलेख छैन ।
‘वस्ती नजिकका प्रायः सवै भीर र जोडिएको जंगल डढेलोले काला बनेका छन । वस्तीदेखी माथिल्लो चरन क्षेत्र पनि उस्तै काला देखिन्छन । डढेलो लगाउने प्रचलन रोक्न अनेक प्रयत्न गरियो तर सकेका छैनौं’ डिभिजन वन कार्यालयका वन अधिकृत चन्द्रमणी सापकोटाले भने, ‘टाढाको कुरा नगरौं सदरमुकाम बेनीमै डढेलो लागीरहेको छ । वन डिभिजन कार्यालयकै आवास क्षेत्र डढेलोको चपेटोमा परेको छ ।’ अधिकृत सापकोटाले थपे, अधिकृत सापकोटाले थपे, ‘माथिल्लो हिमाली क्षेत्रमा कतै सिकारीले डढेलो लगाउने गरेको सुनिएको भएपनि तल्लो वस्ती नकिका भीरपाखामा गाउँलेले नै डढेलो लगाउँछन ।’


डिभिजन वन कार्यालयले वर्षेनी वन डढेलो नियन्त्रण गर्न विभिन्न शिर्षकमा लाखौं खर्च गर्ने गरेपनि डढेलो नियन्त्रणमा कुनै प्रभाव पारेको छैन । वन कार्यालयले वन डढेलो विरुद्ध प्रचार–प्रसार गर्न, सामुदायीक वनलाई डढेलो नियन्त्रण परिचालन गर्न डढेलो नियन्त्रणमा प्रभावकारी काम गर्ने सामुदायीक वन समुहलाई पुरस्कार, डढेलो नियन्क्रणमा खटिने ब्यत्तिहरुलाई खाजा तथा पानी खर्च र र डढेलो लगाउने विरुद्ध सुराकी परिचालन समेत १० लाखबढी खर्च कागजमै सिमित छ । वन डढेलो नियन्त्रण गर्न जिल्ला स्तरिय एक र सवै ६ वटा स्थानीय तहमा सव डिभिजन डढेलो नियन्त्रण सञ्जाल गठन भएपनि ति कागजमै सीमित छन ।


वन, पाखा र भीरमा लागेको डढेलोको धुँवा र कच्ची सडकमा गाडीले उडाउने धुलोले वायु प्रदुषण बढेको छ । वायु प्रदुषण मापन अनुसार बेनीको वायुमा १ सय २५ पिएम प्रदुषण देखिएको छ । यो मापनले वायुको अस्वस्थयता देखाउँछ ।
त्यस्तै वन डिभिजन कार्यालयको अभिलेख अनुसार जिल्लाको २ लाख २९ हजार ७ सय ६ हेक्टर क्षेत्रफल मध्य ३६.७६ प्रतिशत वन, १.८५ झाडी, २१.२७ प्रतिशत क्षेत्र चरन क्षेत्रले ओगटेको छ । ढोरपाटन सिकार आरक्षले १ हजार २ सय ६० हेक्टर, एक्यापले ३ हजार ७ सय ५३ हेक्टर वन क्षेत्र ओगटेको छ । वन कार्यालयले ब्यवस्थापन गर्ने ७९ हजार ४ सय ३९ हेक्टर वनमध्य २४ हजार २ सय २ हेक्टर वन ३ सय १० वटा सामुदायीक वन उपभोक्ता समुह मार्फत ब्यवस्थापन हुँदै आएको छ । करिव ५ हेक्टर कवुलियत, धार्मिक र निजी वन छ । बाँकी सवै राष्ट्रिय वन हो ।


‘वन डढेलो नियन्त्रण गर्ने विभिन्न कार्यक्रम भएपनि प्रभावकारी कार्यान्वयन भएको छैन’ वन अधिकृत सापकोटाले थपे, ‘वन डढेलोको राम्रो अभिलेख पनि हामी संग छैन । कर्मचारी त खटाएका छौं तर सूचना आएको छैन । वस्तीभन्दा धेरै माथी राष्ट्रिय वन भएकोले पनि नियन्त्रणमा चुनौति छन ।’
वन डढेलो मध्य सवैभन्दा ठूलो २०५० बैशाख १ गतेदेखी एक महिना १७ दिनसम्म ढोरपाटन सिकार आरक्षको म्याग्दी पट्टी लुलाङ्ग र गुर्जा गाविसको वन क्षेत्रमा लागेको थियो । यस वन डढेलोले झण्डै आठ सय हेक्टर वन नष्ट गरेकोले सुकेका रुखहरुको जंगल मात्र देख्न पाईन्छ । नयाँ विरुवा समेत उम्रेका छैनन । यही सुकेको जंगलमा ०६९ जेठमा पुनः भिषण डढेलो लाग्यो । १५ दिनसम्म लागेको डढेलो नियन्त्रण गर्न सेना परिचालन हुने प्रयास भएपनि दुर्गम पहाडी ईलाकामा ठूलो क्षेत्रफलमा फैलिएकोले सफल भएन । यो डढेलो आकासे झरी लागेपछि नियन्त्रणमा आएको थियो । त्यसैगरी ०४५ सालमा मुस्ताङ्गबाट हावाहुरीले ल्याएको आगोको लप्काले संसारकै सवै भन्दा ठूलो लालिगुराँसको जंगल अर्न्तगत म्याग्दीको शिख, हिस्तान, राम्चे र पर्वतको भुकदेउराली गाविसको ठूलो क्षेत्रफल वनमा डढेलो लागेको थियो ।