FLASH NEWS
  • Loading...

म्याग्दीको फलाटेमा हाईअल्टिच्युट चिया खेती सफल

  • पुनहिल डट कम
  • २ महिना अघि
  • ४७८ पटक पढिएको
म्याग्दीको फलाटेमा हाईअल्टिच्युट चिया खेती सफल

अन्नपूर्ण गाउँपालिका, ५ फलाटेमा चियाको परिक्षण खेती राम्रो भएको छ ।
समुद्र सतहदेखी २ हजार ४ सय ७० मिटर उचाईमा अवस्थित फलाटेमा स्थानीय केशबहादुर गौचनले ६ रोपनी क्षेत्रफलमा परिक्षणको रुपमा सुरु गरेको चिया खेतीले राम्रो उत्पादन दिन थालेको हो । गौचनको बगानमा उत्पादित ‘कालो चिया’ स्थानीय पर्यटकिय बजार घोरेपानी र शिखघार क्षेत्रमा पुख्यौली थलो भै हाल पोखरा तथा काठमाण्डौमा बसोबास गर्नेहरुले लैजाने गरेका छन ।


‘मैले कृषी अनुसन्धान परिषद (नार्क)बाट चिया र माटो विज्ञ ल्याएर अध्ययनपछि हाईअल्टिच्युटमा परिक्षणको रुपमा चियाखेती सुरु गरेको हुँ । खेती सफल देखियो, अव स्थानीयले पनि ढुक्कले चिया खेती विस्तार गर्न सक्छन’ अगुवा कृषक केश गौचनले भने, ‘पछिल्लो तीन बर्षदेखी स्थानीय र सहरका आफन्तलाई कोसेलीका रुपमा निःशुल्क बाँडियो । यो वर्षदेखी घरबाट सामान्य विक्री सुरु गरेपनि ब्यवसायीक उत्पादन भएको छैन ।’ गौचनले थपे, ‘स्थानीय र पर्यटकहरुले हाम्रो चियाको स्वाद रुचाएको प्रतिकृया पाएका छौं ।’

प्रख्यात पर्यटकीय गन्तब्य पुनहिल/घोडेपानी नजिकै उत्तरी मोहडा भएको फलाटेमा विषादी र रसायनिक मल समेत प्रयोग नगरिएको अर्गानिक चिया वास्तवमा ‘ब्लाक टि’ हो । ८ बर्ष अघि पाख्रीवासबाट बेर्ना ल्याएर सुरु गरिएको चिया खेतीबाट पछिल्लो ३ बर्षदेखी मुना टिप्न थालिएको हो । अहिले सिजनमा ५० केजीसम्म चिया उत्पादन भएको छ ।
राजधानी काठमाण्डौमा ब्यवसाय गर्दै आएका गौचनले पुख्यौली थलोमा खेर गएको वारीमा चिया खेतीसँगै दाँते ओखर खेती पनि थालेका छन । गौचनको चिया बगानको रेखदेख भने ८२ बषिया आमा रनदेवी गौचनले गर्दै आएकी छिन । आमा रनदेवीसँगै अन्य दुई जना स्थानीय कामदारले बगान रेखदेख र चिया टिप्ने, सुकाउने र तयार पार्ने गरेका छन ।


‘वास्तवमा मेरो वारीमा उत्पादित चिया ‘कालो चिया’ हो । हामीले यसलाई ‘ग्रिन टि’ बनाउने र प्याकेजिङ गर्ने सोच्दैछौं’ गौचनले भने, ‘खेती विस्तार गर्ने सोच्दैछु, छिमेकीहरुले पनि खेती विस्तार गरुन भन्ने चाहना छ । छलफल भैरहेको छ ।’