FLASH NEWS
  • Loading...

बाग्लुङकाे पञ्चकोटमा अनन्तश्री ब्राह्माण्डीय महायज्ञः तयारी पुरा

  • पुनहिल डट कम
  • २ महिना अघि
  • २६३ पटक पढिएको
बाग्लुङकाे पञ्चकोटमा अनन्तश्री ब्राह्माण्डीय महायज्ञः तयारी पुरा

बाग्लुङकाे सर्वसिद्धीधाम पञ्चकोटमा आयोजित अनन्तश्री ब्राह्माण्डीय महायज्ञको तयारी भएकाे छ ।

फागुन ९ देखि २३ गतेसम्म सञ्चालन हुन लागेको महायज्ञका लागि पञ्चकोटलाई सिङ्गार्नुका साथै मालढुङ्गाबाट पञ्चकोटसम्म स्वागत ढोका निर्माण साथै अन्य व्यवस्थापनलाई तीव्रता दिइएको छ ।

पञ्चकोटधाम स्थापनाको १०औँ वार्षिकोत्सवका अवसरमा  राष्ट्रसमुन्तति, विश्वशान्ति, प्रकृित, पर्यावरण र वातावरणा संरक्षण, श्रीनेपालका देवस्थल, तीर्थस्थल र धार्मिक पयर्टकीयस्थलकाे ब्यापाक प्रचार प्रसारगरी राष्ट्रिय अर्थतन्त्रकाे विकास गर्न एवं विश्व जलसम्पदा रक्षार्थ विश्वभरका  देवीदेवताकाे संकल्पसाथ  श्रीमुक्तिनाथपीठाधीश्वर स्वामीकमलानयनाचार्य संकल्पगत नेतृत्वमा ब्राह्माण्डीय महायज्ञको नेपालमै पहिलोपटक गर्न थालिएको हो ।

‘ भगवान मुक्तिनाथकाे अध्यक्षता, राष्ट्रदेव पशुपतिनाथकाे संरक्षकत्व, भगवान वुद्धकाे अाह्वानमा ब्रमाण्डका समस्त देवीदेवता, नदी, तीर्थलाइ कलशमा अाह्वानगरी पुजा अाराधना गरिने महायज्ञमा २५ फिट अग्लाे धान्यमाैलाेमा २१ हजार ५ सय ५५ क्वीन्टल धान अर्पण गरिने, संकल्पस्थलमा ५४ प्रकारका हवनीय द्रब्य, सवालाख श्रीफल हवन, वैदिक सद्शास्त्रहरूकाे पारायण, कथावाचन सहित १५ दिनसम्म विविध विधाका राष्ट्रिय विकास सम्मेलन गर्दैछाैं ’ महायज्ञस्थल पञ्चकाेटमा अायाेजित पत्रकार सम्मेलनमा बाेल्दै मुख्य संकल्पकर्ता श्रीमुक्तिनाथपीठाधीश्वर स्वामीकमलानयनाचार्यले भने, ‘ महाँयज्ञकाे सम्पुर्ण तयारी पुरा भएकाे छ । उद्घाटनमा राष्टपति सहभागी हुने र अन्य दिनमा क्रमश अन्य विशिष्ठ पाहुना अाउने याेजना छ ।’

महायज्ञका प्रवक्ता सुदर्शन प्रपन्नाचार्यका अनुसार उपस्थित हुने हजारौँ भक्तजनका लागि आवास, भोजनालय, लिङ्गा गाड्ने, आन्तरिक व्यवस्थापन तयारी पूरा भएको छ । त्यस्तै  उनका अनुसार महायज्ञको पहिलो दिन मुक्तिनाथबाट त्रिवेणी धामसम्मका एक सय आठजना नौ वर्षका कन्याले उद्घाटन गर्नेछन् । कालीगण्डकीको तिरबाट शिरसम्मका कन्याको व्यवस्थापनसमेत गरिसकेको उनको भनाइ छ । महायज्ञमा नौ कन्याको उचाइ बराबरका नौवटा मौलामा धान, चामल, गहुँ, मकै, चना, तिल, जौँ, सर्सिउँ र मासको रहने छन।

सर्वसिद्धिधाम पञ्चकोट विकास परिषद्का निवर्तमान अध्यक्ष स्वामी ऋषि प्रपन्नचार्यले महायज्ञले धार्मिक चेतना फैलाउनुका साथै पञ्चकोटको विकासका लागि महत्त्वपूर्ण भूमिका खेल्ने बताए । करिब नौ वर्षदेखि निर्माणाधीन अवस्थामा रहेको पञ्चकोटलाई विश्वको धार्मिक गन्तव्यका रुपमा विकास गर्नका लागि लामो समयदेखि यहाँ काम गर्दै आएको उनको भनाइ छ । विभिन्न समयमा महायज्ञ सञ्चालन गरेर र विभिन्न सरोकारवाला निकायको सहयोगमा हालसम्म पञ्चकोटमा रु ५० करोड लगानी भइसकेको भन्दै अझै करोडौँको संरचना बनाउन थालिएको ऋषि प्रपन्नचार्य बताउँछन् ।

पन्ध्र दिनसम्म सञ्चालन हुने महायज्ञमा हजारौँ धार्मिक पर्यटक भित्र्याउन लक्ष्य राखिएको छ । यस महायज्ञका परिकल्पनाकार एवं पञ्चकोटधामका संस्थापक स्वामी कमलनयनाचार्यले यो महायज्ञ निकै महत्त्वपूर्ण भएको हुँदा सबैको सहयोगको आवश्यक पर्ने बताए ।