FLASH NEWS
  • Loading...

विद्यालयका नयाँ भवन थपिँदै, विद्यार्थी घट्दै, कक्षा रित्ता बन्दै

  • पुनहिल डट कम
  • ३ महिना अघि
  • २३६ पटक पढिएको
विद्यालयका नयाँ भवन थपिँदै, विद्यार्थी घट्दै, कक्षा रित्ता बन्दै

शहरी क्षेत्रमा मात्र होईन सडकसँगै रड, सिमेन्ट र आधुनिकता म्याग्दीका गाउँ–गाउँछिरेपछि विद्यालयहरुको स्वरुप (मुहार) फेरिन थालेका छन ।
परम्परागत शैलीका स्कुल भवनहरु धमाधम भत्किदैछन, नयाँ आरसिसि भवन बन्ने होडबाजी छ । तर विद्यालय भवनको स्वरुप फेरिदैमा शैक्षिक गुणस्तर खस्कदो र विद्यार्थी संख्या घट्दो क्रममा छ । सामुदायीक विद्यालयमा विद्यार्थी संख्या हृवात्तै घटेपछि बेनी नगरपालिकाले ११ वटा विद्यालयको तह समायोजन (कक्षा घटुवा) गरेको छ ।
सदरमुकाम नेरोफेरोका यि विद्यालयका अधिकांश कक्षा शुन्य विद्यार्थी थिए । बेनी नगरपालिकामा मात्र होईन बसाई सराई तिव्रहुँदा जिल्लाका अधिकांश सामुदायीक विद्यालयका कक्षा कोठा रित्ता बन्न थालेका छन । भब्य विद्यालय भवन, इन्टरनेट, विधुत, खानेपानी, शौचालय, कम्प्युटरसहितको पूर्वाधार गाउँमै उपलब्ध भएपनि गाउँका विद्यालयबाट बर्षेनी विद्यार्थी घटीरहेका छन ।
बेनी नगरपालिका शिक्षा शाखाको अभिलेख अनुसार चालु शैक्षिक सत्रमा बेनी नपा, ५ गाजने स्थित ३ कक्षासम्म अध्यापन हुने जगन्नाथ आधारभुत विद्यालयमा विद्यार्थी संख्या दुई जना र शिक्षक दरवन्दी तीन जना रहेपछि घटुवागरी वालविकास केन्द्रमा झारिएको छ ।
त्यसैगरी बेनी नपा, १ स्थित युवावर्ष आधारभुत विद्यालयको कक्षा ५ मा जम्मा विद्यार्थी संख्या १ जना मात्र रहेको उक्त कक्षा खारेजगरी ४ कक्षासम्म झारिएको छ । ८ कक्षासमम अध्यापन अनुमति प्राप्त हंशबाहिनी आधारभुत विद्यालयमा कक्षा ७ र ८ शन्य विद्यार्थी रहेपछि घटुवागरी ५ कक्षामा झारिएको छ । समस्याग्रस्त ११ विद्यालयको कक्षा घटुवा गर्ने र बढी भएका शिक्षकलाई अर्को विद्यार्थी धेरै भएका विद्यालयमा स्थानन्त्रण गरेको नगरपालिकाले जनाएको छ ।
अहिलेकै अनुपातमा विद्यार्थी घट्दै जाने हो भने, केही बर्षमै ग्रामिण भेगका प्रायः विद्यालय बन्द हुन्छन । जिल्लाको पुरानो मध्य एक मानिएको धवलागिरी माध्यामिक विद्यालय, जिल्लाको सुगम वस्ती रत्नेचौर स्थित भानु माध्यामिक विद्यालयमा विद्यार्थी संख्या अति न्यून छन । माध्यामिक तहका विद्यालयका कुनै कक्षा कोठा रिक्ता त कुनैमा २–३ जना विद्यार्थी मात्र राखेर अध्यापन गराउने गरिएको छ ।
‘तिब्र बसाई सराई, अभिभावकको निजी विद्यालय तर्फ आकर्षण, अभिभावकको विश्वास जगाउन नसक्नु, अंग्रेजी माध्यमबाट पठनपाठन गर्नु नसक्नुले सामुदायीक विद्यालय संकटमा पर्न थालेका छन । विषयगत शिक्षक नपाउनु अर्को समस्या भएको छ’ बेनी नगरपालिका शिक्षा अधिकृत कमल ढकालले भने, ‘अव विद्यालय शिक्षामा भैरहेको लगानी र ब्यवस्थापनमा पुनःविचार गर्न आवश्यक छ । पुनःसंरचना गर्नु पर्ने भएको छ ।’
यी उदाहरण मात्र हुन, बेनी नगरपालिकामा माक्र होईन जिल्लाका अधिकांश सामुदायीक विद्यालयमा विद्यार्थी संख्या निरन्तर घट्दै गएकोले कक्षा कोठा रित्ता बन्न लागेका छन । मालिका गाउँपालिकाका शिक्षा अधिकृत असोक रिजालका अनुसार ३ कक्षासम्म संञ्चालन भएको विद्याज्योति आविमा जम्मा ५ जना र सोही गापा, ६ दिच्यामस्थित सिद्ध आविमा जम्मा ३ जना मात्र विद्यार्थी अध्ययनरत छन । तर विद्यालयहरुमा शिक्षक दरवन्दी भने ३–३ जनाको छ ।
‘पालिकाका केही आधारभुत तहका विद्यालय र केही मावि तहकै विद्यालयमा पनि विद्यार्थी संख्या अति न्यून छन । वस्तीको नजिकै अर्को विद्यालय नभएकोले विद्यालय मर्जर वा तह घटुवा गरिहाल्ने अवस्था पनि छैन’ मालिका गापाका शिक्षा अधिकृत असोक रिजालले भने, ‘भौगालिक रुपमा छरिएका वस्तीमा समस्या छ । राज्यले छरिएका विद्यालयहरु एकिकृतगरी आवसिय शिक्षा दिन सकेमाक्र शिक्षकले रित्ता कक्षा कोठा रुग्नु पर्ने समस्या हल हुनसक्छ ।’
निरन्तर विद्यार्थी संख्या घट्दै गएपछि रघुगंगा गाउँपालिकाले पनि तह समायोजन गरेको छ । रघुगंगा गापा, ८ कुईने स्थित कुईने आधारभुत विद्यालयको कक्षा ६–८ तहलाई नजिकको रितुङ माविमा र वडा नं १ बान्दुक स्थित कृष्ण आधारभत तहको कक्षा ६–८ तहलाई कालिका माध्यामिक विद्यालय तिप्ल्याङमा समायोजन गरेको छ ।
त्यस्तै विद्यार्थी संख्या घट्दै गएर कक्षा कोठा रिक्ता बन्न थालेपछि मंगला गाउँपालिकाले आधारभुत तहको कक्षा १–५ लाई नजिकका विद्यालयमा मर्जर गर्ने र शिक्षक ब्यवस्थापन गर्ने प्रकृया सुरु गरेको जनाएको छ ।
‘विद्यार्थी भर्ना संख्या नै अति न्यून वा शुन्य हुन थालेपछि विद्यालय बन्द गर्नु पर्ने वा तह घटुवागरी शिक्षकहरु समायोजन गर्नु पर्ने भएको छ । चैतसम्म मर्जर गर्नु पर्ने, तह समायोजन गर्नु पर्ने वा घटुवा गर्नु पर्ने विद्यालयको लिष्ट तयारपारी आगामी शैक्षिक सत्रदेखी कार्यान्वयनमा लैजान्छौं’ मंगला गाउँपालिकाका शिक्षा शाखा प्रमुख डिल्लीरमण सुवेदीले भने, ‘अहिले छलफल र विभिन्न इन्डिकेटरमा राखेर लेखाजोखा गर्ने काम भैरहेकोले समाायोजना हुने विद्यालयको संख्या र नाम भन्न सकिने अवस्था छैन ।’