FLASH NEWS
  • Loading...

बेनीमा नवौं राष्ट्रिय योग दिवस मनाइयो

  • पुनहिल डट कम
  • ३ महिना अघि
  • १६० पटक पढिएको
बेनीमा नवौं राष्ट्रिय योग दिवस मनाइयो

‘गरौं योग, रहौं निरोग’ भन्ने मुल नारा सहित सोमबार नवौं राष्ट्रिय योग दिवस म्याग्दीमा पनि मनाईएको छ ।
आयुर्वेद श्वास्थ्य केन्द्र बेनीको योग प्रशिक्षण हलमा आर्युवेद श्वास्थ्य केन्द्र ब्यवस्थापन समितिका अध्यक्ष जीवन कुमार विश्वकर्माको अध्यक्षतमा सिमित कर्मचारी र स्थानीय महिलाहरु सहभागीतामा आधारभूत योग तालिमसहित योग दिवस मनाईएको हो ।


योग के हो ?

योगको अर्थ जोड्नु भन्ने लाग्छ। वास्तवमा अनात्मबाट आत्मालाई छुट्याएर परमात्मासँग जोड्नु नै योग हो।

पतञ्जलीको योग दर्शनमा भए अनुसार योग त्यो प्रयत्न हो, त्यो साधना वा अभ्यास हो, जसको माध्यमले चित्त र इन्द्रीयलाई वशमा गरिन्छ। यसरी चित्तमा आउने विकार रोक्नु नै योग हो। शरीर, इन्द्रीय, मन, बुद्धि र अहंकारमाथि विजय प्राप्त गरेपछि आत्माको शुद्ध स्वरुप पाउन सकिन्छ र त्यही शुद्ध स्वरुप प्राप्त गर्ने माध्यम नै योग हो।

वेद, उपनिषद्, स्मृति र पुराणमा योगको उल्लेख पाइनुले योग प्राचिन ऋषिमुनिहरूको अनवरत तपस्या र साधनाबाट विकसित भएको मान्न सकिन्छ । गोरखनाथको नाथ सम्प्रदायमा पनि योगको यति आदर गरिन्छ कि त्यस सम्प्रदायलाई योगी सम्प्रदाय भनिन्छ।

यसरी योग हरेक धर्म र सम्प्रदायमा लोकप्रिय रहेको पाइन्छ। योगका चार प्रकारहरू पाइन्छन्। ती हुन्— मन्त्रयोग, लययोग, हठयोग र राजयोग।

योगदर्शनका प्रतिपादक ऋषि पतञ्जली हुन्। त्यसैले योग दर्शनलाई पतञ्जली योग पनि भनिएको हो। भारतीय तथा पश्चिमाहरूले योगलाई योगा (Yoga) भन्ने गर्छन्।

योग दर्शनले मुक्ति प्राप्तिका लागि ८ वटा मार्गहरू (अष्टाङ्ग योग) उल्लेख गरेको छ। ती हुन्,

यमः हिंसा, चोरी, लोभ आदि नगर्नू अर्थात अहिंसा, सत्य, अस्तेय, ब्रम्हचर्य र अपरिग्रह।

नियमः ५ नियमहरूको पालना गर्नु जस्तै–शौच, सन्तोष, तप, स्वाध्याय र ईश्वरप्रति विश्वास गर्नु।

आसनः मन एकाग्र गरी आनन्दको अनुभूति गर्नु।

प्राणायामः श्वास प्रश्वास नियन्त्रण गरी मनलाई एकाग्र राख्नु।

प्रत्याहारः इन्द्रीयको कुप्रभाव मनमा पर्न नदिनु।

धारणः अन्तरनिहित वस्तुको पहिचानमा मन लगाउनु।

ध्यानः निश्चित विषयमा एकाग्रतापूर्वक सोच विचार गर्नु।

समाधिः सम्पूर्ण चेतनालाई खिचेर आत्मामा लिन गराउनु। उल्लेखित यस्ता उपायहरूद्वारा मुक्ति मिल्दछ भन्नु योगदर्शनको मुख्य मर्म हो।