FLASH NEWS
  • Loading...

१३ बर्षपछि घर फर्कदै द्वन्द्वकालिन विजुलीको पोल

  • पुनहिल डट कम
  • ४ महिना अघि
  • ३९९ पटक पढिएको
१३ बर्षपछि घर फर्कदै द्वन्द्वकालिन विजुलीको पोल

०६० चैत ७ गते तत्कालिन शसस्त्र विद्रोही नेकपा माओवादीले म्याग्दी सदरमुकाम बेनी आक्रमण गर्दा भएको भिडन्तमा क्रसफायरमा परेको विधुत पोल विहिवार बेनी फिर्ता हिंडाईएको छ ।
०६७ असोज २१ गतेदेखी ललितपुरको पाटनढोका स्थित मदन पुरस्कार पुस्तकालयले बेनीबाट पाटनढोका स्थित यलमायाँ केन्द्रमा रहेको उक्त पोल १३ बर्ष पछि मदन पुरस्कार गुठीले विहिवार बेनी नगरपालिकाका प्रतिनिधीलाई हस्तान्त्रण गरेको हो । पुस्तकालयका अध्यक्ष कनकमणी दीक्षितले यलमायाँ केन्द्रको आगनमा रहेको उक्त पोल उक्काएर बेनी नगरपालिकाका प्रतिनिधीलाई हस्तान्त्रण गरेका थिए ।


उक्त पोल विहिवार नै म्याग्दी कोरोला यातायातको ना ७ ख् ७२७१ नम्बरको रात्री बसरमा घर फिर्ता गर्न लागिएको बेनी नगरपालिका प्रमुख सुरत केसीले बताए ।
बेनीको मंगलाघाट बजार छेउमा रहेको नेपाली सेनाको तत्कालिन समयमा कालीप्रसाद गण (ई)छेउमा रहेको विजुलीको पोलमा भिडन्त क्रममा सयौं गोली लागी प्वाल नै प्वाल परेको अवस्थामा रहेको थियो । भिडन्तकाबेला क्रसफायरमा परि छियाछिया भएको विजुलीको उक्त विधुत पोल मदन पुरस्कार पुस्तकालयले बेनीबाट पाटनढोका पुर्‍याएर सुरक्षित गरेको थियो ।


पुस्तकालय अध्यक्ष दीक्षितले ट्वीट गर्दै ‘द्वन्द्वकालको अवशेष बेनीको खम्बाको बेनी पुनरागमन हुँदै आज’ भन्दै पोल यलमायाँ कन्द्रबाट उखेल्न, गाडीमा लोड गर्न र हस्तान्त्रण गरेको उल्लेख गरेका छन । बेनी नगरपालिकाले ७ नम्बर वडाको विरेन्द्रचोकमा निर्माण गर्न लागेको शान्ति पार्कमा ‘द्वन्द्वकालिन युद्ध स्मारक’ को रुपमा संरक्षित गर्न चाहेकोले पोल फिर्ता गरिदिन जिल्ला समन्वय समिति मार्फत मदन पुरस्कार पुस्तकालाई पत्राचार गरेको थियो ।


त्यस अघि जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, उपप्रमुख दिलकुमारी खत्री पाटनढोका स्थित मदन पुरस्कार पुस्तकालयमै पुगेर अध्यक्ष दिक्षितलाई भेटी बेनीबाट ललितपुर पुर्‍याईएको उक्त पोल फिर्ता गर्न आग्रह गरेका थिए । बेनी नगरपालिकाका मेयर सुरत केसीले पनि छट्टै पोल फिर्ता ल्याउन पहल गर्नुको साथै शान्त पार्क बनाउने र पोल राख्ने बजेट सुनिश्चित गराएका थिए । नगरपालिकाले बेनीको विरेन्द्रचोक नजिक १० रोपनी क्षेत्रफलमा शान्ति पार्क एवं वालउद्यान बनाउन लागेको छ ।
‘फिर्ता ल्याउन लागिएको विजुलीको पोललाई ०६० चैत ७ गते विद्रोही र नेपाली सेना विच भिडिन्त भएकै स्थानमा राखिने छ । यहाँ पोल बाहेक सो युद्धमा प्रयोग भएको बंकर समेत रहेकोले यी युद्धकालिन बस्तुहरुको संरक्षण र प्रर्दशनी गर्ने गरी नगरपालिकाले योजना बनाएको छ ’ बेनी नगरपालिका प्रमुख सुरत केसीले भने, ‘आज पोल घर फिर्ता फर्कन हिंडेको छ । शुक्रवार विहान आई पुग्ला त्यसपछि पोललाई संरक्षणमा राख्छौं ।’
नेपालको राजनितीमा कोत पर्व, भण्डारखाल पर्वहुँदै नेपाल एकिकरणका वेला भएका युद्धहरु भए । नेपालका विभिन्न भागमा वेलायती (इष्टइन्डीया कम्पनी)ले गरेका आक्रमण र युद्धपछि नेपाल लगभग १८० बर्षसम्म शान्तपूर्ण थियो । ०५२ साल फागुन १ गतेदेखी नेकपा माओवादीले सुरु गरेको छापामार युद्धले नेपाली समाजलाइ द्वन्द्वग्रस्त बनायो । नेपाली माटो नेपालीकै रगतले भिज्यो ।


माओवादीले सुरु गरेको शसस्त्र विद्रोह नेपालको आर्थिक असमानता र सामाजिक अन्याय सामान्ती राज्यसत्ताका अवयवहरु मात्र भत्काएन नेपाली आत्मा र सद्भावलाई पनि छियाछिया पारेको थियो । द्वन्द्वकालिन विद्रोही र राज्य पक्षको लडाईको चुपुवामा परी छियाछिया परेको यस विजुलीको पोलले युद्ध कति घातक हुन्छ भन्ने सन्देश दिएको छ ।
पुस्तकालयका अध्यक्ष कनकमणी दिक्षितले आफ्नो ‘देखेको मुलुक’ पुस्तकमा लेखे अनुसार माओवादीले ०५२ सालदेखी शशस्त्र विद्रोहको तयारी ललितपुरको पाटनढोकामा रहेको दिक्षित परिवारको एक घरमा रहेको ‘राष्ट्रिय जनमोर्चा’ को कार्यालयमा बसेर बनाएका थिए । शसस्क्र विद्रोहको योजना र खाका बनाएकै क्षेत्रमा माओवादीले गरेको बेनी आत्रमणमा छियाछिया परेको विजुलीको पोल लगेर राखिएको थियो ।


०५२ देखी ०६२/०६३ सालसम्मको शसस्त्र द्वन्द्वकालमा युद्धको परिणाम स्वरुप नागरिक, विद्रोही, सेना, प्रहरी लगाएत १७ हजारबढी ब्यक्तिको मृत्यु भएको थियो । बेनी आक्रमण गर्न माओवादीका फहिलो विग्रेड, सतवेरिया दोस्रो विग्रेड, लिस्ने–गाम तेस्रो र बासुस्मृति चौंथो बिग्रेडका ९ वटा वटालियनका ४ हजार ५ सय लडाकी र १ हजार ९ सय स्वयंसेवकले बेनीमा आक्रमण गरेका थिए । माओवादीले गरेको बेनी आत्रमणमा ६६ वटा एके–४७ राईफल प्रयोग गरेका थिए ।


नेपाल सरकार र नेकपा (माओवादी)ले २०६३ सालमा अन्तर्राष्ट्रिय कानुनका केही प्रमुख सिद्धान्तहरूको पालना तथा सम्मान गर्ने कुरामा प्रतिबद्धतासहित विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए । जसमा द्वन्द्वका समयमा भएका घटनाका सम्बन्धमा सत्यतथ्य थाहा पाउने र अन्तर्राष्ट्रिय मानवअधिकार कानुन तथा मानवीय कानुनको गम्भीर उल्लङ्घनका पीडितहरूले न्याय र परिपूरण दुबै पाउने कुराको सुनिश्चित गर्ने लगायतका कुराहरू अझै टुङ्गो लागेको छैन ।