FLASH NEWS
  • Loading...

बेनी-जाेमसाेम सडककाे काप्रेभीरमा मोटरसाईकल दुर्घटनामा जर्मन पर्यटकको मृत्यु

  • पुनहिल डट कम
  • ५ महिना अघि
  • ४५५ पटक पढिएको
बेनी-जाेमसाेम सडककाे काप्रेभीरमा मोटरसाईकल दुर्घटनामा जर्मन पर्यटकको मृत्यु

बेनीहुँदै जोमसोम तर्फ मोटरसाईकलमा सवार जर्मन नागरिक म्याट्रेड वि (Mantred B) को दुर्घटनामा परी मृत्यु भएको छ । बेनी–जोमसोम सडक अर्न्तगत पर्ने अन्नपूर्ण गाउँपालिका, ३ काप्रेभीरबाट मोटरसाईकल अन्दाजी ८० मिटर तल कालीगण्डकीमा खसेको थियो ।

चालक भने सडकदेखी अन्दाजी ६० मिटर तल भीरमा अल्झेका थिए । उद्धारकर्मीले फेला पार्दा म्याट्रेडको मृत्यु भैसकेको उद्धारमा संलग्न जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक कुमार गुरुङगले बताए । उनको शव राती २ बजे बेनी अस्पतालमा ल्याईएको छ ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार चार जना स्पेनिस र ११ जर्मन गरी १५ जना मोटरसाईकल राईडरहरु विहिवार पोखराबाट बेनीहुँदै मुक्तिनाथ यात्रामा निक्लेका थिए । सवार मध्य कुन मोटरसाईकल, कति वेला दुर्घटनामा परेको हो, यकिन भएको छैन । मोटरसाईकल धेरै तल कालीगण्डकीमा खसेकोले नम्बर प्लेट र कम्पनीको नाम खुलेको छैन ।

दुर्घटना साँझ ७ बजे तिर भएको अनुमान छ । दुर्घटनामा उद्धार गर्न मुस्ताङबाट आएको सेना, बेनीबाट गएको प्रहरी तथा शसस्त्र र बाग्लुङबाट विपद उद्धार टोली परिचालन भएको थियो । भीरमा अल्झेका पर्यटकलाई उद्धार गर्न साँझ ८ बजेबाट राती १२ बजेसम्म लागेको पनि प्रहरीले जनाएको छ ।

‘बेनी–जोमसाोम सडकको म्याग्दी–मुस्ताङ सीमावर्ती काप्रेभीरबाट मोटरसाईकल तल कालीगण्डकीमा खस्दा एक जर्मन पर्यटकको मृत्यु भएको छ । चालक भीरमा मृत अवस्थामा फेला परेका थिए, उनले चलाएको मोटरसाईकल अझ धेरै तल कालीगण्डकीमा खसेकोले भेटिएन । दुर्घटनाको समय खुलेको छैन’ उद्धारबाट फर्केका प्रहरी निरिक्षक कुमार गुरुङले भने, ‘चालक मृतक जर्मन नागरिकका अन्य साथीहरु मुस्ताङको लेते पुगेको र अहिले शुक्रवार विहान बेनी अस्पतालमा आउने जानकारी प्राप्त भएको छ ।’