FLASH NEWS
  • Loading...

यसरी गरिन्छ हुलाकका चिठीपत्र ट्रयाकिङ

  • पुनहिल डट कम
  • ५ महिना अघि
  • १४७ पटक पढिएको
यसरी गरिन्छ हुलाकका चिठीपत्र ट्रयाकिङ

संञ्चार प्रविधीको तिब्र विकासले प्रभावहीन बनेको हुलाक सेवाले फेरी सेवाग्राहीको विश्वास फर्काउन थालेको छ ।
हुलाक सेवाले आफ्नो परम्परागत शैलीमा सुधार गरी ब्यवस्थित र आधुनिक बनाउने प्रयत्न थालेपछिब्यक्तिगत, सरकारी कार्यालय, अदालती, बैंक तथा वित्तिय संस्था र अन्य निकायका परिपत्रहरु तथा पार्सलहरु हुलाकबाट पठाउनेको संख्या बढ्न थालेको छ । हुलाक सेवा इ–ट्रयाकिङ सिस्टममा गएपछि सेवाग्राहीको भरोसा बढेको हो । अहलिे कुनै पत्र हुलाकबाट रजिष्ट्री गरेपछि उक्त पत्र कुन ठाउँमा पुग्यो, प्रापकले प्राप्त गरे/नगरेको प्रेषकले घरबाट हेर्न सकिने भएको छ ।
‘कार्यक्रम र बजेट नहुने भएकोले कर्मचारी आर्कषण छैन । तर हुलाक सेवाले आफ्नो क्षमता र गुणस्तरमा भने ब्यापक सुधार गरेको छ । एउटा चिठीको अव जिपिएस ट्रयाकिङ गर्न सक्ने अवस्थामा हामी छौं । प्रापककै हातमा चिठी पुग्ने कुरा ग्यारेन्टी हुन्छ, त्यो पनि सिस्टममा अपडेट हुन्छ’ जिल्ला हुलाक कार्यालयका निमित्त प्रमुख रमेश अधिकारीले भने, ‘हुलाक सेवा प्रति सेवाग्राहीको विश्वास बढेको छ । ब्यक्तिगत चिठीपत्र भन्दा पार्सलहरु हुलाकबाट पठाउने चलन बढी छ । हामीले राहदानी मागेका छौं, सरकारले अनुमति दिए हामीले सेवाग्राहीको घरमै पुर्‍याउन सक्षम छौं ।’
हुलाक सेवा सस्तो, भरपर्दो र विश्वासिलो बनेपछि विदेशमा रहेका नेपाली तथा ब्यापारीहरुले समेत सानातिना सामानहरु हुलाकबाट पठाउन थालेका छन । न्यून बजेट रहने हुलाकमा कर्मचारीहरुको आर्कषण घटेपनि भरपर्दो सेवामा सेवाग्राहीको विश्वास भने फेरी बढ्न थालेको छ । केही बर्ष अघिसम्म ५–७ वटा मात्र चिठीपत्र मात्र दर्ता हुने हुलाकमा अहिले दैनिक १५–२० वटा पत्र दर्ता हुन थालेका छन । सरकारले समेत राहदानी जस्तो संवेदनशिल सामाग्री समेत हुलाक सेवाबाटै राजधानीबाट जिल्लामा पठाउने गरेको छ ।
हुलाक कार्यालयका अनुसार एउटा चिठी रजिष्ट्रीगरी पठाउँदा न्यूनतम ४० रुपैयाँ लाग्छ । त्यसमाथी चिठीमा राखिएको सामाग्रीको प्रकार र तौलको आधारमा मुल्य निर्धारण हुन्छ । बेनीबाट पठाएको एउटा चिठी बढीमा तीन दिनमा काठमाण्डौ पुग्छ, पाँचौ दिन प्रापकको हातमा पुग्ने गरेको दावी हुलाक कार्यालयले गरेको छ ।
यसरी आफैले गर्न सकिन्छ चिठीपत्रको ट्रयाकिङ
अहिले देशभरका हुलाकहरु इन्टरनल पोष्टल ट्रयाकिङ सिस्टममा जोडिएका छन । प्रेषकले कुनै हुलाक कार्यालयमा पुगेर चिठीपत्र रजिष्ट्री गरेपछि हुलाकले अँग्रेजी क्यापिटल अक्षरका आरडि अनी विचमा ९ अङ्ढ र पछाडी अंग्रेजी क्यापिटल अक्षर एनपी भएको एउटा रजिष्टर्ड नम्बर दिन्छ । सोही नम्बरलाई हुलाक सेवाको जिपिएस डट जिओभी डट एनपी वेभसाईट खोलेपछि सर्च बारमा हुलाकले चिठीपत्र रजिष्टर्ड गर्दा दिएको सुरुका दुई वटा अंग्रेजी क्यापिटल अक्षर आरडी विचमा ९ अङ्ढ र पछाडी अंग्रेजीकै दुई अक्षर एनपी टाईपगरी सर्च गरेपछि तपाईको चिठीपत्र कहाँ पुग्यो, प्रापाकले प्राप्त गर्‍यो वा फिर्ता पो भयो कि भन्ने घरबाट हेर्न सकिन्छ । तर जिल्ला भित्रका आन्तरिक चिठीपत्र यसरी प्रेशक वा रजिष्टर्ड चिठी दर्ताको नम्बर बाहकले घरबाट हेर्न सक्दैनन । सम्बन्धीत हुलाक कार्यालयमा पुगेर भने हेर्न सकिन्छ ।
जिल्ला हुलाक कार्यालय म्याग्दीकी चिठीपत्र एजेन्ट (हल्करा) सुमिता श्रेष्ठका अनुसार उदाहरण ः म्याग्दीको कुनै हुलाक कार्यालयमा दर्ता भएको चिठीपत्र प्रापकको ठेगाना भएको जिल्लाको मुख्य चिठीपत्र वितरण केन्द्र (मेल सेन्टर)ले रिसिभ गरेपछि उस्ले आफ्नो भुगोलको क्षेत्र (रुम)मा पठाउँछ । रुमले पत्र एजेन्ट (हल्करा/चिठी वितरण गर्ने कर्मचारी) मार्फत चिठी प्रापककोमा पुग्छ । चिठी बुझाएपछि एजेन्ट/हल्कराले चिठीपत्र बुझाएको वा फिर्ता भएको ब्यहोरा सिस्टममा प्रविष्ट गर्छ । यसरी चिठीपत्र कुन दिनमा कहाँ पुग्यो हेर्ने गरिन्छ ।
बैंक/वित्तिय संस्थाका पत्रले भरिन्छन, हुलाकी झोला
ब्यक्तिगत चिठीपत्र हुलाकबाट आदान–प्रदान गर्ने युग समाप्त भएपनि अदालत, बैंक तथा वित्तिय संस्थाले ‘कानुनी प्रकृया’ पुर्‍याउनै पर्ने पत्रहरु भने हुलाकबाट पठाउने गर्छन । थोरै संख्यामा पत्रपत्रिकाहरु पनि गाउँका विद्यालय र पालिकाहरुमा हुलाकबाट पठाउने गरिएको छ । हुलाकबाट चिठी पठाएपछि मात्र कानुनी प्रकृयाको थालनी हुने भएकोले हुलाकका डाँक थैली/झोला बैंक तथा सहकारीहरुले लाभग्राही ‘ऋणी’लाई पठाउने पत्रहरुले भरिने गरेका छन ।
‘हुलाकमा सहरबाट गाउँ जाने डाँकथैली भरी हुन्छन । कहिलेकाहीं त भारी नै हुन्छ । तर गाउँबाट सहर झर्ने थैली भने रित्ता हुन्छन । हाम्रा डाँक थैली पहिला–पहिलो प्रदेशमा रहेका आफन्तले पठाएका धनादेशले भरिन्थ्यो, आजभोली कि अदालतका म्याद तामेली हुन्छ कि बैंक, सहरकारी र लघुवित्त कम्पनीले पठाएका ऋणी असुलीका ताकेता पत्रले भरिन्छन’ ३३ बर्षदेखी हल्कराको काम गर्दै आएका चन्द्रबहादुर केसीले भने, ‘हुलाकबाट पठाएको पत्र सम्बन्धित प्रापकले नै पाउँछ भन्ने ग्यारेन्टी हुने भएकोले कानुनी विधी पुरा गर्न पनि हुलाकबाटै पत्र पठाउने चलन छ ।’ केसीले थपे, ‘पहिला पहिला सवैले चिठी आए खुशी हुन्थे । आजभोली चिठीका प्रापक खोज्दै गयो, गाउँलेले पनि शंकाको आंखाले हेर्छन, प्रापकहरु पनि भाग्न खोज्छन ।
हुलाक सेवामा कार्यरत कर्मचारीले साविकका गाविस अहिले पालिकाको एउडा वडामा रुपान्तरित भएकोले चिठीपत्र बुझाउन भने समस्या हुने गरेको गुनासो गरेका छन । पहिला वडा तह सानो टोलमा सिमित थियो अहिले क्षेत्रफल ठूलो बनेकोले प्रापक पहिचान गर्न कठिनाई भएको र पत्र बुझाउने समय लम्बिएको उनीहरुको अनुभव छ ।