FLASH NEWS
  • Loading...

‘च्याङ्ग्रा ट्रेल’मा फेरिँदाे, ‘ब्यापार ट्रेन’

  • पुनहिल डट कम
  • ६ महिना अघि
  • २२८ पटक पढिएको
‘च्याङ्ग्रा ट्रेल’मा फेरिँदाे, ‘ब्यापार ट्रेन’

सडक संरचनाले हिमाली क्षेत्रसम्म यातायात संचालन भएपछि मुस्ताङी खसी (चेलुक, च्याङ्ग्रा) पाेखराहुँदै काठमाणडाै, वुटवलसम्म पुग्ने तिब्बती ‘च्याङ्ग्रा ट्रेल’मा अहिले ढुवानीका साधन, व्यापारी भने फेरिएका छन् । दुइ दशक अघिसम्म मुस्ताङगी खसी राजधानी पुग्दैनथे । म्याग्दी, बाग्लुङ र पाेखरा क्षेत्रबाट राजधानी बसाइ सरेका बाहेक राजधानीमा मुस्ताङी थकालीकाे घरमा मात्र पुग्थ्याे । तर अहिले यहाँका बस्तीमा भन्दा धेरै राजधानी पुग्छन ।

नेपाली भान्छामा दसैंसँगै जोडिने खान्की हो मासु । महंगो भए पनि एक छाक त हो भन्दै चेलुकच्यांग्राको मासु खोज्ने धेरै हुन्छन् । दसैं गाउँवस्ती देखी सहरका घर–घरमा खसीबोका र भेडाच्यांग्राको व्यापार बढेको छ । म्याग्दी, बाग्लुङ्ग, पर्वतका गाउँवस्ती हुँदै पोखरा, वुटवल, काठमाण्डौ समेतका सहरका प्रायः घरमा दशैंकालागी च्याङ्ग्रा, चेलुक बाँधिएको छ । न्यून आय भएका परिवारले पनि रमा (च्याङ्ग्री) भएपनि राखेका छन । महंगीले गर्दाएकै परिवारले मात्र सिंङ्गो खसी खान नसक्ने अवस्था भएकोले छिमेकी परिवार मिलेर खसी बाँधेका छन । यहाँको समाजमा माशुलाई किलोमा तौलेर भन्दा चार खुर (चार खुट्टा)को आधारमा भागविलो लगाएर मासु खाने चलन छ ।

‘उसवेला सवै अहिले जस्ताे सवै तिर सहजै मासु पाइन्नथ्याे । कुखुरा, बंगुर र वफकाे मासु अहिले सवै जातीसमुदायमा सहज सेवन गर्छन त्याे बेला खसी, बाेका बाहेक  अरू मासु वर्जित भएकाेले दशैंमा मात्र मासु खाने हुन्थ्याे । महिनाैं हिंडाएर ल्याउने भएकाले खसीलाइ धेरै टाढा पुर्याउन संभव थिएन । यतैका वस्तीमा बेच्थे । यति धेरै ल्याउँथेकी कति खसी त बाटाे छाेडेर बस्तीका घरमा पस्थे, कतिले बाँकाे समेतका कुरा खुवाएर खसी चाेर्थे पनि । मासुकाे मुल्य पनि सस्ताे भएकाेले सवै घरमा प्रशस्त मासु हुुन्थ्याे ’ अन्नपूर्ण गाउँपालिका, ६ घारका भुपेन्द्रबहादुर खड्काले भने, ‘अाजभाेली कुखुरा, बाख्रा घरघरमै पाल्छन, फ्रेसहाउसमा सवै समय कुखुराकाे मासु पाइने भएकाेले खसीकाे मासुकाे महत्व कम भएकाे छ । त्यै अझै दशैंमा मुस्ताङ्गी च्याङ्ग्राकाे मासु खाेजीखाेजी खाने चलन हटेकाे छैन ।’

कुनै बेला मुस्ताङ हुँदै तिब्बती नुन र पाल्पा हुँदै मधेशको सामानको (भोट–मधेश) बस्तु भेडा–च्यांग्रामा बोकाएर व्यापार गर्ने ‘साल्ट ट्रेड रुट’ थियो । अन्नपूर्ण–धवलागिरी बीचको कालीगण्डकी खोंच परम्परादेखि तिब्बती ‘च्याङ्ग्रा ट्रेल’ हो । तिब्बतबाट भेडाच्यांग्रामा नुनको भारी ल्याएर दसैंअघि बेंसीका बस्तीमा ओर्लने भोटका व्यापारी दुईथरी कारोबार गर्थे, नुनसित अन्न साट्ने र मासुका लागि भेडाच्यांग्रा बेच्ने ।

हिउँद सकिएपछि तराइ र पहाडी क्षेत्रबाट खाद्यान्नको भारी बोकाएर उकालो लाग्ने उनीहरु बर्खाभर लेकतिर चराएर फेरि अर्को दसैंअघि बेंसी झर्दै । दशैं–तिहारमा तिव्बतको प्रमुख व्यापारिक नाका मुस्ताङबाट तिब्बती र डोल्पा, मुगु तथा उपल्लो मुस्ताङबाट भेडाच्यांग्रा महिनौंसम्म धपाउँदै भोटकै ब्यापारी बेंसीका बस्तीसम्म झर्ने चलन थियो । सडक संरचनाले हिमाली क्षेत्रसम्म यातायात संचालन भएपछि मुस्ताङी खसीका नामले राजधानीसम्म पुग्ने तिब्बती ‘च्याङ्ग्रा ट्रेल’मा अहिले ढुवानीका साधन, व्यापारी भने फेरिएका छन् ।

परम्परादेखि तिब्बत, डोल्पा, मुगु र उपल्लो मुस्ताङबाट हिँडाउदै ल्याएका च्याङ्ग्रा म्याग्दीको घारखोला (अन्नपूर्ण गाउँपालिका–६) बाट बाँडिन्थे । कोहीले घारखोलाबाट पूर्व घार, शिख, घाडेपानी, विरेठाँटी, नयाँ पुल हुँदै पोखरा पुर्‍याउँथे । केही व्यापारी भने दक्षिण तिप्ल्याङ, बेनी, बाग्लुङ, कुस्मा हुँदै स्याङ्जा तर्फ लैजान्थे । व्यापारीहरु सबै मुस्ताङी वा तिब्बतीनै हुन्थे । अहिले पनी च्याङ्ग्रा ट्रेल कायम छ तर संख्या घटेकाे छ, ब्यापार ट्रेन फेरिएकाे छ, ब्यापारी फेरिएका छन ।

पहिला मुस्ताङ्गी वा तिब्बतीहरू (भाेटे)ले मात्र गर्ने चेलुक, च्याङ्ग्राकाे ब्यापारमा हिजाेअाज रून्वाहरू (तल वेंसीतिरका) ब्यापारी संलग्न हुन थालेका छन । सडक पहुँच सहज हुन थालेपछि खसी ब्यापारमा सहरका ठूला ब्यापारी नै माथी गाेठ उक्लन थालेका छन । गाउँघरका साना खसी ब्यापारी पनि विस्थापित हुन थालेका छन । त्यसकाे उदाहरण हाे, सिन्धुपाल्चोकका महेश थापा तीन वटा कन्टेनर (ठूला ट्रक) ल्याएर म्याग्दी सदरमुकाम बेनी पुगेका छन् । उनी कन्टेनरमा कुनै निर्माण सामग्री, लत्ताकपडा वा खाद्यान्न लिएर आएका हैनन् । न म्याग्दीका लेकाली आलु वा मुस्ताङका स्याउनै लिन आएका हुन् ।

१० वर्षदेखि मुस्ताङका भेडाच्याङ्ग्रा लगेर भक्तपुरको सल्लाघारीमा व्यापार गर्दै आएका उनले यो रुटमा खसी ब्यापारको शैलीमा धेरै परिवर्तन देखेको सुनाए । मोटरबाटोको पहुँच सहज बन्दै गएपछि मुस्ताङीको जीवनशैलीमा मात्र फेरिएको नभई भोट–काठमाडौं परम्परागत खसी व्यापारमा पनि परिवर्तन आएको उनले सुनाए ।
पहिला भेडाच्याङ्ग्रा धपाउँदै मुस्ताङी वा भोटकै कृषक/व्यापारी बेच्न आउँथे । अहिले तलबाट ब्यापारी पैंसाका बिटा बोकेर हिमाली उक्लिन्छन् ।

यातायातको सुविधा नपुग्दासम्म भेडाच्यांग्रा बेच्न व्यापारीहरु महिनौंको यात्रा तय गर्थे । महिनौंसम्म हिँडाउर लैजानु पर्दा बाटोमा अनेक समस्या हुन्थे । लड्ने, चोरी हुनेलगायत समस्या हुन्थे । वन संरक्षण र सामुदायिक वन विकास हुँदै गएपछि पछिल्लो समय बाटोमा चरन र बस्न समेत समस्या हुने गरेको थियो । ‘पहिले गाउँबस्तीमा पनि धेरै भेडाच्यांग्रा बेच्थ्यौं । कुनै ठाउमा त अन्न लिएर साट्थ्यौं पनि । अचेत सहर बजारतिर धेरै बिक्रि हुन्छन्,’ थापाले सुनाए, ‘अचेल गाउँघरमा कुखुरा भित्रिइसके । सहरमा भेडा खोज्छन् ।’

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङका अनुसार दसैंमा मुस्ताङबाट ८ हजार हाराहारी भेडा च्याङ्ग्रा पोखरा, काठमाडौंसम्म पुग्ने अनुमान छ । मुस्ताङमा बर्षेनी उत्पादन घट्दै गएको र कोरोला नाका बन्द भएर तिब्बतबाट आयात रोकिँदा भेडाच्याङ्ग्राको मूल्य भने आकाशिएको छ । विज्ञ केन्द्रका अनुसार गत वर्षभन्दा चार हजार भेडाच्याङ्ग्रा कम आएका छन् । मूल्य बढेपछि सामान्य परिवारले मुस्ताङी च्याङ्ग्राको मासुको खान नसक्ने अवस्था आएको छ ।

लोघेकर दामोदरकुण्ड र लोमन्थाङ गाउँपालिकाका अनुसार चार वर्षअघि उपल्लो मुस्ताङमा धेरै दिनसम्म परेको बाक्लो हिउँमा पुरिएर आठ हजार बढी भेडाच्याङ्ग्रा मरेकोले मुस्ताङमा उत्पादन घटेको हो । लोघेकर दामोदरकुण्ड गाउँपालिका क्षेत्रभित्र हरेकमा ३ सय बढी भेडाच्याङ्ग्रा पाल्ने १३ वटा गोठ सूचिकृत छन् । थप ५०–१०० का दरले पाल्ने १० परिवार छन् । ‘युवा पुस्ता पशुपालनमा आर्कषित छैन । भेडी गोठको संख्या घटेको छ ।

मुस्ताङको लोमन्थाङ, लोघेकर दामोदरकुण्ड र बाहृगाउँमुक्ति क्षेत्र गाउँपालिकाका क्षेत्रमा मात्र भेडाच्याङ्ग्रा पालन गरिन्छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले लोमन्थाङबाट २ हजार, लोघेकर दामोदरकुण्डबाट २ हजार र वारागुङमुक्ति क्षेत्र गाउँपालिकाबाट ३ हजार र डोल्पाबाट एक हजार हाराहारीमा भेडाच्याङ्ग्रा तल झार्दै गरेको जनाएको छ ।

‘अगुवा कृषक, समूह र व्यापारीसँग लिएको जानकारीबाट यो वर्ष ८ हजार जति भेडाच्याङ्ग्रा दसैंकालागि बजार झर्दैछन्,’ केन्द्रका प्रमुख पशु चिकित्सक लालमणि आचार्यले भने, ‘मुस्ताङबाट बजार झार्ने भेडाच्याङ्ग्राको आधारभूत क्वारेन्टाईन (सामान्य स्वास्थ्य परीक्षण) गरिएको छ । गत सातासम्म ५ हजारको निरोगिता प्रमाणपत्र लगेका छन् ।’