FLASH NEWS
  • Loading...

कहाँ गए टोड्के र पुनहिलका टेलिस्कोप ?

  • पुनहिल डट कम
  • ७ महिना अघि
  • ३३३ पटक पढिएको
कहाँ गए टोड्के र पुनहिलका टेलिस्कोप ?

पर्यटकीय क्षेत्र पुनहिल र टाेड्केमा हिमाल, हिमाली वन्यजन्तु र चराचुरूङ्गी अवलाेकन गर्न टेलिस्काेप जडान गरिएकाे थियाे भन्ने कुरा धेरैलाइ कथा झै लाग्न सक्छ । तर सूर्योदय, हिमाल र सूर्यास्त समेत मनोरम दृश्यावलोकनकालागी प्रख्यात भ्यू पोईन्टहरु पुनहिल तथा टोड्केमा राख्न ल्याएका टेलिस्कोपहरु अलपत्र परेका छन ।
वस्तीदेखी टाढा रहेका यी भ्यू पाईन्टहरुमा टेलिस्कोप राख्ने सुरक्षित संरचना नहुँदा तथा टेलिस्कोपबाट भन्दा नाङ्गो आँखाले हेर्दा दृष्यबढी मनोरम देखिएपछि पर्यटक चासो पनी नहुँदा ति टेलिस्कोप अलपत्र मात्र होईन वेखवर बनेका हुन । अधिकांशले टोड्के र पुनहिलमा राख्न टेलिस्कोप ल्याईएको कुरा पनि विस्मरण गर्न थालेका छन ।
अन्नपूर्ण गाउँपालिका, ६ पुनहिलमा नर्वेजियन रेडक्रसको सहयोगमा ०५७–०५८ साल तिर प्राप्त टेलिस्कोप अहिले प्रयोगहीन मात्र होईन बेखवर छ । घोरेपानीका पुराना पर्यटन ब्यवसायीहरुका अनुसार पुनहिल भ्यू पोईन्ट पुग्न सवैभन्दा नजिकको वस्ती घोरेपानीबाट ४० मिनेट माथी पर्ने भएकोले टेलिस्कोपलाई स्थीर रुपमा पुनहिलमा जडान गरी छोड्न संभव थिएन । फेरी त्यस समयमा उत्कर्षमा रहेको माओवादी विद्रोहीले लुटी लैजान सक्ने त्रासले पनि टेलिस्कोप पुनहिलमा राखिएको थिएन । पुनहिलमा टेलिस्कोप स्थिर रुपमा राख्न नमिलेपछि तल घोरेपानीकै एक होटलको आगनमा राखेर हिमाल नियाल्ने ब्यवस्था गरिएको थियो । तर पर्यटकले टेलिस्कोपबाट भन्दा नाङ्गो आँखाले हिमाल हेर्न रुचाएपछि टेलिस्कोप थन्क्याईएको थियो ।


‘पुनहिलमा असुरक्षित देखिएपछि टेलिस्कोपलाई स्थिर रुपमा जडानगरी राख्न सकिएन । द्वन्द्वकाल भएकोले अरु जोखिमपनि बन्यो । स्थिररुपमा जडान नगरिएकोले तल घोरेपानीबाट दैनिक मेशिन बोकेर माथी पुनहिल पुर्‍याउने, फिट गर्ने र फेरी बोकेर तल झार्ने कुरा ब्यवहारिक नभएपछि तल घोरेपानीकै एक होटलको आगनमा राखेका थियौं । टुरिष्टले टेलिस्कोपबाट हिमाल हेर्न उत्ति चासो नदेखाएपछि थन्क्याएका हौं’ तत्कालिन घोरेपानी पर्यटन ब्यवस्थापन समितिका सहसचिव रहेका भीमु गर्वुजाले भने, ‘अहिले पुनहिलमा फेरी जोडे पर्यटकको आर्कषण बढ्थ्यो कि ? अहिले त टेलिस्कोप पनि कता, कस्ले थन्क्याएर राखेको छ, विर्सिसकियो । गाउँमा कस्ले राखेको छ, खोजे पाईएलानी ।’
पुनहिलमा मात्र होईन, अर्को पर्यटकीय भ्यू पाईन्ट टोड्केमा राख्न ल्याईएको टेलिस्कोप पनि अहिले प्रयोगहीन मात्र होईन वेखवर छ । जापानको एक संस्थाले सहयोग गरेको उक्त टेलिस्कोपप टोड्केमा तत्कालिन प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले ०६९ साल कात्तिक २१ गते उद्घाटन पनि गरेका थिए ।
टोड्केबाट हिमाल तथा हिमाली क्षेत्रको सुस्म दृश्यावलोकन गर्न सहयोग प्राप्त टेलिस्कोप पनि पुनहिलमा जस्तै सुरक्षित नभएपछि घरमा ल्याउने र राख्ने गरिएको थियो । वस्तीदेखी टाढा जंगलको विचमा अवस्थित टोड्केमा स्थिर रुपमा राख्न छुट्टै भवन नभएको र रेखदेख गर्ने कर्मचारी समेत नभएकोले उक्त टेलिस्कोप कसैको घरमा लगी राखिएको हो । टोड्के क्षेत्र पर्यटन विकास कोषका पदाधिकारीद्वय बाबुराम आचार्य र टेकबहादुर राम्जालीका अनुसार टोड्केमा पर्यटकको आगमन नियमित थिएन । ठूला समुह आउँदा टेलिस्कोप लगेर जडान गरी दृष्यावलोकन गराउने र अरुबेला खोलेर तल गाउँमा ल्याएर राख्ने गरिएको थियो ।
‘टेलिस्कोप सँधै माथी टोड्केमा राखी राख्न सुरक्षा नभएकोले संभव थिएन । त्यसैले झिकेर ल्याएको हो । सायद उक्त टेलिस्कोप मोहन केसी सरको घरमा थन्किएको होला’ टोड्के क्षेत्र पर्यटन विकास कोषका संस्थापक मध्यका एक टेकबहादुर राम्जालीले भने, ‘टोड्केमा फेरी पर्यटकको चहलपहल बढ्यो र सुरक्षित गरी राख्न मिल्ने अवस्था भएमा फेरी लगेर राख्न सकिन्छ ।’