FLASH NEWS
  • Loading...

फस्टाउँदै ब्यवसायीक विष खेती

  • पुनहिल डट कम
  • ७ महिना अघि
  • २४४ पटक पढिएको
फस्टाउँदै ब्यवसायीक विष खेती

धवलागिरी गाउँपालिका, १ गुर्जामा वडाध्यक्ष झकबहादुर छन्त्यालको नेतृत्वमा विष समेत जडिवुटी खेती सुरु गरिएको छ ।

जडिबुटी संकलक तथा ब्यापारी समेत रहेका छन्त्यालको अगुवाईमा स्थानीय ३५ जना कृषक मिलेर स्थापना गरेको पिउथिवा सामुदायकि वन उपभोक्ता समुहले तीन वर्ष अघिदेखी विषजरा, विषमा, खिरौंला, अतिससमेतका जडिबुटी खेती सुरु गरेको थियो । गुर्जाको नाईलीवाङमा १० रोपनी क्षेत्रफलमा गरिएको स्याउ खेती भित्र गरिएको विष समेतका जडिबुटी खेती उत्पादन योग्य बनेको हो ।

यतिवेला गुर्जाको विषको खेतिसमेत हिमालमुनीका वुकी (फाँट)हरु यतिवेला विष फुलेर निलाम्मे भएका छन । साउन अन्तीमदेखी भदौ अन्तिमसम्म विष फुल्छ । विरुवाको प्रजनन अङग फूलको वासनाले मान्छेलाई मात्र होईन जीवजन्तुलाई कामुक बनाउँछ, आकर्षित गर्छ । तर लेकमा फुल्ने विषको फुल हेर्दा राम्रो भएपनि यसको वासनाले मानिसलाई विरामी बनाउँछ ।

हिन्दीमा मिठा विष, संस्कृतमा वत्सनाभ र अंग्रेजीमा एकोनिट नामले चिनिने विषको फूलको वास्ना पनि विषालु हुन्छ । विषको विरुवाको सवैभन्दा विषालु भाग गानो/जरा हो । असोजपछि विषको फुल झरेपछि यसको जरा खनिन्छ । विषको जरा औषधीमा प्रयोग हुने भएकोले जडिबुटी ब्यापारीले ‘विष जरा’ संकलन गरी लैजान्छन ।

‘दुई बर्ष अघि डिभिजन वन कार्यालयको आर्थिक सहयोगमा गुर्जामा विष समेत जडिबुटीको परिक्षाण खेती गरेका थियौं । अहिले उत्पादन योग्य बनेको छ’ धवलागिरी गाउँपालिका, १ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले भने, ‘मैले गुर्जाबाट मात्र तीन हजार पाँचसय केजीसम्म विषजरा वेचेको थिएँ । जनप्रतिनिधी भएपपछि ६ बर्षदेखी जडिबुटी संकलन र बजार लैजाने फुर्सद नभएकोले बेचेको छैन । अव जडिबुटी खेतीको विस्तार गर्ने सोंचमा छौं । यसो गर्दा कृषकले बारीबाटै जडिबुटी बेचेर मनग्य आम्दानी गर्ने छन ।’

युवा पुस्ता विदेश जाने भएपछि जडिबुटी संकलन गर्ने मान्छे नै पाईदैन । हिमालमुनी पुगेर, जंगल चाहरेर जडिबुटी खोज, बोकेर गाउँल्याई त्यसलाई सुकाईवरी सफा गर्नु पर्ने र धेरै दुख हुने भएकोले संकलक पाउनै समस्या भएको हो । बजार पुर्‍याउन सके मुल्य त राम्रो छ । डिभिजन वन कार्यालयको अभिलेख अनुसार गत आव ०७८–०७९ मा म्याग्दीका जंगलवबाट तीन सय ५० केजी विषजरा निकासी भएको थियो । जडिबुटी ब्यापारीका अनुसार विष जराको बजार मुल्य प्रतिकेजी ७ सयमा खरिदविक्री हुने गर्छ । राजश्व भने प्रति केजी १० रुपैयाँ तोकिएको छ । जिल्लामा विषजरा प्रशस्त पाईन्छ ।

‘विषजरा आफैमा विष हो तर यसको उपयोग औषधीमा प्रयोग गरिन्छ । विषदी सेवन गरेका, वान्ता, फुडप्वाईजनिङ हुँदा, पखला लाग्दा, डायविटिज, हिस्टोरिया, ज्वरो आउँदा, मृगौलाका विरामी समेत एन्टीवायोटिक औषधी बनाउन विष जरा प्रयोग हुन्छ’ डिभिजन वन कार्यालयका डिभिजन प्रमुख वन अधिकृत मनोज रानाभाटले भने, ‘केही वर्ष अघिसम्म म्याग्दीबाट एक हजार केजीबढी विष जरा मात्र जान्थ्यो, अहिले घटेको छ । स्थानीय तह गठन भएपछि जडिबुटीका ब्यापारीहरु अन्य क्षेत्रमा लागेछन, सवैखाले जडिबुटी संकलन र निकासी घटेको छ ।’

डिभिजन वन कार्यालयको सहयोगमा ०७७ सालमा २ रोपनी खेतीयोग्य बाँझो जमिनमा ७ हजार विषका वेर्ना रोपेर गुर्जामा जडिबुटी खेती सुरु गरिएको हो । ०७८ मा स्थानीयले सहकारी स्थापना गरी विष, सतिस, खिरौंला समेतका जडिबुटी थप गरेका थिए । डिभिजन वन कार्यालयले गत आवमा जडिबुटी खेती ब्यवस्थापन गर्न ४ लाख ८० हजार रुपैयाँ अनुदान दिएको र सोही रकमले जडिबुटी खेती विस्तार तथा वारवन्धनमा खर्च गरिएको वडाध्यक्ष छन्त्यालले बताए ।

विष हिमाली भेगमा पाईने प्राणीकालागी घातक बहुवर्षिय वनस्पति हो । विषको डाँठ, जराले मात्र होईन फुलबाट आउन वासनाले पनि लाग्ने भएकोले टाउको दुख्ने, वाकवाकी लाग्ने र रिङ्गटा लाग्ने हुन्छ । समुद्र सतहदेखी ३ हजार मिटरदेखी ४ हजार ५ सयसम्मको उचाईमा पाईने विषको वोट करिव १ मिटर अग्लो हुन्छ । यसको पात हत्केला जस्तो फाटेको हुन्छ । विरुवाको माथिल्लो भागमा निलो रङका झुरुप्प भै फूल फुल्दछ । म्याग्दीका सवै लेकाली वुकीहरुमा विष पाईन्छ ।

आर्युवेदिक औषधी बनाउने स्थानीय ज्ञानमा अत्यन्त पोख्त ब्यक्तिले स्थानीय खुल्ला चरिचरनमा रहेको गाईको मुत्र र दुधमा राखी प्रशोधनगरी घाँटी दुखेको, ज्वरो आएको, पित्त, फोक्सो र आन्द्रांको रोगमा उपचार गर्छन । तर राम्रो ज्ञान नभएका ब्यक्तिले चलाउनु र प्रयोग प्रयास हानीकारक छ । स्थानीयले भने विषको जरालाई कुटेर धुलो खानामा मिलाएर मुसा मार्न पनि प्रयोग गर्छन ।