FLASH NEWS
  • Loading...

अामाहरूकाे पौढ कक्षादेखी १२ कक्षासम्मकाे यात्रा

  • पुनहिल डट कम
  • ८ महिना अघि
  • २२९ पटक पढिएको
अामाहरूकाे पौढ कक्षादेखी १२ कक्षासम्मकाे यात्रा

आउँदो असोज ६ गतेदेखी कक्षा १२ को पुरक परिक्षा सुरु हुँदैछ । र परिक्षामा म्याग्दीका दुई जना इच्छा शक्ति भए पढ्न उमेरले छेक्दैन भन्ने उदाहरण बनेका हिक्मतिला आमाहरु भुलकुमारी रोका (५०) र लक्ष्मी सापकोटा (५२) पनि सहभागी हुँदैछन । अँग्रेजी विषयको पुरक परिक्षा तयारीमा रहेका उनीहरु अहिले टुयुसनको चटारोमा छन ।

पाठककालाग िप्रेरणाका स्रोत यी हिक्मतिला आमाहरुको पढ्ने धोको कसरी पुरा गर्दैछन, विगतदेखी बर्तमानसम्मको भोगाई प्रस्तुत गरेका छौं ।
गोठहुँदै विद्यालयसम्म भुलकुमारी रोका ः
भदौ ७ गते भुलकुमारी रोका ५० बर्ष पुगिन । विस २०३० साल भदौ ७ गते साविक ताकम गाविसको काफलडाँडामा जन्मेकी रोकाको माईती थर भने वुढाथोकी मगर हो । ६ जना भाई बैनीकी जेठी छोरी भुलकुमारीको बाल्यकाल खेतीकिसानी र गाईभैसी गोठमै वित्यो । बाबु विदेश (भारत) भएकोले घरमा आमा एक्लै ५ जना भाईबैनी हुर्काउँदै खेतीबाली स्याहर्न ठिक्क थियो । जुन फाँटमा खेती पाक्यो उतै गोठ लैजाने चलन थियो । गोठ बस्ने अर्को मान्छे नभएकोले सानै देखी भुलकुमारी एक्लै गोठ बस्थिन । खेतीवाली सम्हाल्थिन । तिनताक दुर्गम गाउँमा छोरीले पढ्ने चलल उत्ति थिएन । मनमा रहर भएपनि भुलकुमारीले कहिल्यै स्कुल र कापीकलम छुने, पढ्ने अवसर पाईनन ।
घरदेखी करिव १ घन्टामाथी गोठ गोठमा भुलकुमारी एक्लै थिईन । ०४९ मंसिर २७ गते साँझ गाईवस्तुलाई घाँसपात गरी ढिंडो ओडालेर, भट्ट र दुधसँग खाईन । गोठको नजिकै नाताले फुपु पर्ने एक साथीको घर थियो । बाहिर हल्का हिउँ परेको थियो ।
तिनै साथी आएर आफ्नो घर जाउँ भनी कर गरेपछि भुलकुमारी साथीको घरमा गईन । साथीको घरमा पाहुना पनि आएका रहेछन । सुत्ने तर्खर हुँदै थियो । राती ९–१० बजेतिर ४–५ जनाले भुलकुमारीलाई च्याप्प समातेर जंगल तिर घिसारे । उनी रोईन, कराईन, चिच्याईन, चिथोरिन तर उनी फुत्कन सकिनन । हिउँ परेको राती जंगल, पाखा र भीरमा ६–७ घन्टा घिसार्दै, घचेट्दै गरेर देविस्थानको बाटो दरवाङ पुर्‍याएपछि उज्यालो भयो ।
अर्को ५–६ घन्टा हिंडाएर अर्मन पुर्‍याईयो । आमाबाबु र माईती पक्षलाई थाहा नै नदिई भुलकुमारीको १९ बर्षको उमेरमा ‘छोपी’ विवाह भयो । उनका श्रीमान मनबहादुर रोका स्थानीय शिशुकल्याण माध्यामिक विद्यालयका निमावि तहका शिक्षक थिए ।
०५८ पुसमा मनबहादुर गाउँको शिक्षक जागिर छोडेर कोरिया हिंडे । मनबहादुर अझै उतै कोरिया छन । गाउँमा द्वन्द्व उत्कर्समा थियो । नजिकै छोराछोरीलाई अँग्रेजी शिक्षा पठाउने बोर्डिङ स्कुलहरु बन्द गरिएपछि भुलकुमारी दुई छोरा र छोरी च्यापेर २०६० सालमा सदरमुकाम बेनी झरिन । अहिले रोकाका छोराहरु काठमाण्डौमा बसेर अटोमोवाईल्स इन्जिनियर र कम्प्युटर इन्जिनियर छन । छोरीले उतै ब्याजलर अफ पब्लिक हेल्थ अध्ययनरत छिन ।
कडा परिश्रम र मनमा गडेका रहर जस्तो सुकै परिस्थितीमा पनि पुरा गर्ने स्वाभावले उनलाइ पाको उमेरमा विद्यालय पुर्‍याएको छ । इच्छा शक्ति भए पढ्न उमेरले छेक्दैन भन्ने गज्जवको उदाहरण हुन, भुलकुमारी रोका ।
भुलकुमारी रोका (५०) अहिले बेनी सामुदायीक माध्यामिक विद्यालयबाट कक्षा १२ को अंग्रेजी विषयको पुरक परिक्षा दिंदैछिन । अंग्रेजी विषयको लिखितमा न्युनतम २७ अङ्क ल्याउनु पर्नेमा भुलकुमारीको २१ अङ्क आएछ ।
असोज ६ गते पुरक परिक्षा भएकोले भुलकुमारीलाई जसरी पनि अंग्रेजी पास गर्ने दवावका विच टुयुसन पढ्ने र परिक्षाको चटारो छ । भुलकुमारीको जीवनमा धेरै संयोगहरु जुरे । अहिले त्यस्तै गज्जव संयोग के छ भने, भुलकुमारीकी जेठी वुहारीका पनि भाई एउटै कक्षाका सहभाठी भएका छन ।
४२ बर्षको उमेरबाट कखरा चिन्न सुरु गरेकी भुलकुमारीले ८ बर्षको अन्तरालमा कक्षा १२ कक्षासम्मको पढाई पुरा गरेकी छिन । यो कसरी संभव भयो ? प्रायः सवैको मनमा प्रश्न उठ्छ । पत्यार लाग्दैन । र भुलकुमारी रोकाको आफ्नै मनमा पनि यति छोटो समयमा प्राप्त सफलता सम्झँदा सपना झै लाग्छ रे ।
२०७२ सालमा सदरमुकाम बेनीमा नियमित विद्यालयबाट औपचारिक शिक्षा लिने अवसरबाट छुटेका १५–६० बर्ष समुहका बयस्कहरुलाई शिक्षाको मुलधारमा जोड्न बेनी सामुदायीक विद्यालय मातहत ‘उज्यालो बैकल्पिक विद्यालय’ खुल्यो । यही उज्यालो वैकल्पिक विद्यालय नै भुलकुमारीको अक्षराम्भ गरिन ।
०७२ सालमा विद्यालयको पहिलो तहमा भर्ना भएको भुलकुमारी रोकाले कडा मेहिनत, लगन र मनमा गढेको जसरी पनी पढ्ने धोकोले गर्दा अंग्रेजी अक्षरहरु आधाउधी बाहेक कखरा, अंङ्क, सामान्य हिसावका जोड, घटाउ, भागा पहिलो बर्षमै सिकिन । रोकाको लगाव र सिकाईको क्षमता देखेपछि दोस्रो वर्ष तेस्रो तह (कक्षा ५ सरह)मा राखिदिए । तेस्रो वर्ष रोका तेस्रो तह ‘ख’ (कक्षा ७) कक्षामा पुगिन । ०७५ सालमा रोका चौंथो तह (७ कक्षा), ०७६ मा तह पाँच ‘क’ ८ कक्ष र ०७७ सालमा पाँचौं तह ‘ख’ १० कक्षा अध्ययन गरिन । ०७७ सालमा भुलकुमारीको जीवनमा अर्को संयोग आयो, कोरोनाको कारणले भौतिक रुपमा परिक्षामा सहभागी नभै एसईई उत्तिर्ण गरिन ।
छोराछोरी हुर्कि सकेकोले भुलकुमारी फुर्सदमा थिईन, त्यसैले कक्षा ११ पढ्न थालिन । कक्षा ११ जेनतेन पास पनि भईन । ससुरा विरामी भएको, छोराको विवाह समेत धेरै पारिवारिक तथा सामाजिक कामले गर्दा कक्षा १२ को पढाई भने नियमित गर्न पाईनन । अनियमित कक्षाको विचमा पनि भुलकुमारीले कक्षा १२ मा अँग्रेजीबाहेक अन्य विषय उत्तिर्ण गरिन ।
‘अँग्रेजीमा फेल भएर पीर परेको छ । सव काम छोडेर यही अँग्रेजी पढ्छु । यो ग्रामर त अलि बुझ्छु त्यो प्यासेज, एस्से लेख्ने भन्ने के के हो बुझ्दिन । सुरुमा एविसी सिक्दा रोमन अँग्रेजीबाट पढेकोले अहिले गाहृो भएको छ । फेरी पास त हुनु नै छ, भात पकाउँदा पनी समय खेर गए झै लाग्छ’ बेनी अस्पिटलचोक स्थित घरमा पुराना प्रश्नपत्र राखेर अभ्यास गरिरहेकी भुलकुमारी रोकाले भनिन्, ‘पहिला पहिला छोराछोरी साना थिए, उनीहरुलाई सम्हाल्नै ठिक्क थियो । अहिलेसँगै भैदिएको भए त सिकाई दिंदा हुन भन्ने लाग्छ । हिसाव त सजिलो थियो, यो अंग्रेजी र नेपाली मलाई असाध्य गाहृो हुन्छ ।’
पढाईको चटारो विच रोकाले विगत खोतलिन । बाल्यकाल, किसोरावय र ढल्कँदो उमेरमा विद्यालय यात्राको कथा सुनाईन । रोकाले भनिन, ‘मेरो वाल्यकाल गोठै गोठमा वित्यो । पढ्ने अवसर पाईएन । कालो अक्षर भैसी बराबर थियो । पढ्ने त परको कुरा घरभित्रको काम पनि जान्दैनथें । गोठबाट राती अपहरण गरी विवाह भयो । छोराछोरी काखमा छोडेर श्रीमान विदेश हिंडे । काखेछोराछोरी र बृद्ध सासुससुरा स्याहर्दै ब्यवहार थेग्न मुस्किल थियो । तर मसँग कितावी पढाई नभएपनि हिक्मत अक्कल लगाएर घर थेगें । उनले थपिन, ‘पहिलाको जस्तै गोठ र मेलापात गर्ने युग भएको भए सायद पढ्ने रहर आफै मर्थो वा उम्रने नै थिएन । युग फेरीयो । सहरको बसाई, पढाई नहुँदा हरेक पाईलामा ठेस लाग्दा, मनमा इख पलाएछ, अव पढ्छु ।’
श्रीमानको प्रेरणाले लक्ष्मीको पौढ कक्षादेखी १२ कक्षासम्म
लक्ष्मी सापकोटा (५२)लाई नातीनातिनाको धरालु गर्दै कक्षा १२ को पुरक परिक्षा तयारीको चटारो छ । कक्षा १२ को परिक्षामा अनिवार्य अँग्रेजी विषयमा ननग्रेड रिजल्ट निक्लेपछि पिरलोमा परेकी सापकोटा आगामी असोज ६ गते हुने पुरक परिक्षाको तयारीमा जुटेकी हुन ।
०२८ सालमा मंगला गाउँपालिका, ४ (साविक अर्मन)मा जन्मेकी लक्ष्मीले पढ्ने धोको भएपनि वाल्यकालमा विद्यालय पुगेर औपचारिक शिक्षा लिने अवसर पाईनन् । १६ बर्षकै उमेरमा ०४४ सालमा छिमेकी गाउँ बरंजाका दण्डपाणी सापकोटासँग विवाह गरेपछि वल्न लक्ष्मीलाई अक्षर चिन्ने अवसर मिलेको हो । लक्ष्मीका श्रीमान दण्डपाणीलाई पनि घरमा वस्तुभाउ हेर्ने र खेतवारीको काम गर्न मान्छे नभएको भन्दै परिवारले विद्यालय छुटाएका थिए । तर उनी पढ्न चाहन्थे । विवाहगरी वुहारीलाई काम जिम्मा लगाएर मात्र पढ्न पाउने सर्त अनुसार दण्डपाणीले लक्ष्मीलाई विवाह गरेका थिए । र सापकोटाले वेहुलीलाई घर भित्राएकै दिन गृहप्रवेशको कर्मपनी नसकी कक्षा ९ को बार्षिक परिक्षामा सहभागी भएका थिए ।
विसं २०४७/०४८ सालमा गाउँमा पौढ शिक्षा सुरु भयो । श्रीमानकै करवलमा लक्ष्मीको अक्षराम्भ त्यहीं पौढ कक्षाबाट भयो । तीन बर्ष उनले पौढ कक्षा पढिन । त्यसविचमा उनका तीन सन्तान भए । छोराछोरी ७–८ कक्षा पढ्ने भएपछि लक्ष्मी छोराछोरीसंगै महेन्द्ररत्न मावि बरंजामा कक्षा ४ मा भर्ना भईन । त्यहाँ उनले ६ कक्षासम्म पढीन तर अन्तिम परिक्षा छुटेपछि भने पढाईमा पूर्ण विराम लागेको थियो ।
०७० सालमा सापकोटा परिवार बेनी झर्यो । त्यहीबेला बेनीमा नियमित विद्यालयबाट औपचारिक शिक्षा लिने अवसरबाट छुटेका १५–६० बर्ष समुहका बयस्कहरुलाई शिक्षाको मुलधारमा जोड्न बेनी सामुदायीक विद्यालय मातहत ‘उज्यालो बैकल्पिक विद्यालय’ खुल्यो । घरमा खाली बसेकी लक्ष्मीलाई श्रीमानकै हुटहुटीले ०७३ सालमाउज्यालो बैकल्पिक विद्यालयमा कक्षा ५ मा भर्ना भईन । ०७४ सालमा कक्षा ७, ०७५ सालमा कक्षा ८, ०७६ मा कक्षा ८ र ०७७ सालमा कक्षा १० मा पढिन । ०७७ सालमा कोरोना कहरले एसईईको भौतिक रुपमा परिक्षा लिईएन । त्यसैले लक्ष्मी पनि विद्यालयले दिएको नम्बरकै आधारमा एसईई उत्तिर्ण भईन । तर लक्ष्मीलाई आफैले लेखेर परिक्षा उत्तिर्ण गर्न नपाएकोमा थकथकी थियो, आफ्नो क्षमता नजाँचिएको लागी रहेको थियो ।
त्यसैले कक्षा ११ मा भर्ना भईन । उता वुहारी सुत्केरी र जागिरे पनि भएकोले घरधन्दाको काम थपियो । त्यै कक्षा ११ को परिक्षा उत्तिर्ण भईन । १२ कक्षाको बार्षिक परिक्षाकै बेला गत जेठमा लक्ष्मी विरामी परि बेनी अस्पताल भर्ना हुनु पर्‍यो । जेठ २६ गते देखी परिक्षा थियो त्यसैले लक्ष्मी २५ गते अस्पतालबाट डिस्चार्ज पनि नभै भागेर घर गईन । २६ गते परिक्षा हल । वुढौली उमेरको पढाई, विरामी अवस्थामा तयारी विना पहिलो दिन नै अंग्रेजी विषयको परिक्षा अपेक्षित थिएन । रिजल्ट पनि उस्तै आयो ।
अहिले लक्ष्मीका श्रीमान दण्डपाणी सापकोटा शिक्षण पेशामा छन । एउटा छोरा मालिका गापामा शिक्षण गर्छन, अर्को मुस्ताङमा जागिरे । दुवै जना वुहारी जागिरे । घरमा ८ बर्षिया नातिनी र २ बर्षको नातीको हेरालु गर्दै कक्षा १२ को पुरक परिक्षा तयारीमा जुटेकी छिन, लक्ष्मी ।
‘पढ्ने रहर त थियो, स्कुल पढ्ने वेलामा पढ्न पाईन । विवाह गरेपछि मेले घर, खेतीपाती धानेर श्रीमानलाई पढ्ने अवसर जुटाएँ । बालवच्चा हुर्केपछि श्रीमानकै हुटहुटीले पौढकक्षाहुँदै कक्षा १२ सम्म पढ्ने हिक्मत बुटुलेकी हुँ’ बेनीको न्युरोड स्थित घरको तेस्रो तल्लाको बाहिर प्यालेसमा छेउमा २ बर्षे नातीको धरालु गर्दै पढ्दै गरेकी लक्ष्मीले भनिन, ‘अरु विषय त सजिलै थियो । कटाएँ, यो अंग्रेजी किन किन अप्ठ▒रो भएको छ । नजानेको श्रीमान र बुहारीहरुले सिकाउँछन नि तर मलाई बुझ्नै समस्या भएको छ । त्यै हिक्मत हारेकी छैन, यस पटक त पास हुन्छु ।’
उज्याले विद्यालय कस्तो हो ?
विद्यालयमा अक्षर चिन्न गएका (पहिलो तह), तीन कक्षा पढ्दै विद्यालय छोडेका (दोस्रो तह), ५ कक्षा पढेर विद्यालय छोडेका (तेस्रो तह) राखेर वयस्कको अनुभव र ज्ञानका आधारमा छोटो र फरक शैलीमा अनौपचारिक पढाईबाट औपचारिक अध्यापन गराउने गरिन्छ । वैकल्पिक विद्यालयमा तह ४ उत्तिर्ण गरे कक्षा ८ र पाचौं तह ‘क’ उत्तिर्ण गरे कक्षा ९ र ‘ख’ उत्तिर्ण गरे एसईई परिक्षामा सहभागी हुन योग्य मानिन्छन । यो नेपाल सरकारको अनौपचारिक शिक्षा कार्यक्रम अर्न्तगतकै पाठ्यक्रम हो ।
औपचारिक शिक्षाबाट वन्चितमा परेका वयस्कलाई शिक्षाको मुलधारमा ल्याउन समुदायको सकृयतामा खुलेको उज्यालो वैकल्पिक विद्यालयमा पहिलो तह देखी तह पाँचको दोस्रो (१० कक्षा) सम्मको कक्षा संञ्चालन भैरहेको छ ।
साविक शिक्षा विभागले अनौपचारिक कक्षा तर्फ तह तीन सम्मको पाठ्यक्रम विकास गरे पनि त्यसमाथी पढ्न चाहने पौढकालागी पाठ्यक्रम पनि समस्या छ । पाठ्यक्रम नपाएपछि विद्यालयले कक्षा ८ र ९ र १० लाई भने नियमित विद्यालयका पाठ्यपुस्तकबाट अनुकुल पाठ्यक्रम तयार पारी अध्यापन गराउने गरिएको छ ।
‘वैकल्पिक विद्यालय सरकारको निरन्तर शिक्षा अर्न्तगतकै अनुभव र ज्ञानका आधारमा छोटो समयमा पढ्न सक्ने गरी तयार पारिएको फरक शैलीको पाठ्यक्रम हो । तर माथिल्लो तहकालागी पाठ्यक्रम नपाईएपछि औपचारिक विद्यालयकै पाठ्यपुस्तक पढाउने गरेका छौं’ उज्यालो वैकल्पिक विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राजेश शाक्यले भने, ‘१५–६० बर्ष उमेर समुहका सवैलाई साक्षर मात्र होईन शिक्षित बनाउन निरन्तर शिक्षा आवश्यक छ र वैकल्पिक विद्यालय संञ्चालन गर्न आवश्यक पाठ्यक्रम र बजेट आवश्यक छ ।’
विद्यालय आर्थिक रुपमा समस्याग्रस्त छ । नीतिगत रुपमा पनि अप्ठ्यारोमा परेको छ । अनौपचारिक पौढ विद्यालय मानिएको बैकल्पिक विद्यालयमा अहिले पाठ्यक्रम र बजेटको अभाव र अन्यौलता छ । शिक्षा क्षेत्र स्थानीय तह मातहत गएपछि विद्यालयलाई शिक्षा विभागले उपलब्ध गराउँदै आएको न्यूनतम पारिश्रमिक र पाठ्यपुस्तकमा न्यून अनुदान पनि रोकिएको छ ।
विद्यालय संञ्चालन गर्न तलवभत्ता र दैनिक प्रशासनीक खर्च मात्र बार्षिक १२ लाखबढी छ । ३–४ लाखसम्म बेनी नगरपालिका/वडा कार्यालयले अनुदान दिएका छन । बाँकी चन्दा मागेरै विद्यालय चलेको छ ।