FLASH NEWS
  • Loading...

पहिरोलाई पानी हालेर नियन्त्रण गर्ने ? पत्याउनु हुन्छ ?

  • पुनहिल डट कम
  • ८ महिना अघि
  • ५८४ पटक पढिएको
पहिरोलाई पानी हालेर नियन्त्रण गर्ने ? पत्याउनु हुन्छ ?

पहिरोलाई पानी हालेर नियन्त्रण गर्ने ? पत्याउनु हुन्छ ? पत्याउनुस वा नपत्याउनुस, बैंसरीको पहिरो नियन्त्रण गर्न बेनी–जोमसोम सडक आयोजनाले खोलाको पानी पाईप र कुलो बनाएरै पहिरोमा हालेको छ ।
पहिरोमा पानी हाल्नु झन पहिरो चलाउनु हो । तर बैंसरीको सडकमा निरन्तर ढुङ्गामाटो खस्ने पहिरोग्रस्त क्षेत्र नजिकै रहेको खोल्साबाट पानी ल्याएर पहिरोमा हालिएको छ । त्यति मात्र हो र ? पहिरोलाई मान्छे र डोजर नै चलाएर खोतल्ने गरिएको छ ।


सामान्यतया ः पानीको कारणले पहिरो चल्छ । बैंसरीको पहिरो पनि मनसुन सुरु भएपछि पानीकै कारणले चलेको हो । बेनी–जोमसोम सडक अर्न्तगत म्याग्दीको रघुगंगा गाउँपालिका, २ बैंसरीमा मनसुन सुरु भएसँगै सुरु पहिरो नियन्त्रण गर्न फरक विधी अपनाईएको छ ।


डोजर र मान्छेले ढुङगामाटो खोतल्ने र ठूलो मात्रामा पानी हाल्दा लेदो छिटो बग्ने भएकोले पहिरोको सडकमा खस्न ठिक्क परेको भाग खसाउन पानीको प्रयोग गरिएको हो ।
‘तल सडकमा खस्ने पहिरो नियन्त्रण गर्न झन ठूलो पहिरो चलाउनु पर्ने भयो । त्यसैले डोजर र मान्छेले माटो खन्छौं र खोलाको पानी ल्याएर पहिरोमा हाल्छौं र बगाउँछौं’ कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरोला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले भने, ‘सडकमा खस्न ठिक्क परेको ढुङ्गामाटोको भाग डोजर र पानीको सहयताले खसालेपछि माथिको पहिरो रोकिने र तत्कालकालागी पहिरो नियन्त्रण भै यातायात सूचारु हुने ठानेका छौं ।’


बैंसरीमा निरन्तर खसेको पहिरोले बेनी–जोमसोम सडकमा पछिल्लो १० दिनदेखी अवरुद्ध यातायात अझै खुलेको छैन । बैंसरी पहिरोले बेनी–जोमसोम सडकमा ठूला सवारी साधन पूर्ण रुपमा अवरुद्ध भएपनि साना र फोरहृवील भएका जीपहरुले भने स्थानीयले हिउँदे ट्रयाकको रुपमा प्रयोग गर्दै आएको तिल्केनी–रानीपौवार–रिसिनचौतारी–बेगखोला वैकल्पिक सडक गरिएको छ । तर यो सडक बढी हिलाम्मे भएकोले गाडी फस्ने समस्या भएको ब्यवसायीले बताएका छन ।