FLASH NEWS
  • Loading...

बेनी-जाेमसाेम सडकमा सुरक्षित यात्राको पिरलो

  • पुनहिल डट कम
  • ८ महिना अघि
  • २२५ पटक पढिएको
बेनी-जाेमसाेम सडकमा सुरक्षित यात्राको पिरलो

गत साउन १० गते विहान ५ बजेतिर काठमाण्डौबाट मुस्ताङ्गकोलागी २७ जना यात्रु लिएर आएको ध १ प ९६५६ नम्बरको रात्री बस बेनी–जोमसोम सडक अर्न्तगत रघुगंगा गाउँपालिका, २ बैसरी स्थित पहिरोमा फस्यो । चालक अमर लामाले बसलाई भित्तामा जोत्न भ्याएकोले मानवीय क्षति हुन पाएन । हेर्दा हेर्दै बस हिलाम्मे र छियाछिया भयो ।
बेनी–जोमसोम सडक मात्र होईन, जिल्लाको पश्चिम भेगको मुख्य सडक बेनी–दरवाङ मार्गको अवस्था पनि उस्तै नाजुक र जोखिमयुक्त छ ।
हरेक वर्ष मनसुन सुरु भएसँगै बेनी–जोमसोम, बेनी–दरवाङ सडक समेत जिल्लाका सवै सडक पूर्वाधार प्रभावित हुन्छन । सडक सवारी यात्रा कष्टपूर्ण र अति जोखिमयुक्त बन्न पुग्ने गरेको छ । सडक सुरक्षा सम्बन्धी अत्यावश्यक प्रणाली नबनाउँदा बर्षेनी सडक दुर्घटनाबाट देशले आर्थिक रुपमा सक्रिय जनसंख्या गुमाईरहेको छ । उक्तिकै संख्यामा गम्भीर घाईते भै धेरैजसो आजीवन अशक्त बन्न पुग्छन । दुर्घटनाले आर्थिक रुपमा सक्रिय जनसंख्या पर्ने भएकोले क्षतिको भार परिवारलाई मात्र होईन, समाज र देशलाई पनी पुर्‍याईरहेको छ ।


‘बेनी–जोमसोम–कोरोला सडकको सर्वे, डिजाईन गर्दा देखी ठेक्का भै सडक निर्माण भैरहँदा कतै पनि पहिरोहरुको अवस्था अध्ययन छैन । बेनी–घाँसासम्मको ४० किमी खण्डमा बर्षेनी पहिरोले दुख दिएकोले चालु आर्थिक बर्षमा बेनी–जोमसोम सडकमा पर्ने १० वटा पहिरोको विस्तृत अध्ययन गर्ने गर्ने योजना छ’ कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरोला सडक आयोजना प्रमुख जगत प्रजापतिले भने, ‘बेनी–जोमसोम–कोरोला सडकको ट्रयाक पहिल्लै खुलेपनि विस्तार तथा स्तर उन्नत गर्ने कामको डिपिआर भने ०७२ सालमा बनेको हो । पहिरोले सवैभन्दाबढी सास्ती दिएको बैंसरी पहिरोबारे ०७२ सालको डिपिआरमा कतै उल्लेख नै छैन । डिपिआर र बजेट विना कसरी नयाँ क्षेत्रमा काम गराउने ? नयाँ पहिरोको रुपमा अध्ययन गर्ने सोंचमा छौं ।’
सडकको सर्वे, डिजाईन इष्टिमेट गर्दा नै सडक खन्ने भुगोलो भिरालोपना तथा पानीढलोको आधारमा खोल्सा ब्यवस्थापन, नाली निर्माण, भैरहेका पहिरो र सडक खनेपछि आउन सक्ने पहिरोको जोखिम आंकलन गरी नियन्क्रणका कार्यत्रम बनाउनु पर्ने हो । तर त्यासो भैरहेको छैन । बजेट सिध्याउने हतारोमा डोजरले कति भ्याउँछ कुदाउने अनि सडक भयो भन्ने अभ्यास ब्याप्त छ । अझ ठेकेदारहरुले कम मुल्यमा प्रोजेक्ट ठेक्का लिने, कमसल काम गर्ने र नियामक निकाय गुणस्तर कायम गर्ने भन्दा ठेकेदारसँग मिलेमतो गर्ने प्रवृतिले पनि पहाडी क्षेत्रका सडक ‘मृत्यु मार्ग’ बन्ने गरेका छन ।


संघीय, प्रदेश तथा स्थानीय तीनै तहले जोखिम अनुसन्धान तथा लाभलागत अनुमान समेत नगरी सिमित बजेटमा जथाभावी सडक बनाउने हतारोले पहिरो निम्त्याएको र सडकबढी जोखिमपूर्ण बनेका छन । तलका मुख्य सडकलाई प्रभावित हुनेगरी माथिल्लो खण्डमा जोमिख अनुसन्धान नगरी जथाभावी सडक खन्दा पनि सडक असुरक्षित बनेका छन । सडक निर्माण गर्दै पूर्वाधारको जोखिम न्यूनिकरण, पहिरो जस्ता प्राकृतिक विपद्को पूर्वानुमान तथा रोकथामका काम पनि संगै गर्नु पर्ने देखिन्छ । सडकमा मौषम र सडकको अवस्था बारे अलर्ट गर्ने सिस्टम राख्न सके पनि सडकमा मानवीय तथा भौतिक क्षती न्युन गर्न सकिन्थ्यो ।

‘बजेटको श्रोत सिमित हुने भएकोले हाम्रा सडक निर्माण विस्तृत डिपिआर नबनाई वा डिपिआर भएपनि सडक संरक्षणका कार्यक्रम छुटाएर खन्ने चलन छ । सडक निर्माणहुँदा नै वातावरणीय तथा सडकको गुणस्तरमा ख्याल पुर्‍याईनु पर्ने हो तर सडकको दुरी नाप्ने र प्रगति प्रतिशत हेर्ने प्रचलनले सडक असुरक्षित बनेका छन’ पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख गुरुदत्त शर्माले भने, ‘अहिले हामीले हेरेको मुख्य सडकमध्य बेनी–दरवाङ्ग २४ किमी सडक मुख्य हो । यसमा भने सडकमा पर्ने पहिराहरुको वृहत अध्ययन नभएपनि सानातिना वायोइन्जिनियरिङको काम राखेका छौं । २४ किमी खण्डमा पर्ने दर्जन पहिरा मध्य फापरखेत र बाँङ्गे पहिरो बर्षेनी सफा गर्दा मात्र सवै निकायकोगरी कुल बजेटको आधा बढी खर्च भएको छ ।’
सडक दुर्घटना शुन्य कुनै पनि देश छैन र सडक दुर्घटना शुन्य बनाउन संभव पनि छैन । तर दुर्घटनालाइ धेरै हदसम्म न्युनिकरण गर्न सकिन्छ । सडक यातायात विकासको पहिलो पूर्वाधार हो । तर सुरक्षित सडक र सवारी यात्रा मानवीय सर्त विर्सनु हुँदैन । सामान्यतया सडक दुर्घटनामा सडको अवस्था, चालकको अवस्था, सवारी साधनको अवस्था प्रमुख कारण हुन ।


सडक विभागले बनाएको ‘रोड सेफ्टी अडिट गाईड लाईन’ मा सडकको सम्भाब्यता अध्ययन गर्ने सयममा सडक डिजाईन गर्ने वेला, सडक बनाउने क्रममा र सडक प्रयोग गर्नुदिनु अघि गरी चार चरणमा सुरक्षा मापदण्ड (सेफ्टी अडिट) गर्नु पर्ने ब्यवस्था छ । तर मापदण्डमा कतै पनि पालना भएको पाईदैन । सडक निर्माणपछि सवारी संञ्चालनकालागी रुट परमिट दिनु अघि उक्त सडक सुरक्षा मापदण्ड अनुसार भए नभएको एकिन गर्नु पर्छ ।
‘इन्टरनेशनल जर्नल अफ प्रिभेन्टिभ मेडिसिन’ मा सन् २०१३ मा प्रकाशित ‘सडक दुर्घटनाले पुर्‍याएको आर्थिक भार सम्बन्धी अध्ययन अनुसार सडक दुर्घटनाबाट ४० बर्षभन्दा कम उमेरका ७९ प्रतिशत दुर्घटनामा परेकाहरु शारिरिक रुपमा अशक्त हुने र नेपालले कुलग्रास्थ्य उत्पादनको ६.३० प्रतिशत रकम क्षति हुने गरेको उल्लेख छ ।
संघ, प्रदेशर स्थानीय सरकारसँग पनि सडक निर्माणको औचित्य पुष्टि गर्ने बैज्ञानिक संयन्त्र नहुँदा जथाभावी सडक बनाउने प्रवृत्ति मौलाएको छ । सडक सुरक्षाको बारेमा चर्चा हुने गरेपनि ठोस कदम भने भएको छैन । सडक सुरक्षासँग जोडिएका विभिन्न नियकायहरु विच समन्वय नै छैन । सरकारी निकाय मात्र होईन यात्रुलाई सुरक्षित गन्तब्यमा पुर्‍याउने जिम्मेवारी बोकेका चालकको शारीरिक तथा मानसिक अवस्था, गाडीधनीहरुको चरम स्वार्थी ब्यवहारले पनि यात्रुको सुरक्षामा गम्भीर चुनौति थपेका छन ।
बर्षेनी र वारम्बार सडकको एकै खण्डमा पहिरो झरिरहन्छ । त्यहाँ सयौंको संख्यामा यात्रु दुर्घटनामा पर्छन वा उच्च जोखिममा यात्र गर्न बाध्य छन भने यो विपतजन्य दुर्घटना मान्न सकिन्न । यो सरासर नियामक निकायको चरम लार्पवाही र सडक सुरक्षा गाईड लाईन विपरितको काम हो ।
‘बजेटको श्रोत सिमितता र विकासको मोडेलमै त्रुटी छ । एउटा सडकको डिपिआर बन्दा देखी नै भौतिक, यातायाात, सडक, वन, वातावरण, अर्थ, गृह मन्त्रालय तथा स्थानीय तह विच समन्वयमा बजेट सुनिश्चित भै सडक खन्दा मात्र गुणस्तरिय सडक बन्न सक्छ, सडक दुर्घटनालाई न्यूकिरण गर्न सकिन्छ’ कालीगण्डकी करिडोर बेनी–जोमसोम सडकका प्रमुख प्रजापतिले भने, ‘सडकको लागत बढी पर्ने भएकोले आर्थिक कारण नै सडक असुरक्षित बन्ने गरेका हुन ।’

सामान्यतया सडक दुर्घटनाहरु मानवीय कारण ः बढी यात्रु राख्ने, मदिरा सेवन गरी सवारी चलाउने, तिव्र गतिमा चलाउने आदी । यान्त्रीक कारण ः सवारी साधन थोत्रा हुनु, मर्मतसंभार नगर्नु, ब्रेक फेल हुनु आदी हुन भने वातावारणीय कारण ः बर्षा, हिमपात, बाढीपहिरो मुख्य हुन । त्यस्तै सडकको कारण ः सडक खाल्डाखुल्डी हुनु, पहिरोग्रस्त क्षेत्रमा पहिरो रोकथाम नहुनु, साँघुरा तथा वैकल्पिक सडक नहुनु समेतका कारणले दुर्घटना हुने गरेका छन । म्याग्दीमा अहिलेसम्म भएका दुर्घटनामध्य अधिकांश दुर्घटना सडकको गुणस्तर र जोखिम आंकलन गरी रोकथामका उपाय अवलम्बन नगर्दा भएका छन ।