FLASH NEWS
  • Loading...

अाहा ! ‘फुच्चे गुराँस’

  • पुनहिल डट कम
  • ११ महिना अघि
  • २१२ पटक पढिएको
अाहा ! ‘फुच्चे गुराँस’

म्याग्दीको मौरिस हर्जोग पदमार्ग हुँदै अन्नपूर्ण प्रथम, नीलगिरि नर्थ र तिलिजो पिक हिमालको साझा आधार शिविर जाने जोकोहीलाई यतिबेला पाखाभरि ढकमक्क फुलेको फूलले लोभ्याउँछ । हुमखोलाको २८ सय ८३ मिटर उचाइदेखि झस्केटमेलाको ३५ सय ५३ मिटरसम्मको उचाइ रहेको यो पदमार्गमा पर्ने मिस्त्रीखोला वारिपारिका पाखामा फूल फुलेका छन् ।

यो फूल नेपालमा पाइने ‘फुच्चे गुराँस’ हो । यो नेपालमा पाइने सानो आकारका गुराँसमध्येको ‘रोडोडेन्ड्रन कोवानियनम’ प्रजातिको गुराँस हो । यो गुराँस नेपालको रैथाने गुराँस प्रजाति हो । यसअघि यो प्रजाति म्याग्दीसहित, मुस्ताङ,लाङटाङ र नेपालको मध्य तथा पश्चिम भागमा अभिलेख भएका छन् ।

 

यो एक झाडीधार वनस्पतिमा पर्छ । विशेषगरी नेपालको धवलागिरि हिमालीको दक्षिणदेखि लाङटाङ र गोसाइँकुण्ड क्षेत्रसम्मका ३ हजारदेखि ४ हजार मिटरसम्मको उचाइमा पाइने अभिलेख छ । आधा मिटरदेखि ३ मिटरसम्मको उचाइ हुने यो गुराँस फुलेको बेला पात सँगै निस्कने वनस्पतिविद् कमल मादेन बताउँछन् ।

लाङटाङ क्षेत्रमा यो गुराँसलाई किसुर भनेर पनि चिनिन्छ । अप्रिलदेखि जुन महिनामा फुल्ने यो गुराँस गुलाबी हुन्छ ।

रोडोडेन्ड्रन कोवानियनम र रोडोडेन्ड्रन लोन्डेसी नेपालमा मात्रै पाइने रैथाने गुराँस प्रजाति हुन् । यी नेपालबाहेक संसारका अन्य स्थानहरूमा रेकर्ड भएका छैनन् ।

वनस्पतिविद् मादेन यसअघि यो प्रजातिको गुराँसको पात मात्रै खिचेर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४बाट फर्किएका थिए । सन् २०१९मा उनले फेला परेको दाबी गरे पनि फूलको तस्बिर थिएन । त्यतिबेला उनले पात चिनेकै आधारमा नयाँ प्रजाति भएको बताएका हुन् । उनले भने, ‘ मैले म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा फेला पारेको बेला फूल फुलेको थिएन । अहिले फुलेकै अवस्थामा भेटिएको रहेछ । म एकदमै खुसी छु ।’

यस्तै म्याग्दीका पर्यटनकर्मी चित्र तिलिजाले यो प्रजातिको गुराँस धवलागिरि हिमाल पदमार्गमा पर्ने सल्लेरीदेखि माथि इटली क्याम्प पुग्ने क्षेत्रमा पनि फेला परेको दाबी गरे । यो प्रजातिका गुराँसको उचाइ डेढ मिटरसम्म हुने गरेको बताइए पनि सोभन्दा माथिसम्मको उचाइ रहेको पाइएको छ ।

यो प्रजातिको फूलको पातको वरिपरि झुस भएकाले चिन्न सजिलो भएको मादेनले जानकारी दिए । ‘यो महत्त्वपूर्ण जानकारी हो । म्याग्दीमा फूल फुलिरहेको अवस्थामा यसअघि अभिलेख भएको थिएन,’ मादेनले भने ।

सन् १९५०मा बेलायती वनस्पतिविद् ओलेग पोलुनिन नेपालमा अध्ययन गर्न आएको बेला यो प्रजाति लाङटाङबाट संकलन गरेका थिए । अध्ययन गर्ने क्रममा यो संसारकै लागि नयाँ प्रजातिको गुराँस भएकाले यसको नाम रोडोडेन्ड्रम कोवानियनम राखिदिएका थिए । उक्त नाम स्कटिस वनस्पतिविद् जोन म्याकक्विन कोवानको सम्मानमा राखिएको थियो ।

संसारमा गुराँसका हजारभन्दा बढी प्रजाति रहेका छन् । तीमध्ये नेपालमा ३३ प्रजाति पाइन्छन् । नेपालमा पाइने गुराँसमध्ये दुई वटा रैथाने हुन् । अरु अन्य मुलुकहरूमा पनि पाइन्छन् । इरिकेल्स अर्डरअन्तर्गत इरिकेसिया परिवारको रोडोडेन्ड्रोन जिनसअन्तर्गत पर्ने गुराँस चौडापाते र सदावहार वनस्पतिका रूपमा लिन्छ ।

गुराँसको आकार झाडीदेखि मझौला रुखसम्मको हुन्छ । केही प्रजाति ३० मिटरसम्म अग्लो हुने अध्ययनहरूले देखाएका छन् । रातो, सेतो, गुलाबी, पहेँलो, नीलो, बैजनी, सुन्तलालगायतका रंग भएका गुराँसका फूलहरू छन् । यो पानी नजम्ने तथा पातपतिंगर कुहिएर बनेको दोमट अम्लीय माटोमा पाइने गर्छ । यस्तै शीतोष्ण हावापानीमा खोलाको सेप परेको चिसो बालुवा तथा गेग्रान भएको स्थानमा उम्रने अध्ययनहरूले देखाएका छन् ।