FLASH NEWS
  • Loading...

रास्वपाको उदयले पुराना दलहरु ‘त्रसित’

  • पुनहिल डट कम
  • १ साल अघि
  • १५९ पटक पढिएको
रास्वपाको उदयले पुराना दलहरु ‘त्रसित’

राष्ट्रिय स्वतन्त्र पार्टीको नेपालको राजनीतिमा जबरजस्त स्थापित हुँदै जाँदा पुराना पार्टीहरु ‘त्रसित’ हुन थालेको छ।

हालै सम्पन्न उपनिर्वाचनकाे सार्वजनिक मतपरिणामले  पुराना दलहरुमा थप त्रासदी उत्पन्न गराएको हाे । सत्ता गठवन्धका विरूद्ध अत्याधिक भारी मतले रास्वपाका उम्मेदवार विजयी भएपछि नेपाली राजनीतिमा जबरजस्त भइसकेको पुराना दलका शीर्ष नेताहरुले अाहत भएकाे अन्तर्यबाट स्वीकार गरिसकेका छन्। तथापि सार्वजनिक रुपमा उनीहरुले संगठित मत र शक्ति मान्न अझै तयार छैनन्।

गत मंसिर ४ गतेकाे चुनावले नै पुराना दलहरू विरूद्ध घन्टी बजेकाे भएपिन उपचुनावले परम्परागत पार्टीहरूकाे मुटुमै ढ्याङ्ग्राे ठटाएकाे छ । पुराना दललाइ ‘सक्किने या सच्चिने’ अन्तिम अवसरका रुपमा रास्वपाले उपनिर्वाचनको मतपरिणाम मार्फत सूचित गराइसकेको छ।

उपनिर्वाचनकाे मतपरिणाम सार्वजनिक हुँदानहुँदै सत्ता नेतृत्व गरेकाे माअाेवादीले वाम घटक सम्बद्ध दलहरु विचार मिल्ने पार्टीबीच संयुक्त मोर्चा हुँदै एकताको गुहकार्यबारे औपचारिक छलफलमा जुटेकाे बताउन थालेका छन्। नेकपा (माओवादी केन्द्र) लगायत अन्य वाम घटकहरुको समाजवादी मोर्चा हुँदै समाजवादी केन्द्र नामक पार्टी बनाउने अभियानमा जुटेका छन्।

नेपालको राजनीतिक व्यवस्थाको हिमायतिका रुपमा रहेका परम्परावादी तथा ठूला पार्टीहरुको साख भर्खरै सम्पन्न उपनिर्वाचनले गिराएको छ। यसको समीक्षा सबै दलले गम्भीरतापूर्वक गर्न थालेका छन्।

रास्वपाको उदयलाई सत्तारुढ नेपाली कांग्रेसले आफ्नो पार्टीको विकल्पका रुपमा खडा भएको राजनीतिक शक्तिका रुपमा आन्तरिक रुपमा विश्लेषण गर्न थालेको छ। आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकमा आफ्नै उम्मेदवार निर्वाचित क्षेत्रमा कांग्रेसबाटै गएका उम्मेदवारहरुले रास्वपाको तर्फबाट अत्यधिक मतले विजयी हुनु काँग्रेसले लज्जा महसुस गरेकाे छ।

कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार भक्तपुरमा आयोजित एक कार्यक्रममा राष्ट्रिय राजनीतिमा योगदान दिएका नेताहरुको इतिहासबारे जानकार गराउनुपर्ने धारणा व्यक्त गरेका थिए। उनको आशय अनुसार राजनीतिक योगदान बारे अहिलेको पछिल्लो पुस्ता जानकार नभएर निर्वाचन परिणाम नयाँ दलको पक्षमा गएको हो।

उता, एमालेका उपमहासचिव पृथ्बीसुब्बा गुरुङले उपनिर्वाचनको मतपरिणामले जनताको असन्तुष्टि ब्यक्त भएको तर विकल्पका रुपमा खडा हुन नसकेको टिप्पणी गरे। देशका विद्यमान दलहरुको विरुद्धमा सांकेतिक विद्रोह भएको उनको स्वीकारोक्ति छ। तर, नयाँ दलको आगमनले पुराना पार्टीहरुमा साख र विगतको विगतको विरासत जोगाउनुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको छ।

नेकपा (माओवादी केन्द्र) का युवा नेता रामप्रसाद सापकोटा दीपशिखाले मंगलबार फेसबुकमार्फत लेखेका छन्, ‘आदरणीय पार्टी अध्यक्ष–प्रधानमन्त्रीको ध्यानकर्षण होस्! सरकार असफल हुँदा माओवादी पनि सकिन्छ, जुन उचाइबाट सरकारको कार्यसम्पादन हुनुपर्ने हो, भइरहेको छैन ।’

उपनिर्वाचनको मत परिणामले तीनवटै क्षेत्रमध्ये दुईवटामा अत्यधिक मतका साथ रास्वपाका उम्मेदवार विजयी भएपछि आफूहरुको खस्कँदो जनमतबाट पुराना दलहरुले कमीकमजोरीको गहिरो समीक्षा गर्न थालेको बताइएको छ। कतिपय पार्टीका युवा नेताहरुले नेतृत्वको खुलेरै आलोचना गर्न थालेका छन्।

चितवन- २ र तनहुँ-२को मतपरिणामले नयाँ दलको प्रभाव विस्तारै सबै क्षेत्रमा फैलन सक्ने र यसको जबर्जस्त आगमन अर्को निर्वाचनमा देखिने राजनीतिका जानकारहरुले औंल्याइरहेका छन्।