FLASH NEWS
  • Loading...

म्याग्दीमा ८० प्रतिशत पाठ्यपुस्तक आए, चैत २८ बाट वितरण सुरू गरिने

  • पुनहिल डट कम
  • १ साल अघि
  • १४७ पटक पढिएको
म्याग्दीमा ८० प्रतिशत पाठ्यपुस्तक आए, चैत २८ बाट वितरण सुरू गरिने

आसन्न शैक्षिक सत्रकालागी म्याग्दीमा ८० प्रतिशत पाठ्यपुस्तक जिल्लामा आई सकेको म्याग्दी पुस्तक तथा स्टेसनरी ब्यवसायी संघले जनाएको छ ।

संघले सरोकारवालासँगको वितरण मोडेल तय गर्न बसेको बैठकमा आवश्यक पर्ने मध्य कक्षा ७ को सामाजिक विषय बाहेक ८० प्रतिशत पाठ्यपुस्तक जिल्लामा आई सकेको र वैशाख ३ गतेसम्म ल्याई सक्ने प्रतिवद्धता जनाएको हो । संघको नेतृत्वमा आवद्ध सवै २८ जना पुस्तक ब्यवसायीले सहकारी मोडेलमा १ करोड लगानीमा जनक शिक्षा सामाग्रीबाट जिल्लामा आवश्यक पर्ने सवै पाठ्यपुस्तक खरिदगरी ल्याएर विद्यालयहरुलाई वितरण गर्ने गरेको छ ।

‘नेपालमै मोडेलको रुपमा जिल्लाका सवै स्टेसनरी ब्यवसायीले एकद्वार प्रणाली अर्न्तगत सामुहिक रुपमा जनक शिक्षा सामाग्रीबाट पाठ्यपुस्तक खरिदगरी ल्याएर पालिका मुकामसम्म पुर्‍याउने गरेका छौं ’ नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी संघ गण्डकी प्रदेश समितिका अध्यक्ष लिलाराम गौतमले भने, ‘ब्यवसायीले पनि ग्राहक तानातान गर्नु परेन, शेयर लगानी अनुसारको मुनाफा लिए भयो । जनक शिक्षामा धाउनु पर्ने, स्कुल स्कुलमा विन्ती विसाउनु पर्ने समस्या भोग्नु पर्दैन ।’

पुस्तक तथा स्टेसनरी ब्यवसायी संघले सदरमुकाम बेनीमा खोलेको पुस्तक वितरण डिपोका अनुसार चैत २८ गतेबाट जिल्लाको सवैभन्दा दुर्गम धवलागिरी गाउँपालिका केन्द्रसम्म सवै सेट पाठ्यपुस्तक पुर्‍याउन सुरु गरिने भएको छ । विद्यालयहरुले शिक्षा विकास तथा समन्वय इकाइलाइ उपलब्ध गराएको विद्यार्थी संख्या विवरण अनुसार जिल्लामा कक्षा १ देखी १० सम्म अध्ययनरत १४ हजार ६ सय ७० जना विद्यार्थीलाई नयाँ पाठ्यपुस्तक आवश्यक पर्छ ।

विवरण अनुसार कक्षा १ मा १ हजार ४ सय, कक्षा २ मा एक हजार तीन सय ७७, कक्षा तीनमा एक हजार तीन सय ९४, कक्षा चारमा एक हजार ४ सय ७१, कक्षा पाँचमा एक हजार छ सय छ, कक्षा छ मा एक हजार पाँच सय ४७, कक्षा सातमा एक हजार सात सय चार। कक्षा आठमा एक हजार आठ सय ८९, कक्षा नौमा एक हजार ८ सय ४३ र कक्षा १० मा एक हजार आठ सय ३९ सेट पाठ्यपुस्तक आवश्यक पर्छ । संघले पालिका केन्द्रसम्म पुस्तक पुर्‍याउने र विद्यालयहरुले पालिका केन्द्रमा तोकिएको पुस्तक पसलबाट पाठ्यपुस्तक पाउने भएका छन ।

‘सदरमुकाम समेत सुगमका विद्यार्थीले पहिलो पुस्तक हात पार्ने दुर्गमका विद्यार्थीले शैक्षिक सत्र सकिने वेलासम्म पाठ्यपुस्तक नपाउने समस्या हामीले अन्त्य गर्छौ । एउटा अधुरो किताव खोज्न दुर्गमको विद्यार्थी कहिले कसरी सदरमुकाम आउने त्यसैले पहिला दुर्गका विद्यालयमा सेट नै पुस्तक पठाउँछौं’ म्याग्दी पुस्तक तथा स्टेसनरी ब्यवसायी संघका अध्यक्ष नवराज पौडेलले भने, ‘नयाँ पुस्तक पाउने सवै विद्यार्थीको अधिकार हो । अव विद्यार्थी किताव खोज्न पुस्तक पसलमा पुग्नु पर्दैन, सम्बन्धित विद्यालयबाटै पाउँछन ।’

त्यसैविच शिक्षा विकास तथा समन्वय इकाइ म्याग्दीका प्रमुख दलवबहादुर थापाले गत वर्ष पुस्तक ब्यवसायीले विद्यालयबाट एक मुष्ठ सवै पाठ्यपुस्तकको रकम बुझेपनि सवै विद्यार्थीले नयाँ पाठ्यपुस्तक नपाएको गुनासो आएकोले रकम फिर्ता गर्न ब्यवसायीलाइ सुझाएका छन ।

‘गत वर्ष विद्यालयले सवै पाठ्यपुस्तकको रकम भुक्तानी गरेका भएपनि सवै विद्यार्थीले पुरै पाठ्यपुस्तक नपाएको गुनासो आएको छ । सवै पाठ्यपुस्तक आयो भन्ने तर विद्यार्थीले पुराना र थोत्रा पुस्तक पढ्नु पर्ने अवस्था आउनु भएन’ संघले सरोकारवालासँगको पुस्तक वितरण मोडेल तय गर्न आयोजना गरेको बैठकमा शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख दलवबहादुर थापाले भने, ‘पाठ्यपुस्तक विक्रि गरेको विल पुरा प्राप्त नभै रकम भुक्तानी नदिन पनि विद्यालयहरुलाई आग्रह छ ।’