FLASH NEWS
  • Loading...

नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८

  • पुनहिल डट कम
  • १ साल अघि
  • ६८ पटक पढिएको
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८

जनगणना २०७८ अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ रहेको घोषणा गरिएको छ । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिक गरेका हुन्।

राष्ट्रिय जनगणना २०७८ अनुसार (जनगणना सन्दर्भ दिन २०७८ साल मंसिर ९ गते) नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ।

जसमध्ये पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५५१ (४८.९८ प्रतिशत) र महिलाको संख्या १ करोड ४९ लाख ११ हजार २७ (५१.०२ प्रतिशत) छ । जस अनुसार लैङ्गिक अनुपात अर्थात् प्रति १०० जना महिलामा पुरुषको संख्या ९५.५९ जना रहेको छ।

२०७८ माघ महिनामा सार्वजनिक गरिएको प्रारम्भिक नतिजामा नेपालको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४८० रहेको थियो। २०७८ साल कात्तिक २५ गतेदेखि मङ्सिर ९ गतेसम्म राष्ट्रिय जनगणना सञ्चालन गरिएको थियो।

शुक्रबार सार्वजनिक गरिएको तथ्यांक अनुसार देशका ७७ जिल्लामध्ये काठमाडाैंको जनसंख्या सर्वाधिक २० लाख ४१ हजार ५८७ पुगेको छ। त्यसपछि धेरै जनसंख्या हुने जिल्लामा क्रमशः मोरङ, रुपन्देही, झापा अनि सुनसरी छन्।

सबैभन्दा कम मनाङ जिल्लाको जनसङ्ख्या ५,६५८ छ। कम जनसंख्या हुने जिल्लाको सूचीमा दोस्रो स्थानमा मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला छन्। ‘‘काठमाण्डूको वार्षिक जनसङ्ख्या वृद्धि दर सर्वाधिक (१.५१ प्रतिशत) छ भने मनाङको सबैभन्दा कम (-१.३९ प्रतिशत) छ,’’ प्रतिवेदनमा उल्लेख छ।

जनगणनाका अनुसार सबैभन्दा बढी जनसंख्या (२०.९७ प्रतिशत) बाग्मती प्रदेशको छ भने सबैभन्दा कम कर्णाली (५.७९ प्रतिशत) प्रदेशमा। २०.९७ प्रतिशत नै जनसंख्या रहेको मधेस प्रदेश दोस्रो स्थानमा छ। त्यसपछि उच्च जनसङ्ख्या हुने स्थानमा क्रमशः कोसी, लुम्बिनी, सुदूरपश्चिम अनि गण्डकी छन्।

त्यस्तै नगरपालिकाहरूमा कुल जनसंख्याकाे ६६.१७ प्रतिशत मानिसहरू बसोबास गर्छन् भने गाउँपालिकामा बसोबास गर्नेहरूको संख्या ३३.८३ प्रतिशत छ। क्षेत्रगत रूपमा सबैभन्दा बढी मानिस तराइमा बस्छन्। तथ्यांकले पछिल्लो दशकमा तराइमा बसोबास गर्नेको संख्या झन् बढेको देखाएको छ।

उक्त क्षेत्रमा एक करोड ५६ लाख ३४ हजार ६ मानिसको बसोबास छ जुन कुल जनसंख्याको ५३.६१ प्रतिशत हो। एक दशक अघि उक्त संख्या ५०.२७ प्रतिशत थियो। पहाडी जिल्लामा बसोबास गर्नेको संख्या भने पछिल्लो एक दशकमा ४३.०१ प्रतिशतबाट घटेर ४०.३१ प्रतिशत (एक करोड १७ लाख ५७ हजार ६२४) पुगेको छ।

हिमाली क्षेत्रको जनसंख्या पनि घटेको छ। कुल जनसंख्याको ६.०१ प्रतिशत मानिस बसोबास गर्ने गरेको उक्त क्षेत्रमा हाल १७ लाख ७२ हजार ९४८ मानिसहरूको बसाइ छ जुन ६.०८ प्रतिशत हो।

प्रतिवेदनका अनुसार काठमाडाैं, ललितपुर र भक्तपूरको कुल जनसङ्ख्या ३० लाख २५ हजार ३८६ छ। सन् २०११मा गरिएको जनगणनामा त्यस्तो सङ्ख्या क्रमशः २०.८७ र ५.९३ प्रतिशत थियो। काठमाडाैं जिल्लामा महिला र पुरुषको अनुपात लगभग उस्तै रहेको देखिन्छ। काठमाडाैंमा १० लाख ३५ हजार ७२६ पुरुष छन् भने महिला सङ्ख्या १० लाख पाँच हजार ८६१ छ।

कुल जनसंख्यामध्ये सात लाख भन्दा बढी विगतमा बसोबास गर्दै आएको स्थानमै बसोबास गरिरहेको, तीन लाख ३२ हजार भन्दा बढी काठमाण्डूमै अन्य स्थानीय तहमा बसाइ सराइ गरेको र ९४६,२५० जना भने अन्य जिल्लाबाट आएको तथ्याङ्कले देखाएको छ। विदेशबाट फर्किएर काठमाण्डूमा बसिरहेकाहरूको संख्या झन्डै ५० हजार छ।

पछिल्लो तथ्याङ्क अनुसार काठमाण्डू उपत्यकामा ललितपुर जिल्लाको जनसंख्या ५५१,६६७ छ भने भक्तपुरको जनसङ्ख्या ४३२,१३२ पुगेको छ। दुवै जिल्लामा महिला र पुरुषको अनुपात लगभग समान देखिन्छ। सबैभन्दा कम जनसंख्या रहेको मनाङ महिलाहरूको संख्या २,४६६ रहेकामा पुरुषहरूको संख्या ३,१९२ छ।

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा २०७८ माघ महिनामा सार्वजनिक गरिएको थियाे। २०७८ साल कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म राष्ट्रिय जनगणना सञ्चालन गरिएको थियो।

राष्ट्रिय जनगणना २०७८ काे नतिजा मोबाइल एपबाट पनि हेर्न सकिने छ । साथै मातृ मृत्यु प्रतिवेदन पनि सार्वजनिक गरिएको छ।