FLASH NEWS
  • Loading...

म्याग्दीमा बढ्दै सुँघ्ने, खाने र सुईबाट लागु औषध लिने दुर्व्यसनी

  • पुनहिल डट कम
  • १ साल अघि
  • २३४ पटक पढिएको
म्याग्दीमा बढ्दै सुँघ्ने, खाने र सुईबाट लागु औषध लिने दुर्व्यसनी

म्याग्दीका गाउँ गाउँमा सुँघ्ने, खाने र सुईबाट लागु औषध सेवन गर्ने दुर्ब्यसनी बढ्न थालेका छन ।

प्रहरीले पक्राउ गरेका ब्राउन सुगर (सुँध्ने), ट्याब्लेट नाइट्रलेट (खाने) र डाईजापाम, फेनेरागन, नुर्फिन (सुईबाट लगाउने) लागु औषधका कारोवारी तथा भरियाहरुको तथ्याङ्कले घट्दो जनसंख्या भएको म्याग्दीमा दुर्ब्यसनीको संख्या हृवात्तै बढेको देखिएको हो ।
प्रहरीले पछिल्लो १५ दिनमा तीन वटा छुट्टाछुट्टै प्रकृतिका लागु औषध कारोवारीलाई ठूलो परिणामको लागु औषध सहित पक्राउ गरेको जनाएको छ । बेनीको कालीपुल वसपार्क क्षेत्रबाट भारतको पश्चिमबंगाल माल्दाहका २८ बर्षिय अलेमुन हकको साथबाट सुँध्ने लागु औषध ६.५ ग्राम खैरो हिरोईन, रुपन्देही सोमरीमाईका १९ बर्षिय मुस्ताफा खानलाई खाने ३ सय ९३ थान नाइट्रेड ट्याब्लेट सहित पक्राउ गरेको हो ।
त्यस्तै, नसाबाट लगाईने लागु औषध डाईजापाम २०० एम्पुल, फेनेरागन २०१ एम्पुल र नुर्फिन २०० एम्पुल सहित म्याग्दीको रघुगंगा गापा, ७ चिमखोलाकी २८ बर्षिया सोविता बागदास तथा बेनी नगरपालिका, ९ घतानका ३२ बर्षिय प्रेम सार्की पक्राउ परेका छन ।
पक्राउ परेका सवैलाई लागु औषध सम्बन्धी अदालतमा मुद्धा दर्ता गरी थप अनुसन्धानकालागी म्याद थप गरिएको प्रहरीले जनाएको छ । कारोवारी सवैले त्रिवेणी नाका प्रयोग गरी भारतीय बजारबाट यी लागु पदार्थ ल्याएको पनि प्रहरीले दावी गरेको छ ।
‘लागुऔषधका स्थानीय कारोवारीसम्म पुगेका छौं । जिल्लामा लागु औषध कारोवार बढ्दै गएको देखिन्छ’ जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक मदन कुँवरले भने, ‘अनुसन्धान भैरहेकोले थप जानकारी खुल्ने छ ।’
प्रहरीले मिडियालाई सार्वजनिक गरेको अभिलेख अनुसार प्रहरीले ०७३ बैशाख, ०७४ फागुन, ०७५ पुस र ०७६ असार १ गते डाईजापाम, फेनेरागन, नुर्फिन तथा सिरिन्ज १०९/१० एम्पुल बरामद सहित भरिया/सेवनकर्ता र कारोवारी पक्राउ गरेको थियो । ०७७ मा बरामद भएको डाईजापाम, फेनेरागन, नुर्फिन मात्रा बढेर १५० एम्पुल पुगेको थियो । तथ्याङ्कले गत वर्ष प्रहरीले लागु औषध नियन्त्रण तर्फ खासै अभियान चलाएको देखिएन ।
चालु आवको फागुनमा मात्र जिल्ला प्रहरी कार्यालयको नेतृत्व परिवर्तन भएसँगै फेरी लागु औषध विरोधी अभियान चलेको छ । जिल्ला प्रहरी कार्यालयको प्रमुख भै आएका प्रहरी नायव उपरिक्षक मदन कुँवरले नेतृत्व संहालेको एक महिनामा फरक फरक प्रकृतिका ठूलो परिणाममा लागु औषध समातिएको छ ।
सदरमुकाम बेनीसमेत लागुऔषध प्रयोगकर्ता किसोर–किसोरीको संख्या बढेको प्रहरीले दावी गरेको छ । सदरमुकाम बेनी भित्राईने सवै प्रकारका लागुऔषध स्थानीय दोस्रो कारोवारी मार्फत प्रयोगकर्तासम्म पुग्ने गरेको छ ।
सदरमुकामसमेत सहरी क्षेत्रमा ब्राउनसुगर, इन्जेक्सनबाट लागुऔषध सेवनकर्ता बढी छन । सहरी क्षेत्रमा मात्र होईन जिल्लाका अधिकांश ग्रामिण क्षेत्रका विद्यालय तहमा समेत चरेस र गाँजा जस्ता नसालु पदार्थ सेवन गर्ने बढेका छन । विद्यालय तहको कलिलो उमेरमा मदिरा सेवन गर्नु त समान्य जस्तै भएको छ । डाक्टरको प्रिस्क्रिप्सन र विरामीको अभिलेख विना प्रयोग गर्न नपाईने डाईजीपाम, क्लोनाजीपाम, अल्प्राजोलाम जस्ता औषधी गिरोहहरुले विद्यालय, क्याम्पसका विद्यार्थीसम्म पुर्‍याएका छन ।