FLASH NEWS
  • Loading...

बलात्कार पीडितहरूको पक्षमा माइतीघरमा प्रदर्शन

  • पुनहिल डट कम
  • १ साल अघि
  • ७३ पटक पढिएको
बलात्कार पीडितहरूको पक्षमा माइतीघरमा प्रदर्शन

‘सर्भाइभर’हरूको पक्षमा ऐक्यबद्धता जनाउँदै सोमबार माइतीघरमा प्रदर्शन भएको छ । ‘अदालती पितृसत्ता मुर्दावाद’, ‘राज्य सत्ता मुर्दावाद’, ‘बलात्कारी संरक्षक होसियार’, ‘छोरीहरुलाई बाँच्न देऊ’, ‘भतभती पोल्छ तब न मान्छे बोल्छ’, ‘सर्भाइभरलाई हिम्मत’,‘उत्पीडकलाई चेतावनी’ लगायत ब्यानरसहित प्रदर्शनकारीहरूले नारा लगाएका थिए ।

आन्दोलनमा सहभागी रोशन तामाङले उच्च पहुँच भएकाहरुको न्यायलयमा उत्पीडित वर्गहरुले न्याय नपाउने अवस्था रहेको बताए । उनले भने, ‘पीडितहरुलाई दबाब दिएर बयान फेर्न लगाइन्छ । न्याय खोसिन्छ अनि अपराधीलाई फूलमाला र जयजयकार हुन्छ । पीडितलाई सहानुभूति र हिंस्रक प्रवृत्तिलाई खबरदारी गर्न हामी यहाँ जम्मा भएका हौँ ।’

आन्दोलनमा ऐक्यबद्धता जनाउन आएका प्रकाश देवकोटाले नेपालमा विचारहरुको मन्थन नै नहुने र गम्भीर अपराधलाई पनि सामन्यीकरण गर्ने चलन रहेको बताए । ‘यस्तो प्रवृत्तिले देशलाई सही दिशामा पुर्‍याउँदैन। सचेत मान्छेहरूले आवाज उठाउन आवश्यक छ,’ उनले भने ।

भावना घिमिरेले बलात्कारका मुद्दामा हुने अदालतको फैसलाले अपराधीलाई प्रोत्साहन गरिरहेको भन्दै न्यायलय नै अपराधीको मतियार रहेको बताइन् ।

उनले भनिन्, ‘राज्य र त्यसका सबै संरचना लगातार महिलामाथि हुने अपराधका मुख्य संरक्षकको रुपमा लागेका छन् । महिलाहरुलाई अपराध गर्न छुट छ भन्ने बुझाइ छ । चेतनाशून्य छ समाज । महिलाको मुद्दामा संवेदशील भएको पाइँदैन।’