FLASH NEWS
  • Loading...

बेनी–जोमसोम–कोरोला सडकमा ६ अर्व सकियो, बाँकी काम सक्न थप ७ अर्व चाहिने

  • पुनहिल डट कम
  • १ साल अघि
  • २१२ पटक पढिएको
बेनी–जोमसोम–कोरोला सडकमा ६ अर्व सकियो, बाँकी काम सक्न थप ७ अर्व चाहिने

फाइल तस्वीर ः ०६४ फागुन २३ गते सेना दिवसकाे दिन बेनी–जाेमसाेम सडककाे पाइलट ट्रयाककाे उद्घाटन क्रममा म्याग्दी र मुस्ताङ सीमावर्ती बाँदरजुँगभीरमा सेनाले राखेकाे ब्यारेल हटाएर उद्घाटन गरिदै । फाेटाे ः घनश्याम खड्का

गण्डकी प्रदेशको लाईफ लाईन मानिएको कालीगण्डकी करिडोर अर्न्तगत बेनी–जोमसोम–कोरोला अर्न्तदेशिय सडककाे हालसम्सम म्पन्न ७२ प्रतिशत निर्माण गर्न ६ अर्व बजेट सकिएको छ । सडककाे थप काम गर्न, सडक कालोपत्रे, सुरुङ मार्ग र पहिरो नियन्त्रण गर्न थप ७ अर्व बजेट आवश्यक पर्ने कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरोला सडक आयोजनाले जनाएको छ ।
आयोजनाका अनुसार हालसम्म बेनी–जोमसोम–कोरोला सडक निर्माण गर्न हालसम्म ६ अर्व बढी खर्च भैसकेको छ । खर्चमध्य जोमसोम–कोरोला खण्डमा ३ अर्वबढी खर्च भएको छ । घाँसा–जोमसोमसम्म करिव २ अर्व र बाँकी रकम बेनी–घाँसा खण्डमा खर्च भएको हो । खर्चमा आयोजनाले निर्माण गरेका/निर्माणाधिन गरी १८ पुल समावेश छन ।


बाँकी सडक कालोपत्रे गर्न ५ अर्व लागत अनुमान गरिएको छ । त्यस्तै भीरकाटेमा ३ सय ५० मिटर लामो सुरुङ मार्ग बनाउन ८० करोडबढी र सडकमा आएका पहिरोग्रस्त १० स्थानमा संरक्षणको काम गर्न थप ६० करोडबढी लागत अनुमान गरिएको छ ।
०७६ मंसिरमा सम्पन्न भैसक्नु पर्ने गरी ठेक्का लागेको बेनी–जोमसोम–कोरोला सडकको माघ मसान्तसम्म ७२ प्रतिशत मात्र भौतिक प्रगती छ । ०७३ मंसिर १२ गते कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरोला सडक आयोजना स्थापना भै एक सय ८६ किलोमिटर लामो सडक ७ मिटर कालोपत्रेसहित ११ मिटर चौडा बनाउन ७ अर्व ३५ करोड रुपैयाँमा ठेक्का लागेका थियो । आयोजनाले काम ‘छिटोछरितो’ सम्पन्न गर्न बेनी–जोमसोम ४ र जोमसोम–कारोरोला ७ गरी ११ प्याकेज बनाएको थियो ।
‘आयोजना स्थापना भै ठेक्का लागेदेखी यता बेनी (गलेश्वर)–जोमसोम–कोरोलासम्म सडक स्तरउन्नोति गर्न १० अर्व ३५ करोड लागत अनुमान रहेकोमा ७ अर्व ५५ करोडमा ठेक्का लागेको हो । आयोजनाको ७२ प्रतिशत भौतिक प्रगति छ’ कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरोला आयोजना प्रमुख जगत प्रजापतिले भने, ‘बाढीपहिरो र कोरोना समेतका कारणले आयोजना समयमा सम्पन्न हुन नसक्दा लागत बढेको छ । भौगोलिक जटिलता पनि छन । केही ब्यवसायी पनि सक्षम देखिएनन ।’ आयोजना प्रमुख प्रजापतिले थपे, ‘सवै ब्यवसायीलाई थप भएको म्याद पनि असार मसान्तमा सकिदै छ । अझै काम गराउन सके धेरै गर्न सकिन्छ भन्ने लागेकै छ ।’


आयोजनाका अनुसार जोमसोम–कोरोला १ सय १० किलोमिटर लामो सडकको ९० प्रतिशत भौतिक प्रगति छ । बेनी–जोमसोम ७४ किलोमिटरमध्य मुस्ताङ खण्डमा पर्ने घाँसा–सोमसोम ३६ किलोमिटर सडकको ८० प्रतिशत र म्याग्दीमा पर्ने बेनी (गलेश्वर)–घाँसा ३८ किलोमिटरमा ७० प्रतिशत भौतिक प्रगति छ । बेनी–घाँसा सडक खण्डको ३८ किमीमध्य १५ किलोमिटर क्षेत्र अति कठिन क्षेत्र हो । यही कठिन भुगोलमा डिजाईन रिभ्यु गरी भीरकाटेमा ३ सय ५० मिटर लामो सुरुङ मार्ग खन्न डिजाइन भैरहेको छ । अर्को २ किमी सडकमा रहेका १० वटा पहिरोको पनि थप अध्ययन भैरहेको छ ।


आयोजना प्रमुख प्रजापतिका अनुसार एक सय ८६ किमीमध्य २९ किलोमिटर सडक कालोपत्रे भएको छ । थप एक सय किमी सडक कालोपत्रे गर्न ठेक्का लागेको छ । थप १ सय २ किलोमिटर सडक कालोपत्रे गर्न ठेक्का लाग्न बाँकी छ ।
सवै जिल्ला सदरमुकाम मोटरबाटोले जोड्ने निती अनुसार ०५८ मंशिरदेखी बेनी–जोमसोम सडक निर्माण सेनालाई दिईएको थियो । सेनाले ०६४ फागुन २३ गते सेना दिवसको अवसरमा पाईलट ट्रयाकमा यातायात खुल्ला गरेको हो । द्वन्द्वकालमा पटक–पटक माओवादी अवरोध झेलेको यो सडकले ०६३ पछि मात्र गति लिएको हो । ९० करोड ५६ लाख १० हजार खर्च भएको थियाे।