FLASH NEWS
  • Loading...

पर्यटकको पर्खाइमा रहस्यमय गाईखर्क ताल

  • पुनहिल डट कम
  • १ साल अघि
  • ११९ पटक पढिएको
पर्यटकको पर्खाइमा रहस्यमय गाईखर्क ताल

-प्रकाश अधिकारी

के तपाईँले कहिल्यै बर्खामा निलो र हिँउदमा रातो हुने ताल देख्नुभएको छ ? मालिका गाउँपालिकाको देविस्थान–५, दाङ्गामा पर्ने गाईखर्कको तालमा लुकेको एउटा रहस्यमयी ताल हाे, गाइखर्क ताल ।

देविस्थान ५ दामा रहेको तालको पानीको मुहान देखिदैन, जंगलको विचमा अवस्थित जति खडेरी परे पनि पानी नसुक्ने अनौठो विषेशता भएको प्राकृतिक ताल हो गाईखर्क । हावा–हुरीले तालमा झारेका पात चराचुरुङ्गीले टिपेर लैजाने र कहिल्यै पानी फोहोर नहुने यसको अर्को विशेषता हो । यस तालको सबैभन्दा ठूलो विशेषता यो हो कि वर्षामा निलो र हिँउदमा यसको पानी पूर्ण रूपमा रातो रङ्गको हुन्छ ।

तालको छेउमै बराह देवताको मन्दिर रहेको छ । ती देवताको पुजा गर्दा सन्तान प्राप्त हुने जनविश्वास छ । रहस्यमय र अनौठो गाइखर्क ताल समुन्द्रि सतहदेखि करिब २ हजार ४ सय मिटरको उचाइमा अवस्थित छ । देविस्थानकाे दाङखोलाको सिरान थाप्ले पहाडको कोखमा बसेको छ ।

ताल ४६ लाम्बाइ र चाैडाइ ५५/५५ मिटर र गहिराइ ३ मिटर रहेकाे पालिकाले जनाएकाे छ ।  पालिको सहयोग र स्थानीयको सक्रियतामा तालको छेउमा मन्दिर र गेट निर्माण गरिएको छ । हाडिस खोलादेखि तालसम्म सडक बनाएको छ ।

देविस्थानकाे घरीथोकदेखि ३० मिनेट उकालो पैदल हिडेपछि पुगिने गाईखर्क ताल प्रचारप्रसार र संरक्षण नहुँदा अझै पर्यटकको नजरमा परेको छैन । बाँध बनाएपछि क्षेत्रफलसँगै गहिराइ पनि बढेको छ । गोलो आकारको तालको पृष्ठभूमिमा धौलागिरि, गुर्जा लगायतका हिमालको दृष्य अवलोकन गर्न सकिन्छ । प्राकृतिक दृश्यले सुशोभित र मनोहर छ । मिलेको बनोट र प्रकृतिक एवं जैविक विविधता नै यसको अर्को आकर्षण हो ।

फेवातालको आगनमा जसरी माछापुच्छ्रेको छायाँ पर्छ त्यस्तै गाईखर्कतालमा धौलागिरि र गुर्जा हिमाल पौडि खेलेको देख्न सकिन्छ । प्राकृतिक एवं आध्यात्मिक भूमि मालिका ५ देविस्थान आत्रे गोत्रीय बगाले थापाले राज्य चलाएको ऐतिहासिक थलो हो । यहाँ भन्दा प्राचिन पहाड, सेताम्य हिमालहरु, पहाडी बस्तीमा रमाउनेहरुका लागि पृथ्वीमा कुनै ठाँउ छैन् । तालतलैया, पोखरी, दह, मठमन्दिर, पाटिपौवा, चौतारा, साना साना छरिएर रहेका वस्तीहरुले जोकोहीको मन लोभ्याउँछ ।

बेनी–दरबाङ २३ किमि, बसमा २ घन्टा हिँडेपछि पश्चिम म्याग्दीको केन्द्र दरबाङ आइपुगिन्छ ।  दरबाङ करिब ९ किमि जिपमा कच्ची सडकको यात्रा गरेपछि घरिथोक झर्न सकिन्छ । हाडिस खोलादेखि तालसम्म  पुग्न ३० मिनेट उकालो पदयात्रा गर्नुपर्दछ । *अधिकारी गाैवम वस्त माविका शिक्षक हुन ।