FLASH NEWS
  • Loading...

वैदेशिक रोजगारीमा रहेकालाई पनि आयो आइपीओ कोटा, यसरी दिनुस् आवेदन

  • पुनहिल डट कम
  • १ साल अघि
  • ९६ पटक पढिएको
वैदेशिक रोजगारीमा रहेकालाई पनि आयो आइपीओ कोटा, यसरी दिनुस् आवेदन

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओमा कोटा प्रणाली कार्यान्वयनमा आएको छ।

वैदेशिक श्रममा रहेकाहरुका लागि कम्पनीहरुले कोटा छुट्याउन थालिसकेका छन्। तर सेयरमा लगानी गर्न चाहेर पनि आवेदन दिने प्रक्रिया प्रष्ट नहुँदा धेरैजना अलमलमा रहेको पाइएको छ।

सेयर बजार बुझेकाहरु कतिपयले बेग्लै कोटा नछु्याउँदै विदेशबाटै कारोबार गरिरहेका थिए। कोटाको कसरी पाइन्छ भन्नेमा उनीहरुको पनि जिज्ञासा छ। धितोपत्र बोर्डले आइपीओमा सर्वसाधारणको हिस्सालाई घटाउँदै विदेशी रोजगारीमा रहेकाहरुका लागि १० प्रतिशत कोटा अनिवार्य गरेको हो।आइपीओ खरिदमा चासो राख्ने सर्वसाधारणको संख्या बढ्दा एक जनालाई १०/१० कित्ता परे सौभाग्य मान्नुपर्ने अवस्था छ। यस्तोमा निश्चित कोटा नै पाउँदा वैदेशिक रोजगारीमा रहेर सेयर बजार बुझेकाहरुको उत्साह नै बेग्लै छ।

श्रम मन्त्रालयबाट श्रम स्वीकृति लिएका नेपालीलाई मात्र साधारण सेयरमा उक्त कोटा छुट्याइएको हो। नेपाल धितोपत्र बोर्डका अनुसार कोटाको सेयरका लागि आवेदन दिन चाहनेले वैदेशिक रोजगारीका लागि नेपाल सरकारको श्रम स्वीकृति लिएको हुनु अनिवार्य छ। साथमा आवेदकको स्वयंको नाममा बैंकमा  रेमिट्यान्स खाता खोलेको हुनुपर्छ। साधारण बचत खाताले हुँदैन।

वैदेशिक रोजगारीका लागि मुलुकबाट बाहिरिइसकेकाले पनि रेमिट्यान्स खाता खोल्न सक्नेछन्। उनीहरुले नेपाली बैंकमा रहेको आफ्नो साधारण बचत खातालाई समेत रेमिट्यान्स खातामा परिवर्तन गर्न सक्छन्। बैंकहरुले यसका लागि अनलाइन खाता दर्ताको सुविधा उपलब्ध गराएका छन्। सम्बन्धित बैंकको वेबसाइटमा गइ अनलाइन खाता दर्तामा क्लिक गरी सजिलै खाता खोल्न सकिनेछ।

औपचारिक माध्यमबाट रेमिट्यान्स खातामा रकम सिधै पठाउन सकिन्छ। डिपोजिट गर्न सकिन्छ।

यसका लागि पनि श्रम स्वीकृति र भिसा स्टाम्पसहितको राहदानी (पासपोर्ट) स्क्यान गरेर पीडीएफ फर्म्याटमा अपलोड गर्नुपर्नेछ। केही बैंकले त्यस्ता ग्राहकसँग रोजगारीका लागि गएको कम्पनीको सेलरी सिट पनि माग्ने गरेका छन्। विदेशमा रहेको र त्यहाँको कम्पनीमा कार्यरत रहेको प्रणामा निस्चिन्त हुन एक महिनादेखि अधिकतम ६ महिनासम्मको तलबको सूची माग्ने गरेका छन्।

रेमिट्यान्स खाताको आधारमा नै सम्बन्धित व्यक्त्तिले डिम्याट खाताका लागि ‍निवेदन पेस गर्नु पर्नेछ। आवश्य कागजपत्रसहित डिम्याट खाताका लागि निवेदन दिनुपर्छ। जसलगत्तै खाताबाहकको डिम्याट खाता खोलेर सीआरएन (सी-आस्वा रजिष्ट्रेसन) नम्बर प्राप्त गर्न सकिनेछ।

यस अतिरिक्त बैंकले मेरो सेयरको लागि पनि निवेदन फाराम भर्न लगाउने छन्। जसले आवेदकलाई मेरो सेयरको लग इन युजरनेम र पासवर्ड उपलब्ध गराउनेछ। मेरो सेयर सीडीएससी (केन्द्रीय निक्षेप प्रणाली र क्लियरिङ लिमिटेड) ले डेभलप गरेको अनलाइन पोर्टल हो। जसले तिनीहरूको डिम्याट खातामा सेयर लेनदेनको विवरण प्रदान गर्दछ। यो मोबाइल एपमा पनि उपलब्ध छ।