FLASH NEWS
  • Loading...

म्याग्दी-बाग्लुङ जाेड्ने लामाे पुल सञ्चालन

  • पुनहिल डट कम
  • १ साल अघि
  • १८० पटक पढिएको
म्याग्दी-बाग्लुङ जाेड्ने लामाे पुल सञ्चालन

बागलुङ र म्याग्दी जोड्ने झोलुङ्गे पुल निर्माण भएको छ। म्याग्दीकाे बेनी नगरपािलका, १ रत्नेचाैर र  बागलुङ नगरपालिका–४ कुडुँले फाँट जोड्ने तीन सय ८८ मिटर लामो झोलुङ्गे पुल निर्माण भएसँगै यात्रा सहज भएको छ।

कुडुँलेदेखि रत्नेचौर जोड्ने पुल निर्माण सम्पन्न भएकाे पुल निर्माणको जिम्मा पाएको थानी हिमशिखर जेभी निर्माण कम्पनीले जनाएकाे छ ।

सङ्घीय सरकारको ‘सस्पेन्सन ब्रिज’ डिभिजन काठमाडौँले म्याग्दीको बेनी नगरपालिका-१ रत्नेचौरदेखि बागलुङ नगरपालिका–४ कुडँुले जोड्ने ढोडेनी खोलामाथि पुल निर्माण गत असोजमा शिलान्यास गरिएको थियो। कुडुँलेदेखि रत्नेचौर जोड्ने उक्त झोलुङ्गे पुल रु तीन करोड ५० लाखमा निर्माण गरिएको छ।

म्याग्दी जिल्लाको रत्नेचौर, ज्यामरुककोट आसपासका क्षेत्रका बासिन्दाले सदरमुकाम बेनी बजारमा भन्दा बागलुङ बजारमा आर्थिक कारोबार र व्यापार व्यवसाय लगायतका गतिविधि गर्ने भएकाले पुलले आवतजावतमा सहजता थपेको छ।

बागलुङ बजार र रत्नेचौरलाई पर्यटनसँग जोडेर विकास गर्न पुलले सहयोग गर्ने स्थानीयवासीको भनाइ छ। बेनीको रत्नेचौर र बागलुङको कुडुँले फाँटमा तोरी फुल्ने सिजनमा आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेकोमा यसवर्ष पुल निर्माणसँगै पर्यटकको सङ्ख्यामा समेत वृद्धि हुने अपेक्षा गरिएको पूर्व वडाध्यक्ष समेत रहेका स्थानीयवासी टेकबहादुर रावलले जानकारी दिए।

पुल निर्माणसँगै बागलुङको पञ्चकोट, कुँडुलेमा रहेको सालग्राम सङ्ग्रहालय अवलोकन गर्न आउनेको सङ्ख्यामा वृद्धि हुने अपेक्षा गरिएको छ। रत्नेचौर, ज्यामरुककोट लगायतका स्थानीय बासिन्दा प्रशासनिक कामका लागि मात्रै बेनी जाने र अन्य आर्थिक कारोबारका लागि बागलुङ आउने भएकाले सहज हुने भएको छ।