FLASH NEWS
  • Loading...

दशैं लाग्यो, म्याग्दीमा कहिले अाउँछ, नयाँ नोट ?

  • पुनहिल डट कम
  • १ साल अघि
  • ३९५ पटक पढिएको
दशैं लाग्यो, म्याग्दीमा कहिले अाउँछ, नयाँ नोट ?

नेपाल राष्ट्र वैंकले दशैंकालागी असोज २ गते देखी नै नयाँ नोट वितरण थालेपनि म्याग्दीमा भने अझै नयाँ नोट आईपुगेको छैन ।
गाउँ–गाउँबाट दशैंको किनमेल गर्ने र नयाँ नोट साट्न आएका सेवाग्राहीलाई बैंकहरुले पुराना र झुत्रा नोट दिएर फकाउने गरेका छन । जिल्लामा नोट कोष सुविधा लिएको नेपाल बैंक लिमिटेडले राष्ट्र बैंकले नै नयाँ नोट नपठाएकोले अन्य वैंक तथा सर्वसाधारणलाई नयाँ नोट दिन नसकेको बताएको छ ।
‘राष्ट्र बैंक पोखराबाट वुधवार मात्र नयाँ नोट पठाउने भनेको छ । त्यो पनि कति आउने हो टुङ्गो छैन’ नेपाल वैंक बेनी शाखा प्रवन्धक मोहन लामिछानेले भने, ‘दशैं विदा हुन दुई दिन अघि मात्र नयाँ नोट आउँदा वितरणमा हैरानी हुन्छ । अन्य बैंकहरुलाई पनि पुर्‍याउनु पर्‍यो, नेपाल बैंकले मात्र नयाँ नोट दिने भएकोले सर्वसाधारणको लाईन ब्यवस्थापन गर्नै समस्या हुन्छ ।’
राष्ट्र वैंकको नोट कोषको सुविधा लिएको नेपाल वैंक समेत अन्य वैंकहरुले खुद्रा पैसा नदिँदा सर्वसाधारण ठूला ब्यापारीको दैलोमा पुग्न थालेका छन । बैंकले नयाँ नोट नदिएपछि ब्यापारीले पनि खुद्रा पैसा लुकाउन थालेका छन । ग्रामिण भेगबाट दशैं किनमेल र खुद्रा पैसा साट्न आएका सर्वसाधारणले नयाँ नोट मात्र होईन खुद्रा पैसा नै नपाएको गुनासो गरेका छन । सहरमा झरेका अभिभावक तथा विद्यार्थीहरु स्कुल, कलेज बन्द भएसँगै गाउँ फर्कने भएकोले घर तथा आफन्तलाई नयाँ नोट लैजान घटस्थापना अघि खुद्रा पैसा साट्नेको चटारो हुन्छ ।