FLASH NEWS
  • Loading...

म्याग्दीकाे मुदीबगराका मतदाता पहिलो पटक मतदानमा सहभागीहुँदै

  • पुनहिल डट कम
  • १ साल अघि
  • २१२ पटक पढिएको
म्याग्दीकाे मुदीबगराका मतदाता पहिलो पटक मतदानमा सहभागीहुँदै

जिल्लाको अति दुर्गम धवालागिरी गाउँपालिका, ४ मुदीको बगरा र सीमकोषका अधिकांश मतदाता पहिलो पटक मतदानमा सहभागी हुँदैछन ।
यस अघि सीमकोस र बगराका मतदाता कम्तीमा ६–७ घन्टा हिंडेर अघिल्लो दिन वास बस्ने र मतदानको दिन धवलागिरी गापा, ४ मुदी स्थित बुद्धिविकास माध्यामिक विद्यालय मतदान केन्द्रमा मतदान गर्थे । मतदान स्थल टाढा भएकोले यहाँका बृद्धबृद्धा, अशक्त, सुत्केरी र कतिपय अवस्थाका गर्भवती महिलाहरु मतदानको अधिकारबाट वन्चित हुँदै आएका थिए । सीमकोस र बगरा धौलागिरी हिमश्रृखला पदमार्गको अन्तिम वस्ती हो ।
यस पटक आगामी मंसिर ४ गते हुने प्रतिनिधी सभा तथा प्रदेश सभा सदस्यकालागी हुने आम निर्वाचनकालागी स्थानीय कैलाश आधारभुत विद्यालयमा छुटटै मतदान केन्द्र तोकिएपछि अधिकांश बगरा र सीमकोसबासीले पहिलो पटक मतदानमा भाग लिँदैछन । बगराको कैलाश आधारभुत विद्यालय मतदान केन्द्रमा ७४ महिला तथा ८३ जना पुरुष समेत १ सय ५७ जना मतदाता रहेका निर्वाच कार्यालयले जनाएको छ । बगराका बृद्धबृद्धा, अशक्त मतदाताले पहिलो पटक मतदानमा भाग लिने छन ।
‘गाउँमै मतदान केन्द्र तोकिएपछि आगनको सरकार चुन्न अर्काको पींढीमा बास माग्न जानु पर्ने दिनको अन्त्य भएको खवरले खुसी छौं । अव यहाँका पाका, गोठवस्नु पर्ने र शारिरिक अशक्त मतदाताले जीवनमै पहिलो पटक मतदान गर्ने छन’ बगराका मतदाता हरी तिलिजाले भने, ‘आजसम्म राजनितीमा चासो राख्ने र युवाहरु अघिल्लाे दिन कम्तीमा ७ घन्टा हिंडेर मतदान केन्द्रमा पुग्थ्यौं । जहाँ बृद्धबृद्धा र अपाङ्गले मतदान गर्न मतदान केन्द्र पुग्न संभव नै थिएन ।’
फोटो सहितको नामावली संकलन गर्न कर्मचारी नपुगेपछि ०६४ र ०७० सालको संविधान सभा निर्वाचनमा मतदानबाट वन्चित भएका बगराबासी ०७४ सालको स्थानीय तह निर्वाचनपछि मात्र निर्वाचन प्रणालीमा जोडिएका हुन । ०७४ सालमा निर्वाचन कार्यालयको टोली पुगेर बगराबासीलाई फोटोसहितको मतदाता नामावलीमा थपेका हुन ।
जिल्ला निर्वाचन कार्यालयले आगामी मंसिर ४ गते हुने आम निर्वाचनकालागी धवलागिरी गापा, ४ बगरा समेत जिल्लाका ८ स्थानमा नयाँ मतदान केन्द्र थप गरेको छ । मतदातालाई हिंडेर नजिकको मतदान स्नान (केन्द्र) पुग्न कम्तीमा २ घन्टा लाग्ने स्थानमा जिल्लाको सर्वदलिय सहमतिमा थप मतदान केन्द्र तोकिएको हो ।
निर्वाचन कार्यालयका अनुसार धवलागिरी गापा, ४ बगरा स्थित कैलाश आवि, सोही गापा, ७ स्थित स्थित किसानी चन्द्रकुन्ता मावि धारापानी, मंगला गाउँपालिका, १ पुर्णगाउँ स्थित जनजागृति मावि, सोही गापा, ५ को ५ सिर्कुममा नयाँ मतदान केन्द्र तोकिएको छ । त्यस्तै रघुगंगा गापा, २ खरौटा स्थित राममन्दीर सामुदायीक स्वास्थ्य केन्द्र तथा सोही गापा, ३ को पातेल्न स्थित हिमालय आविमा तथा अन्नपूर्ण गापा, ६ को पोखरेबगर आवि र ८ वडाको काफलडाँडा आधारभुत विद्यालयमा नयाँ मतदान केन्द्र थप भएका हुन ।
‘सवै मतदातालाई सहज र सुरक्षित रुपमा मतदान स्थल पुग्न र मत खसाल्ने वातावरण बनाउन मतदातालाई सकेसम्म पायक पर्नेगरी मतदान केन्द्र थप गरेका छौं’ जिल्ला निर्वाचन अधिकृत भीमप्रसाद घिमिरेले भने, ‘हिंडाई असुविधाकै कारण कोही पनि मतदाता मतदानबाट वन्चित हुने छैनन । अव सवै मतदाता आधा घन्टादेखी ४० मिनेटमा मतदान केन्द्र पुग्न सक्ने विश्वास छ ।’
आसन्न आम निर्वाचनमा एक मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीका ४४ हजार ६४ जना महिला सहित ८६ हजार १ सय २० जना मतदाताले आफ्नो मताधिकार प्रयोग गर्नेछन । यी मध्य ७ सय ४५ जना मतदाता गत स्थानीय निर्वाचनपछि थपिएका मतदाता हुन । निर्वाचन आयोगको तथ्याङ्क अनुसार प्रदेश निर्वाचन क्षेत्र क मा ४८ हजार ४ सय ७२ र प्रदेश ख निर्वाचन क्षेत्रमा ३७ हजार ६ सय ४५ जना मतदाता रहेका छन ।*समाचार कान्तिपुरमा प्रकाशित छ ।