FLASH NEWS
  • Loading...

नवौं राष्ट्रिय प्रतियोगिताकाे महिला भलिबल र तेक्वान्दो म्याग्दीमा हुने

  • पुनहिल डट कम
  • १ साल अघि
  • १५२ पटक पढिएको
नवौं राष्ट्रिय प्रतियोगिताकाे महिला भलिबल र तेक्वान्दो म्याग्दीमा हुने

गण्डकी प्रदेशमा असोज २८ देखि कात्तिक ३ सम्म हुने नवौं राष्ट्रिय प्रतियोगितामा समावेश ३६ खेलमध्ये महिला भलिबल र तेक्वान्दाे खेल म्याग्दीमा हुने भएका छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गण्डकी प्रदेशका ७ जिल्लामा प्रतियोगिता सञ्चालन गर्ने निश्चित गरेको हो ।

कास्कीकाे पोखरा रंगशालामा एथलेटिक्स, ब्याडमिन्टन, महिला क्रिकेट, टेनिस, बक्सिङ, पुरुष भलिबल, जिम्न्यास्टिक, महिला तथा पुरुष ह्यान्डबल, सफ्ट टेनिस, स्क्वास, उसु, पुरुष बास्केटबल, आर्चरी र फेन्सिङ प्रतियोगिता हुनेछन् ।

त्यसबाहेक, महिला फुटबल स्याङ्जाको वालिङ, महिला भलिबल र तेक्वान्दो म्याग्दी, बुद्धिचाल गोरखा, सेपाकताक्रो महिला र पुरुष नवलपुर, कुस्ती थारु संग्रहालय कावासोती नवलपुर, कराते पर्वत र आईटीएफ तेक्वान्दो बागलुङमा हुनेछ ।

यसअघि नै पुरुष क्रिकेट भदौ २३ बाटै काठमाडौंमा सुरु भइसकेको छ भने सुटिङ काठमाडौंमा नै हुनेछ । खेल स्थल व्यवस्थापन उपसमिति, सम्बन्धित खेल संघका प्रतिनिधि र प्रशिक्षकको सिफारिसमा प्राविधिक उपसमितिले खेलस्थलको टुंगो लगाएको थियो । राखेपले बुधबार पोखरामा पत्रकार सम्मेलन गरी खेलस्थल सार्वजनिक गरेको हो ।

बुधबार प्रतियोगिताको ‘काउन्टडाउन’ समेत सुरु. भएको छ । प्रतियोगिता हुन ३० दिन बाँकी छ । यही राष्ट्रिय खेलकुदमार्फत पहिलोपल्ट खेलाडीको अनलाइन दर्ता सुरु भएको छ । प्रत्येक टिमले खेलाडीको अनलाइन फारम भर्नुपर्ने व्यवस्था गरिएको छ । विभागीय र गैरआवासीय नेपाली संघको टिमले अनलाइन फारम भरिसकेका छन् ।

प्रतियोगितामा ३६ खेलको ४ सय ४ विधामा १ हजार ३ सय ८६ पदकका लागि ७ हजार ७ सय ९९ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । सात प्रदेश, तीन विभागीय र एक गैरआवासीय नेपाली संघ गरी ११ टिम सहभागी छन् ।