FLASH NEWS
  • Loading...

राष्ट्रिय आविष्कार केन्द्रले दाँत कोट्याउने सिन्का उत्पादन गर्ने मेसिन बनाउँदै

  • पुनहिल डट कम
  • १ साल अघि
  • २५४ पटक पढिएको
राष्ट्रिय आविष्कार केन्द्रले दाँत कोट्याउने सिन्का उत्पादन गर्ने मेसिन बनाउँदै

राष्ट्रिय आविष्कार केन्द्रले लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रको सहकार्यमा सिन्केधुप र दाँत कोट्याउने सिन्का उत्पादन गर्ने मेसिन बनाउने भएको छ ।

शुक्रबार उद्योग मन्त्रालयमा मेसिन बनाउन आवश्यक पर्ने प्रविधिको अध्ययन, अनुसन्धान र विकासका लागि काम गर्न लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र र आविष्कार केन्द्रबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

समझदारीमा प्रवर्द्धन केन्द्रका निमित्त प्रमुख विष्णुप्रसाद भुसाल र आविष्कार केन्द्रको तर्फबाट अध्यक्ष महावीर पुनले हस्ताक्षर गरेका थिए । आविष्कार केन्द्रले आगामी वैशाखसम्म सिन्केधुप र दाँत कोट्याउने सिन्का उत्पादन गर्ने मेसिन निर्माण बनाइसक्नेगरी सरकारले सघाउने सम्झौता भएको छ ।

सम्झौता हस्तारक्षर कार्यक्रमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूसमेत उपस्थित रहेका थिए । हस्ताक्षर कार्यक्रममा बोल्दै मन्त्री बडूले आविष्कार केन्द्रसँगको सम्झौताले सरकारको राष्ट्रिय नीतिलाई सहयोग पुग्ने बताए ।

उनले नेपालको राष्ट्रिय उत्पादनलाई अभिवृद्धि गरी उत्पादनको उपभोगमा समेत अभिवृद्धि गर्ने राष्ट्रिय नीति रहेको बताए । मन्त्री बडूले उत्पादन गर्ने कुरा स्थानीय तहबाट नै सुरु गर्दा स्थानीयस्तरमा नै रोजगारी सिर्जना हुने विश्वास व्यक्त गरे ।

उनले उत्पादन बढाउने उद्योगहरु स्थापना गर्दा स्थानीय स्तरमा रोजगारी सिर्जना भएर रोजगारीको क्षेत्रमा ठूलो रुपान्तरण हुने बताएका थिए । मन्त्री बडूले स्थानीय स्तरमा नै उत्पादन बढाउनका लागि सरकारले साना साना उद्योगको योजनाहरु अगाडि बढाएको दाबी गरे ।

उनले सातवटै प्रदेशमा बिजनेस इनोभेसन सेन्टर खोल्ने कल्पना गरेको भन्दै त्यसले उद्यम र उद्यमीहरुको संख्या बढाउने बताए । उत्पादन क्षेत्रमा काम गरिरहेका निजी क्षेत्रसँग सहकार्य गरेर सरकार अगाडि बढ्ने पनि उनको भनाइ थियो ।

‘नेपालको गाउँघरमा ठूलो रोजगारीको माध्यम भनेका साना घरेलु उद्योगहरु हुन् । यस्ता उद्योगको प्रवर्द्धन गर्न सक्यौं भने हाम्रो गाउँघरको आवश्यकता पूरा र रोजगारी सिर्जना हुन्छ । राष्ट्रिय आविस्कार केन्द्रले यो भन्दा राम्रो काम गर्नु भएको छ । मुलुकको निम्ति आवश्यकता कहाँ त्यसका लागि के आविस्कार गर्नुपर्छ । मुलुकको तत्कालको आवश्यकता के हो त्यसलाई सानो स्तरबाट कसरी सकिन्छ त्यसको खोजि केन्द्रले गरेको छ । कृषि प्रयोजनका लागि प्रयोग हुने कृषि उत्पादनलाई सहज रुपमा छिटो छरितो बनाउनको लागि मेसिन तयार गर्नुभएको र त्यसको स्थानीय किसानहरुको प्रयोग हुन थालेका छन् । यो महत्वपूर्ण कुरा छ । अहिले सरकारको उद्देश्य नेपालको राष्ट्रिय उत्पादनलाई अभिवृद्धि गर्ने र उत्पादनको उपभोगमा पनि अभिवृद्धि गर्ने सरकारको लक्ष्य छ,’ मन्त्री बडूले भनेका छन् ।

भन्सार विभागको पछिल्लो तथ्यांक अनुसार दाँत कोट्याउने सिन्का खरिदका लागि मात्रै नेपालबाट एक वर्षमै दुई करोड ५३ लाख ५२ हजार बराबरको रकम विदेशिएको छ । समझदारी अनुसार सरकारले आविष्कार केन्द्रलाई अनुदानस्वरुप ४० लाख रुपैयाँ यस आर्थिक वर्षका लागि प्रदान गर्नेछ । *इकान्तिपुरबाट