FLASH NEWS
  • Loading...

जस्काे कारणाले भत्किया भारतकाे गगनचुम्बी ट्‍वीन टावर

  • पुनहिल डट कम
  • १ साल अघि
  • २०० पटक पढिएको
जस्काे कारणाले भत्किया भारतकाे गगनचुम्बी ट्‍वीन टावर

भारतमा सुपरटेक शक्तिशाली थियो। राजनीतिक दल र कर्मचारीलाई मिलाएर सुपरटेकले गैरकानुनी रुपमा ठूलठूला टावरहरु बनाएको थियो। 

यो कम्पनीका अध्यक्ष आरके अरोराप्रति कसैले औंला उठाउन सक्दैन्थे। त्यही कारण उनले गैरकानुनी रुपमा नोयडामा ट्वीन टावर बनाएका थिए। तर त्यही ट्‍वीन टावर एक जना सामान्य व्यक्तिका कारण जम्मा ९ सेकेन्डमा खरानी बन्यो। जबकि यो परियोजना निर्माण गर्नै ५ वर्ष लागेको थियो।

सुपरटेकले गैरकानुनी रुपमा तला थप्दै लगेपछि ट्‍वीन टावरसँग जोडिएको एमरेल्ड गोल्ड सोसाइटीको रेसिडेन्ट वेलफेयर एसोसिएसन उजुरबाजुर गर्न लाग्यो। ती उजुरबाजुरको कतै पनि सुनुवाई भएन। त्यसपछि एशोसिएसनका अध्यक्ष उदयभान सिंह तेवतियाले मापदण्ड विपरित बनेको अपार्टमेन्ट भत्काउनु पर्ने भन्दै हाई कोर्ट पुगे।

उनै सामान्य व्यक्तिले हालेको एउटा मुद्दाले सुपरटेकको टावर ढल्यो। यो टावर मात्रै ढलेन कम्पनीलाई पाँच सय करोड भारु घाटा पनि लाग्यो। एपेक्स र सियान नाम गरेका दुईवटा टावरहरु राजधानी नयाँ दिल्ली र उत्तर प्रदेश जोड्ने राजमार्ग छेउमा बनेको थियो। जसमध्ये एउटा बिल्डिङ १०३ मिटर र अर्को ९७ मिटर अग्लो थियो।

सन् २००४ मा नोयडा अथोरिटीले सुपरटेकले निर्माण गर्ने हाउजिङ परियोजनाका लागि जग्गा उपलब्ध गराएको थियो। २००५ मा परियोजनाको बिल्डिङ प्लान स्वीकृत भएको थियो। जसमा १० तलाको १४ वटा टावर निर्माण गर्ने इज्जाजत दिइएको थियो। २००६ मा सुपरटेकले स्वीकृत प्लान फेर्दै ११ तलाको १५ वटा टावर निर्माण गर्‍यो। 

सन् २००९ नोभेम्बरमा फेरि बिल्डिङ प्लान बदल्दै २४ तलाको दुईवटा टावर परियोजनामा निर्माण गर्‍यो। मार्च २०१२ मा २४ तलाको टावरलाई ४० तला पुर्‍याइएको थियो। जतिबेला परियोजना निर्माण रोक्ने आदेश आयो तबसम्म ६३३ फ्ल्याट बुक भइसकेको थियो। 

सुपरटेक लिमिटेडका अनुसार कम्पनीले परियोजना निर्माण गर्न जग्गा किन्न २५ करोड भारु खर्चिएको थियो। अर्को २५ करोड भारु नोयडा अथोरिटीलाई स्वीकृति शुल्क बुझाएको थियो। सन् २००९ मा सुपरटेकले ८ हजार वर्गमिटर (१५ रोपनी ११ आना) जग्गा किनेको थियो। 

‘हामीले दुईवटा टावर निर्माण गर्दा ४५० करोड भारु डन्डी, सिमेन्ट, बालुवा, कामदार, बैंक ऋण, ब्याज तथा अन्यमा खर्चिएका थियौं,’ सुपरटेक लिमिटेडका अध्यक्ष आरके अरोराले हिन्दुस्तान टाइम्ससँग भनेका छन्,’हामीले ४० हजारभन्दा बढी फ्ल्याट विगत सात वर्षमा डेलिभरी गरिसकेका छौं। मिसन कम्प्लिसन २०२२ डिसेम्बरसम्म सात हजार युनिट डेलिभरी गर्ने हाम्रो लक्ष्य छ।’

८ वर्षअघि नै अपार्टमेन्ट भत्काउन हाइ कोर्टको आदेश
सुपरटेकले निर्माण गरेको अपार्टमेन्टसँग जोडिएको एमरेल्ड गोल्ड सोसाइटीको रेसिडेन्ट वेलफेयर एसोसिएसनका अध्यक्ष तेवतियाले ट्‌वीन टावरको विषय अदालत लगेका थिए। उनले सन् २०१२ मा अवैध रुपमा टावर निर्माण भएको भन्दै इलाहाबाद हाइ कोटमा मुद्दा दर्ता गरका थिए। 

हाइ कोर्टले २०१४ मा ट्‌वीन टावरलाई अवैध घोषणा गर्दै भत्काउन आदेश दिएको थियो। अदालतले अपार्टमेन्टको फ्ल्याट बुक गरेका इकाइधनीहरुलाई १४ प्रतिशत ब्याजसहित पैसा फिर्ता गर्न डेभलपर सुपरटेकको नाममा आदेश दिएको थियो।  

सर्वोच्च अदालतले सदर गर्‍यो हाइ कोर्टको आदेश
हाइ कोर्टको उक्त आदेशविरुद्ध सुपरटेकले यो मुद्दा सर्वोच्च अदालतमा पुनरावेदनका लागि लगेको थियो। सर्वोच्च अदालतले इलाहाबाद हाइ कोर्टको फैसलालाई २०२१ अगस्ट ३१ मा सदर गरेको थियो। आगामी तीन महिना अर्थात् २०२१ नोभेम्बर भित्रै टावर भत्काउन आदेश दिएको थियो।   

नोयडा अथोरिटीले भने २०२२ मे २२ सम्म टावर भत्काउने काम सकिने दाबी गरेको थियो। तर, पछि त्यसलाई बढाएर सर्वोच्चले २८ अगस्ट २०२२ सम्म लम्ब्याइदिएको थियो। सर्वोच्चले प्राविधिक कारण र मौसमको अवस्थाका कारण भत्काउने मिति लम्ब्याइदिएको थियो। हाइ कोर्टमा मुद्दा दायर गर्ने तेवतियाका अनुसार टावर भत्किएको फाइदा तीन महिना पछि देखिने बताएका छन्। 

अदालतले अवैध संरचना भत्काउन आदेश दिएपनि निर्माणको सुरुवातदेखिनै त्यससँग जोडिएका सरकारी कर्मचारीहरुलाई भने कुनै कारवाही नगरिएको भन्दै भारतभर विरोध हुँदै आएको छ। सरकारी कर्मचारीको मिलेमतो विना त्यति ठूलो भौतिक संरचना निर्माण हुनै नसक्ने भन्दै ती कर्मचारीहरुलाई कानूनी दायरामा ल्याउनुपर्ने माग उठ्दै आएको छ। 

९ सेकेन्डमै गगनचुम्बी टावर ढाल्न १८१ दिनको तयारी
अवैध टावर भत्काउन ‘इम्प्लोजन’ विधि अपनाइएको थियो। अर्थात् विस्फोट गराएर भवन भत्काउने विधि प्रयोग गरिएको थियो। यो विधिको प्रयोग घना बस्ती भएको क्षेत्रमा निर्माण भएक गगनचुम्बी भवन भत्काउन प्रयोग गर्ने गरिन्छ। 

इम्प्लोजन विधि प्रयोग गरी ३२ तलाको ट्‍वीन टावर ९ सेकेन्डको छोटो अवधिमै ढाल्न भने १८१ दिनको तयारी गरिएको थियो। २०२२ फेब्रुअरी २१ बाट ३५० जना कामदार र १० जना इन्जिनियरको टोलीले टावर भत्काउने योजना बुन्न सुरु गरेका थिए। 

पहिलो स्टेपमा इन्जिनियरहरुले ट्वीन टावरको ब्लू प्रिन्ट निकाले। उनीहरुले विस्फोटको योजना र त्यसले पार्ने असरको पूरा विश्लेषण गरेका थिए। 
दोस्रो स्टेपमा भवनको पिलर र भित्तामा ३५ मिलिमिटरको ९६४२ प्वाल बनाइएको थियो। तेस्रोमा भित्ता र भुँईमा जियोटेक्सटाइल कपडाले छोपिएको थियो। जसका कारण भग्नावशेस धेरै बिग्रिन पाउँदैन। 

चौथो स्टेपमा ग्यास पाइपलाइनलाई जोगाउन स्टिल प्लेट्सहरु ओछ्याइएको थियो। यसका साथै आवासीय क्षेत्र तर्फ एउटा कन्टेनर भित्ता निर्माण गरिएको थियो। 

पाँचौं स्टेपमा पिलर र भित्तामा बनाइएका प्वालहरुमा करिब ३७ सय किलो विस्फोटक पदार्थ राखिएको थियो। २८ अगस्ट २०२२ मा नेपाली समयअनुसार दिउँसो २:४५ बजे रिमोट बटन थिचेर विस्फोट गराइएको थियो।   

टावर भत्काउनुअघि नै त्यसबाट उत्पन्न हुने धुलो नियन्त्रण गर्न त्यहाँ १५ वटा स्मोक गन जडान गरिएको थियो। भवन भत्काएपछि हुन सक्ने प्रदूषण जाँच गर्न ६ वटा एयर क्वालिटी इन्डेक्स मेसिन राखिएको थियो। सम्भावित दुर्घटना हुन सक्ने भन्दै ६ वटा अस्पताललाई स्ट्यान्डबाइ राखिएको थियो। 

भत्काउने जिम्मा दुई कम्पनीलाई, एउटा दक्षिण अफ्रिकाको
टावर भत्काउने काम भारत मुम्बईको एडिफाइस र दक्षिण अफ्रिकाको जेट डिमोलिसनले पाएका थिए। जेट कम्पनीले अप्ठ्यारो भवन भत्काए बापत पाँचवटा पुरस्कार पाइसकेको छ। जेटले दक्षिण अफ्रिकाको जोहान्सबर्गमा १०८ मिटर अग्लो बैंक अफ लिस्बनको भवन, एउटा पावर स्टेसन र राजधानी प्रिटोरियामा निर्माण भएको १४ तले ट्‍वीन टावर भत्काइसकेको अनुभव छ।   

एडिफाइससँग पनि गुजरातको ओल्ड मोटेर रंगशाला भत्काइसकेको अनुभव छ। सुपरटेकको ट्वीन टावर भत्काउन मात्रै २० करोड भारु (३२ करोड रुपैयाँ) खर्च लागेको छ। 

टावरमा ९८०० वटा प्वाल पारियो, हरेक प्वाल १४०० ग्राम बारुद  
एडिफाइसका निर्देशक उत्कर्ष माहेश्वरले सुपरटेकको एउटा टावर २९ तला र अर्को ३२ तला रहेको बताएका छन्। दुवै टावरमा ९८ सय प्वाल पारिएको थियो। हरेक प्वालमा १४ सय ग्राम बारुद भरिएको थियो। कुल ३७ सय किलो बारुद भवन भत्काउन प्रयोग गरिएको थियो। 

त्यसमा ३२५ किलो सुपर पावर जेल, ६३ हजार ३०० मिटर सोलर कार्ड, सफ्ट ट्युब, जिलेटिन रड, १० हजार ९०० डेटोनेटर र ६ आइइडी प्रयोग भएको थियो। यी सामग्री किन्न १७.५५ करोड भारु (२८ करोड रुपैयाँभन्दा बढी) खर्चिएको थियो। यो खर्च पनि डेभलपर सुपरटेकले नै व्यहोर्नु पर्ने छ। भारतमा यसअघि इम्प्लोसिभ विधि प्रयोग गरेर यति ठूलो भवन भत्काइएको छैन। 

 

चुनौतीपूर्ण ‘डिमोलिसन’
यति ठूलो भवन भत्काउनु आफैंमा चुनौतिपूर्ण कदम मानिएको थियो। यसअघि यति ठूलो भवन बारुद विस्फोट गराएर भत्काएको अनुभव भारतमा थिएन। त्यस माथि भत्काउनु पर्ने संरचना वरपर अरु आवासीय भवनहरु थिए। जसलाई कुनै पनि असर नपर्ने गरी भत्काउनुपर्ने बाध्यता प्राविधिकहरुसँग थियो। 

ट‍्‍वीन टावरबाट करिब नौ मिटरको दूरिमा अर्को हाउजिङ सोसाइटी छ। जसमा ६६० परिवार बसोबास गर्छन्। ट्वीन टावरको १९ मिटर दूरीको जमिनमुनि ग्यास पाइपलाइन छ।

सुपरटेक लिमिटेडको चुक्ता पुँजी ४४.९५ करोड भारु छ। यसको अधिकृत पुँजी ६० करोड भारु छ। कम्पनीले भारतमा आवासीय, व्यवसायिक, रिटेल र हस्पिटालिटी क्षेत्रमा काम गर्ने रियल इस्टेट कम्पनी हो। (एजेन्सीहरुको सहयोगमा)