FLASH NEWS
  • Loading...

म्याग्दीमा रोकिएन वालविवाह

  • पुनहिल डट कम
  • १ साल अघि
  • २५१ पटक पढिएको
म्याग्दीमा रोकिएन वालविवाह

वालमजदुर सरोकार समुह (सिविन) नेपालका कार्यक्रम संयोजक शंकर नेपालीले ०७८ जेठ २४ गते जिल्ला अदालत म्याग्दीलाई जाहेरी पत्र लेखे ।
पत्रमा लेखिएको छ, ‘……धवलागिरी गाउँपालिका, ७ धारापानीका सुवास खत्रीले सोही गापा, ३ की बालिकासँग गरेको वालविवाह वदर गरिएकोमा हाल बालिका केटासँगै रहेको भन्ने विशेष सूचना प्राप्त भएकोले सोही सूचनालाई आधारमानी लिखित पत्र प्रेशित गरेका छौं । दुवैलाई पक्राउगरी दुवै परिवारका अभिभावकलाई समेत झिकाई आवश्यक अनुसन्धान गरी दोषि उपर कारवाही गरी पाउँ ।’
सिविनको पत्रको जाहेरीले वादी ४७४४ रहेको उक्त वालविवाह मुद्धाकाे अन्तिम किनारा लागेकाे छैन । अाराेपित खत्रीले ०७८ जेठ ४ गते परम्परागत संस्कार अनुसार सोही गापा, ३ की एक २० बर्ष मुनीकी बालिकासँग मागी विवाह गरेका थिए ।
त्यसैगरी ०७९ असार २१ गते जिल्ला अदालतमा अर्को वालविवाह विरुद्धको मुद्धा दायर भएको छ । मंगला गाउँपालिका, ४ का २२ बर्षिय दीपक विकले सोही ठाउँकी १७ बर्षिया युवतीसँग भागी विवाह गरे । अन्तरजातिय उक्त विवाहमा असन्तुष्ट माईती पक्षले मुद्धा दर्ता गरेको हो । मुद्धामा थुनछेक आदेश हुँदा केटालाई ४० हजार धरौटी लिएर बालिकालाई अभिभावकको जिम्मा लगाईएको छ ।
‘अदालतमा बालविवाहका दुई थान मुद्धा छन । एउटा मुद्धामा विवाह वदर गरेपछि पनि वालिका र केटा फेरी मिलेर बसेको भन्ने छ । अर्को अन्तरजातिय छ । केटाकेटीले ‘हामी भागी विवाह’ गरेका हौं भन्ने वयान गरेको र केटीको उमेर नपुगेकोले अभिभावकको जिम्मा लगाएका छौं’ जिल्ला अदालतका श्रेष्तेदार तेजप्रसाद पौडेलले भने, ‘समाजमा वालविवाह ब्याप्त छ तर समाजले नै नै विवाहको उमेर हद बढी ठानेकोले अदालतमा आउँदैनन । कि साह्ै अनमेल उमेरमा भागी विवाह, अन्र्तरजातिय वा आर्थिक हैसियतमा ठूलो दरार आउँदा मात्र वालविवाहको मुद्धा आउने गरेको छ ।’
त्यस्तै, धवलागिरी गाउँपालिका, ४ मुदी स्थित बुद्धी विकास माध्यामिक विद्यालय कक्षा ८ मा अध्ययनरत एक १५ बर्षिया छात्राले स्थानीय युवासँग भागी विवाह गरिन । विद्यालयको वार्षिक परिक्षा चलिरहेकै अवस्थामा उनी पाईल गएकी हुन ।
यो बुद्धीविकास माध्यामिक विद्यालयकी छात्राको यो वालविवाह उदाहरण मात्र हो, यस क्षेत्रका प्राय:सवै वस्तीमा वालविवाह ब्याप्त छ । वालविवाहको कानुन लाग्ने त्रासले विवाहपछि यी छात्रा/छात्रले अध्यययनलाई विचमै छोड्छन ।
‘वालविवाह विरुद्धको जागरण बढेको छ तर वालविवाह रोकिएको भने छैन । मेरै विद्यालयबाट कक्षा ८ पढ्ने छात्राले हालै भागी विवाह गरिन । बार्षिक परिक्षामा फर्काउन समेत सकिएन’ बुद्धी विकास माध्यामिक विद्यालयका प्रध्यानअध्यापक जगबहादुर किसानले भने, ‘पहिला–पहिला कक्षामै विवाहीता जोडि हुन्थे अहिले त्यो चलन हटेको छ । खासगरी छात्राहरु विवाहपछि विद्यालय छोड्ने समस्या उस्तै छ ।’ किसानले थपे, ‘१६–१८ बर्ष भित्र विवाह गर्ने समाजमा २० बर्ष उमेरसम्म पर्खन मुस्किल छ । समाजमा स्वीकार्य भैरहेसम्म वालविवाह रोक्न कठिन हुने रहेछ ।’

 गाउँगाउँमा रोधी वस्ने र मेला जात्राबाट उमेर नपुग्दै विवाह गर्ने चलन घटेपनि हटेको छैन । रोधी वस्ने, मेलाजात्रामा रमाउने मगर समुदाय मात्र होईन कट्टर परम्परा भएको क्षत्री, ब्रामण समाजमा पनि वालविवाह उत्तिकै प्रचलनमा छन । मगर तथा दलित समुदायमा भागी विवाह ब्यापक भएपनि क्षत्री, ब्रामण समाजमा भने मागेरै वालविवाह ब्यापक छ ।
वालविवाह समाजमा ब्याप्त छ । २० वर्ष मुनी विवाह गरेका परिवार र आफन्तले पनि कानुनी झन्झट आउने भएकोले सकेसम्म केटाकेटीको उमेर लुकाउँछन । र वालविवाहको अभिलेख कतै पाईदैन ।

वालविवाह कति ब्यापक छ भन्ने कुरा श्वास्थ्य कार्यालय मातहतको स्वास्थ्य ब्यवस्थापन सूचना प्रणालीको तथ्याङकले प्रष्ट देखाउँछ । तथ्याङक अनुसार ०७८ साउन १ देखी ०७९ जेठ ३० गतेसम्म जिल्लाभरका स्वास्थ्य संस्थामा पुगेर पहिलो गर्भ जाँच गराउने कुल १ हजार ५ सय ७४ जना गर्भवतीमध्य २० बर्ष मुनीका २ सय ९३ जना किसोरी/युवती अर्थात १८ दशमलव ६३ प्रतिशतले पहिलो गर्भ जाँच गराएका थिए ।
तथ्याङकले वालविवाह कुनै भुगोल र साक्षरता प्रतिशतमा मात्र सिमित छैन । स्वास्थ्य संस्थामा पुगेर पहिलो गर्भ जाँच गराउने २० बर्षमुनी युवतीहरुमध्य दुर्गम धवलागिरी गाउँपालिकामा ३६ जना छ । सोही अवधीमा शहरी र तुलनात्मक शिक्षित र आर्थिक रुपमा सम्पन्नहरु बसोबास रहेको बेनी नगरपालिकामा २० बर्ष मुनीका ९० जनाले गर्भ जाँच गराएका छन । मंगला गापामा ४६ जना, मालिका गापामा ६९ जना, रघुगंगा गापामा २५ र अन्नपूर्ण गापामा २७ जना युवती गर्भजाँचकालागी स्वास्थ्यचौकी पुगेका छन ।
स्वास्थ्य ब्यवस्थापन सूचना प्रणालीको तथ्याङकले सोही अवधिमा २० बर्ष मुनीका ५४ जनाले मेडिकल प्रयोग गरी र १ जनाले सर्जिकल विधीबाट गर्भ पतन गराए । २६ जनाले पिल्स, ८५ जनाले डिपो लगाए । पाठेघरमा राख्ने आईयुसिडी १ जनाले र २७ जना किसोरीले इम्प्लान्ट प्रयोग गरे ।