FLASH NEWS
  • Loading...

रुम पहिरोका घाईतेलाई वल्न बेनी अस्पताल ल्याईयो, पाेखरा पुर्याउन अार्थिक समस्या

  • पुनहिल डट कम
  • १ साल अघि
  • २३८ पटक पढिएको
रुम पहिरोका घाईतेलाई वल्न बेनी अस्पताल ल्याईयो, पाेखरा पुर्याउन अार्थिक समस्या

म्याग्दीको मालिका, २ रुमको घाङलेपानीको पहिरोमा परी घाइते भएका ६७ बर्षिया गोरी र उनका ६२ बर्षिय श्रीमान गोठे विकलाई ३७ घन्टापछि अस्पताल पुर्‍याइएको छ ।
बुधवार मध्यान्न मौषम सफाभएपछि स्थानीयले ५ घन्टा लामो घुमाउरो बाटो गरी घाईतेलाई स्टेचरमा बोकेर मालिका गाउँपालिका मुकाम दरवाङको घुमाउनेपहिरोसम्म ल्याएका थिए । प्रमुख जिल्ला अधिकारी चिरिन्जीवि रानाका अनुसार दरवाङको घुमाउने पहिरोबाट सदरमुकामबाट पठाएको एम्बुलेन्सले उद्धारगरी घाईतेलाई साँझ ५ बजे बेनी अस्पताल ल्याइ पुर्‍याईएको हो ।
‘खराव मौषकको कारण मंगलवार हेलिवाट घाईते उद्धार गर्न नसकिएको र बुधवार स्टेचरमा राखेर ल्याउन थालेको खवर पाएपछि गाडी पुग्ने स्थानसम्म एम्बुलेन्स पठाएका हौं’ प्रजिअ रानाले भने, ‘बृद्धाको छातीमा गहिरो चोट भएकोले थप उपचारकालागी पोखरा रिफर गर्नु भएको छ ।’
बेनी अस्पतालले घाईते वृद्धा गोरीको छातीमा गहिरो चोट भएकोले करङ भाँचिएको र रगत जमेको देखिएकोले थप उपचारकालागी पोखरा रिफर गरेको छ । अर्का घाईते गोठे विकको भने एक्सरे समेतका स्वास्थ्य परिक्षण भैरहेको छ ।

घाइतेकाे सहयाेगीकाे रूपमा अाएका मालिका गाउँकार्यपालिका सदस्य अनुप गाैचनका अनुसार अार्थिक ब्यवस्थापन गरी भाेली विहान मात्र पाेखरा जाने कुरा भएकाे छ । अस्पतालले घाईतेलाई पोखरा लैजान रिफर गरेपनि तर आफन्तले पोखरामा लैजान उपचार खर्च नभएको र राती पोखरा अस्पतालमा अलपत्र परिने त्रासले रातभरीमा आर्थिक ब्यवस्थापन गरी विहिवार विहान मात्र जाने बताएका छन ।
‘घरको सवै पहिरोले लग्यो । बाँचेका बाजेबजैलाई जसोतसो गाउँलेको सहयोगमा अस्पताल ल्यायौं । पोखरा पुग्नु पर्ला भन्ने भएन । पैसाको कुनै जोहो नभएकोले राती अस्पतालमा अलपत्र पर्नु भन्दा रातभर आफन्तसँग हारगुहार गरी उपचार खर्च जोडेर भोली विहान जान्छौं’ घाईतेसँगै रहेका छोरीका छोरा नाती सन्तोष वराईलीले भने, ‘सहरमा पैसा नभै कस्ले उपचार गर्देला र ?’
मंगलवार विहान ४ बजे खसेको पहिरोमा पुरिएर मालिका गाउँपालिका, २ रुमको घाङ्लेपानीमा पहिरोमा पुरिएर एकै परिवारका ३७ बर्षिय घामबहादुर, उनीकी ३२ बर्षिय श्रीमती राममायाँ र ८ बर्षिया छोरी रोजीको मृत्यु भएको थियो ।