FLASH NEWS
  • Loading...

जहिल्यै पहिराको त्रास, छैन ब्यवस्थापन तयारी

  • पुनहिल डट कम
  • १ साल अघि
  • २३४ पटक पढिएको
जहिल्यै पहिराको त्रास, छैन ब्यवस्थापन तयारी

बेनी नगरपालिका, ३ भकिम्लीको तोराखेतमा बर्षेनी पहिरोले घरखेत बगाउँदै लगेपछि तोराखेतवस्ती रिक्तो बन्न थालेको छ ।
पहिरोले घरखेत बगाएपछि सुरक्षित थलोको खोज्दै बेनी नगरपालिका, २ बगरफाँट ओर्लेका डिलबहादुर सापकोटाका अनुसार पछिल्लो १० बर्षमा तोराखेतका ७० घरपरिवार विस्थापित भएका छन ।
पहिरोले अहिलेसम्म कसैको ज्यान त लिएको छैन तर बर्षेनी वर्खायाममा चक्लाचक्लापरी जमिन बग्न थालेपछि पुख्यौली थातथलोमा बस्न र खेती गर्न नमिल्ने भएको हो ।
बेनी नगरपालिका, १० पात्लेखेत पनि पहिरोको उच्च जोखिममा रहेको वस्ती हो । पहिरो जंगल, खरवारी, धानखेत बगाउँदै वस्ती तर्फ उक्लेपछि पात्लेखेतका ३५ घरपरिवार उच्च जोखिममा परेका हुन । ८ घर त अघिल्लै वर्ष विस्थापित भएका थिए । वस्तीको पुछारमा अवस्थित रघुगंगा नदी किनाराबाट राहुघाट सामुदायिक वनबाट सुरु भएको पहिरो रोकथाम गर्न स्थानीय, जिल्लाका प्राविधिक देखी भुगर्भविदहरुसम्मको सुझाव अनुसार गरिएको प्रयास सफल नहुँदा करोडौं बजेट वर्षेनी पहिरोले बगाईरहेको छ ।
त्यस्तै, रघुगंगा गाउँपालिका, ८ कुईनेमंगलेको चौरखानीमा पछिल्लो ७ वर्षदेखी सुरु भएको पहिरोले पुरै वस्तीको उठीवास गराएको छ । वस्तीदेखी २ किलोमिटरबढी तल राहुघाट खोलाबाट बढ्दै र गहिरो वन्दै पहिरोले खेतवारी चक्नाचक्ना बनाई बगाउँदै वस्ती पुगेको हो । वडाध्यक्ष गमन छन्त्यालका अनुसार पहिरोले घर भत्काएपछि ५२ घरमध्य चौरखानीका २२ घरपरिवार थातथलो छोडेर अन्यत्र गए । रहेका ३० घरपरिवारलाई पनि गाउँकै सुरक्षित फाँटमा स्थानन्त्रण भए ।
‘हामीले अनेक प्रयास गर्‍यौं । भुगर्भविद ल्याएर देखायौं, विभिन्न निकायबाट सहयोग जुटाएर तटवन्धको प्रयास गर्‍यौं तर पहिरो रोकथाम भएन’ वडाध्यक्ष गमन छन्त्यालले भने, ‘घर शहर झर्ने हैसियत नभएका ३० परिवारलाई गाउँकै अर्को पाखोमा स्थानन्त्रण गरेका छौं । वडाभरी दर्जनौं पहिरा छन, वस्ती नै उठेको चौरखानीको मात्र हो ।’
रघुगंगा गाउँपालिका, ६ पाखापानीको रायखोर पनि पहिरोको उच्च जोखिमयुक्त वस्ती हो । गतवर्ष पनि यहाँको पहिरोले राहुघाट खोला केही घन्टा थुनियो । अहिले पनि उक्त पहिरोले थुनिएको क्षेत्रमा ताल परेको अवस्था छ ।
रायोखोरको पहिरोले ०५७ सालदेखी सुरु भएको हो । ०५७ सालमा ठूलो पहिरो जान थालेपछि रायोखोरका कम्तीमा ४० घर रहेको रायोखोर वस्ती सुरक्षित स्थानमा स्थानन्त्रण गरिएको थियो । सोही स्थानबाट फेरी पहिरो जान थालेको हो ।
‘रघुगंगा गाउँपालिकाका सवै ८ वटै वडाका अधिकांश वस्ती पहिरोको जोखिममा छन । तल कालीगण्डकी नदी किनाराको गलेश्वर, वैसरी, तिप्ल्याङदेखीमाथी धवलागिरी हिमालको फेदीसम्मै पहिरो नै पहिरो छन’ रघुगंगा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले भने, ‘पालिकाभरी सानाठूलागरी २ सय १६ वटा पहिरा छन । कुनै थलो सुरक्षित छैन, भगवान भरोसामा छन, स्थानीय ।’
त्यस्तैगरी धवलागिरी गाउँपालिका, २ लुलाङमा पर्ने लम्सुङ पनि पहिरोको उच्च जोखिमयुक्त वस्ती हो । माथीबाट चुगेपानी पहिरो र तलबाट दरखोलाबाट वढ्दै गएको पहिरोले लम्सुङका स्वास्थ्यचौकी, लम्सुङ माध्यामिक विद्यालय, भक्तबहादुर, ज्ञानबहादुर पाईजा, दलबहादुर राना र पलु पुनको घर पहिरोको जोखिममा छन । यो पहिरोले लुलाङमा निर्मित ३० किलोवाट क्षमताको दरखोला लघुजलविधुत आयोजना दुई पटकसम्म बगायो । अहिले आयोजनालाई अन्यत्रै स्थानन्त्रण गरिएको छ ।
यी उल्लेखित पहिरा उदाहरण मात्र हुन । र यी पहिरा सडकको कारणले उत्पन्न भएका होइनन । सडकको अब्यवस्थित निर्माणले निम्त्याएका भूस्खलन र पहिराको संख्या गणनै भएको छैन । भु तथा जलाधार ब्यवस्थापन कार्यालय म्याग्दीका अनुसार म्याग्दीमा सानाठूला गरी १२ सयबढी पहिरा छन । बाढी र नदी कटानको छुट्टै समस्या छ । पहिरोबाट जिल्लाका ३८ वटा वस्ती उच्च जोखिममा छन ।
त्यस्तै कालीगण्डकी, म्याग्दी र राहुघाट नदी जलाधारमा पटक–पटक पहिरो झर्ने, थुनिने र नदीमा आउनेबाढीले सदरमुकाम बेनी, मालिका गाउँपालिका मुकाम रहेको दरवाङबजार, मंगला गापा मुकाम रहेको बाबियाचौरबजार अन्नपूर्ण गाउँपालिका मुकाम रहेको पोखरेवगरबजासहित तटिय क्षेत्रमा खेतीयोग्य जमिन बगाउने र वस्ती कटानले आक्रान्त बनाउने गर्छ । जिल्लाका माथिल्लो भेगका वस्ती पहिरोको र तल नदी/खोला किनाराका वस्ती बाढीबाट कटानको जोखिममा छन ।
यतिका धेरै बाढी–पहिरोबाट वस्ती जोखिममा र स्थानीयवासी त्रासमा रहेपनि जिल्लामा कुन ठाउँमा पहिरो छन ? कति घरधुरी र जनसंख्या जोखिममा छन ? जिल्लाको विपद ब्यवस्थापन र संयोजन गर्ने जिम्मेवारी पाएको जिल्ला प्रशासन कार्यालय र प्रमुख जिल्ला अधिकारी अनभिज्ञ छन । स्थानीय तह र संघिय सरकारको मुख्य प्रतिनिधी जिल्ला प्रशासन विच समन्वय अभाव देखिएको छ ।
‘हामीले जेठमै विपद ब्यवस्थापन समितिको बैठकबसी विपद प्रतिकार्य योजना तयार गरेका हौं । तर स्थानीय तहले उपलब्ध गराउने भनेको पहिरो र जोखिमयुक्त वस्तीको विवरण नपठाउँदा हामी अपडेट छैनौं’ प्रमुख जिल्ला अधिकारी चिरिन्जिवी रानाले भने, ‘गत वर्षको डाटामा हामीले विपद प्रतिकार्य तयारीमा छौं ।’


कालीगण्डकी नदीले बनाएको मुस्ताङको घाँसादेखी तल म्याग्दी सदरमुकम बेनीसम्मको झण्डै ४४ किलोमिटर खण्डमा अघि पटक–पटक पहिरो झर्ने र नदी कालीगण्डकी थुनिएका छन ।
सदरमुकाम बेनीवासीको अनुभवमा २०१४ सालमा पर्वतको मल्लाजको फड्केढुङ्गामुनी ठूलो पहिरोले कालीगण्डकी नदी थुनिएको थियो । ०५५ साल असोज १० गते तत्कालिन शिख गाविसको गोगनपानी भिर भत्केर भुरुङतातोपानी बजार पुरिनुको साथै कालीगण्डकी नदी १० घन्टा थुनिएको थियो । अहिले पहिरोले परेको बैसरीमा यस पटक मात्र पहिरो केही घरमा क्षति पुर्‍याएको थियो ।
त्यस्तै ०४७ सालमा तत्कालिन हिस्तान गाविसको पैहथाप्ला मुनीबाट झरेको पहिरोले भगवनीको कुनौटो नजिक केही घन्टा कालीगण्डकी थुनेको थियो ।
०७२ जेठमा साविक राम्चे गाविसको काफलडाँडाको भीर भत्केपछि कालीगण्डकी नदी किनारामै अवस्थित भगवती गाविस, २ को वैसरी वस्ती पुरै पुर्नुको साथै कालीगण्डकी नदी १६ घन्टासम्म थुनिएको थियो ।
कालीगण्डकीमा अहिले म्याग्दी–मुस्ताङ्ग सिमा क्षेत्रको बाँदरजुङ्ग भीर, दानाको गुईठे क्षेत्रको भीर, भुरुङ्गको तातोपानीको भीर, घारखोलाको नेपाने भिर, घारको टिमुरेभिरमा ठूला पहिरो खस्ने र कालीगण्डकी नदी थुनिने जोखिम छ ।
पहिरोले कालीगण्डकी नदी थुन्ने मात्र होईन, ०४५ सालमा हिमालपारीको मुस्ताङ्गमा रहेको एक हिमताल फुट्दा नदीतटका दाना, तातोपानीहुँदै सदरमुकाम बेनीबाट तलसम्मका बस्तीमा ठूलो धनजनको क्षति पुर्‍याएको थियो । बर्षेनी बाढीको कटानले सदरमुकाम बेनी त्रिकोणात्मक भएर खुम्चिदै गएको छ ।
रघुगंगा र कालीगण्डकी नदीमा मात्र होईन, पश्चिम गुर्जा, चुरेन र धौलागिरी हिमालबाट आउने म्याग्दी खोलामा पनि पटक पटक पहिरोले नदी थुन्ने र बाढीपहिरोको विपत्ति ल्याउने गरेको छ ।
गत साउन १० गते धवालागिरी गाउँपालिका, १ गुर्जाखोलामा गएको पहिरोले गुर्जाखोला ८ घन्टा थुनियो । पहिरोले थुनिएको गुर्जाखोलामा बनेको तालबाट सहज पानी बगेको भएपनि ताल भने अझै रहेको छ ।
म्याग्दी नदीमा ०४५ साल असोज २ गते साँझ साविक निस्कोट गाविसको छरछरेको भीर भत्कदा दरवाङ्ग बजार पुर्दा एक सय ९ जनाको मृत्यु भएको थियो । त्यस्तै ०४० सालतिर सिङ्गामा पारीपट्टीको भीर भत्कदा म्याग्दी नदी केही घन्टा थुनिएको थियो ।