FLASH NEWS
  • Loading...

अर्जमे कालाे च्वाँचे जोगाउँदै गाउँले

  • पुनहिल डट कम
  • १ साल अघि
  • ३६१ पटक पढिएको
अर्जमे कालाे च्वाँचे जोगाउँदै गाउँले

जिल्लाभर रैथाने जातका कालो सुँगुर (वँदेल) पाल्ने एक्लो वस्ती हो, अर्जम । जिल्लाभरमा सुँगुर पाल्ने रत्नेचौर, अर्जममा मात्र हो ।
बेनी नगरपालिका, १ अर्जममा ३ सय घर छन । थापा मगर बाहुल्य अर्जममा केही अले मगर, नेवार र दलित बसोबास छ । अर्जमका हरेक घरले २–४ वटा लोकल कालो सँगुर अनिवार्य झै पाल्ने गर्छन । बढी पाल्नेले २५–३० वटासम्म पाल्ने गर्छन । रत्नेचौरका अधिकांश मगरले पनि सुँगुर पाल्छन ।
अर्जमका थापा मगरहरुले परापूर्वकालदेखी नै सुँगुर पाल्दै आएका हुन । यहाँका रैथाने थापा मगरको घरमा मान्छे मर्दा पीण्डदान गर्ने वेला सुँगुर नभै हुन्न । पृतीलाई पीण्ड चढाउँदा जाँड, रोटी, सुँगुरको माशु चढाउने चलन छ । कुलपुजा, पृतीपुजा, दशैमा देवीमन्दीरमा पञ्चवली दिँदा होस वा विवाह, ब्रतवन्ध लगाएत सामाजिक कार्यगर्ता सुँगुर काट्ने गरिन्छ । विस १७४० सालतिर जुम्लाबाट आएका मनोहर थापा मगरले अर्जममा सुँगुर भित्राएको र सोही समयावधीदेखी सँुगुर पालिदै आएको मानिन्छ ।
‘हाम्रो जन्म देखी मृत्यु संस्कारका सवै काममा सुँगुर चढ्ने भएकोले परापूर्वकालदेखी नै पुर्खाहरुले पाल्दै आएका हुन । मगर, नेवार वा दलित सवैको घरमा सुँगुर पाल्ने चलन छ’ बेनी नगरपालिका, १ अर्जमका चन्द्रबहादुर थापाले भने, ‘आजभोली भने सुँगुरको माशु र पाठापाठीको माग बढेको छ । सवैको घरमा पाल्ने भएपनि माग अनुसार उत्पादन छैन, माशु गाउँमै पुग्दैन । कहिले काहीं बेनी–बाग्लुङसम्म पुग्छ ।’
परम्परागत शैलीमा पालिदै आएको अर्जमे कालो सुँगुर पालनलाई ब्यवसायीक बनाउन बेनी नगरपालिका, १ वडा कार्यालयले खोर निर्माण, ब्यवसायीक फर्म स्थापना गर्नेलाई आर्थिक अनुदान सहयोग पनि गर्न थालेको छ ।

 

सँगुरका पाठा–पाठीलाई स्थानीयले ‘भुनी’ र ‘विरे’ भनी सम्बोधन गर्छन । भुनी तीन महिनामा गर्भवती हुन्छे । ६ महिनामा ब्याउँछे । भुनीले एक वेतमा १५ वटासम्म पाठापाठी पाउँछे । अर्जमे कालो सँुगुरको एक बर्षमा ६० केजी तौल पुग्छ । ४५ दिनमा पाठापाठी र माउ छुट्याउनु पर्छ, नत्र आमाले पाठापाठी मार्छे । सुँगुरलाई घरमा फालिएका खानेकुरा, मकैको पीठो, धानको ढुटो, सिस्नु पकाएर खान दिईन्छ । सुँगुरको माशु गाउँलेलाई प्रति केजी ६ सय र गाउँबाहिर बेनी, बाग्लुङ पठाउँदा भने ८ सय रुपैया केजी विक्रि हुन्छ ।
‘हामीले वेच्ने भन्दा घरमै चाहिने भएकोले सुँगुर पाल्छौं । अर्जमका गाउँमा मासुकालागी खसीबोका र राँगो काट्ने चलन छैन । सुँगुर नै काट्छौं । आजभोली वोईलर कुखुरा पनि भित्रिएको छ’ बेनी नपा, १ अर्जमकी पार्वती थापाले भनिन, ‘सवैको घरमा पाल्ने भएकोले सुँगुरलाई आहारा पुऱ्याउन सकिन्न । बजारिया दाना खुवाउने चलन छैन, घरको पीठो, ढुटोले मात्र आहारा नपुग्ने भएकोले जति पुग्छ, त्यती नै पालेका हौं । आजभोली पाठापाठी विक्रि हुन थालेपछि केहीले अलि धेरै सुँगुर पाल्न थालेका छन ।’
सहरका होटल/रेष्टुरेन्टमा ‘बँदेल’ भन्दै कालो सुँगुरको मासुको विक्री वढेसँगै कृषक उत्साही छन । केही वर्ष अघिसम्म हेयभाव राखिने सुँगुरको मासु मात्र होईन पाठापाठीको पनि माग बढेको छ । माग बढेपछि संरक्षण र अर्जमे कालो सुँगुर (चोँचे)को ब्यवसायीक पालन थालेका छन । तिनैमध्यका एक हुन, बेनी नगरपालिका, १ सीमका एकेन्द्र थापा । उनको खोरमा अहिले २८ वटा माउ सुँगुरका छन । थापाले मात्र मासुबाहेक वर्षको तीन सयवढी सुँगुरका पाठापाठी वेच्ने गरेका छन ।
थापाले अर्जमे कालो सुँगुरको माग अधिक रहेको थाहा पाएपछिछ पछिल्लो तीन वर्षदेखी मात्र सुँगुर थपेका हुन । सुँगुर पाल्न नगरपालिकाको पशु शाखा र वडा कार्यालयले खोर निर्माण तथा पाठापाठी खरिद गर्न अनुदान दिएको छ । मासुको मुख्य बजार बाग्लुङ र बेनी हो । पाठापाठी भने बाग्लुङ र पर्वतसम्मबाट माग आएको छ । एउटा पाठाको मुल्य ४ हजार ५ सयदेखी ५ हजारसम्ममा विक्रि हुने गरेको छ ।
‘पुर्खा देखी नै सुँगुर पालेपनि ब्यवसायीक थिएन । अहिले बंगुर पालनसँगै सुँगुरलाई पनि ब्यवसायीक पालन थालेको हुँ । आफ्नो परिवारबाहेक ४–५ जनालाई रोजागरी पनि दिएको छ’ थापाले भने, ‘ब्यवस्थित खोर बनाएर ब्यवसायीक रुपमा पाल्न थालेपछि हिजोआज सुँगुरले पनि ‘मान’ पाएको छ, कृषकलाई हौसला मिलेको छ ।’