FLASH NEWS
  • Loading...

दाेवाका किसानकाे डौडे बेचेर तीन लाखबढी कमाइ ?

  • पुनहिल डट कम
  • १ साल अघि
  • ४१६ पटक पढिएको
दाेवाका किसानकाे डौडे बेचेर तीन लाखबढी कमाइ ?

खेतवारीका कान्ला र खोल्सामा आफै उम्रने जैविक र मौषमी तरकारी डौंडे वेचेर आम्दानी कति होला ? जाँगरिला र मेहिनती कृषकले जंगली तरकारी डौंडे बेचेर ३–४ लाखसम्म आम्दानी गर्छन । पत्याउनु भएन ? नपत्याए अन्नपूर्ण गाउँपालिका, १ दोवा जानुस । दाेवाका ऋषीराम गर्वुजा र नबहादुर पुर्जा जंगली जैविक तथा अर्गानिक तरकारी डाैडे बेचेर ३ लाखबढी अाम्दानी गर्ने अगुवा कृषक हुन । 
‘अघिल्ला वर्ष दोवाका ऋषीराम गर्वुजा र नबहादुर पुर्जालाई म आफैले प्रति ब्यक्ति एकै सिजनमा ३–४ लाखसम्म डौडेको मुल्य बुझाएको छु । दिनभर कृषकले जंगलमा गएर डौंडे खोज्छन । साँझ मैले सवैको जम्मा गर्छु । भोलीपल्ट सदरमुकाम पुऱ्याएर तरकारी ब्यापारीलाई दिन्छु, पैसा लिएर कृषकलाई बाँड्ने गरेको छ ।’ अन्नपूर्ण गाउँपालिका, १ दोवाका जीप चालक/डौडेको विचौलिया खरिदकर्ता भोविन्द्र गर्वुजाले भने, ‘गाउँको खेतवारीका कान्ला र खोल्साहरुमा प्रशस्त पाईने डौंडेलाई गाउँलेले टिप्छन । हामीले कृषकबाट किनेर ढुवानी खर्चबाहेक केजीमा १५–२० रुपैयाँ नाफा जोडेर ब्यापारीलाई दिन्छौं तर ब्यापारीले उपभोक्तालाई बढी मुल्य बेच्छन ।’ गर्वुजाले थपे, ‘कृषकले विना लगानीको डौंडे वेचेर मनग्य पैसा हात पार्छन । २०–३० हजार त सवैले कमाउँछन, अलि मेहिनती कृषकले बढी कमाउँछन ।याे वर्ष वल्न सिजन सुरू भएकाे छ ।’
उन्यु प्रजातिको डौंडे (एक प्रकारको निउरो) जैविक र मौषमी तरकारी वेचेर दोवाका कृषकले मात्र होईन रायखोर, दग्नाम, पाखापानी, झिं, भर्जुला, हिदी क्षेत्रका कृषकले मनग्य आम्दानी गर्न थालेका छन । माथीमाथीका वस्तीसम्म कच्ची सडक पुगेपछि गाउँमा खेर गैरहेको जंगलमा प्रशस्त पाईने मौषमी जैविक तरकारी गाउँलेको आम्रो आम्दानीको श्रोत बनेको छ । डौडे मात्र होईन, मौषम र भुगोल अनुसारको निउरो, ढकायो, च्याउ, टुसा वेचेर मेहिनती कृषकले राम्रै कमाउँछन ।
सदरमुकाम बेनी समेत बजारका सवै तरकारी पसलमा अधिक माग र महंगो मुल्यमा विक्रि भैरहेको अर्गानिक तरकारी हो, डौंडे । मध्य असारदेखी जैविक तरकारी डौडे बजारमा आउन थालेको हो । मध्य असारदेखीमध्य भदौ अन्तिमसम्म खेतवारीका कान्ला र खोल्सा, तथा झाडीमा आफै उम्रने डौंडे वेचेर यहाँका धेरै कृषकले मनग्य आम्दानी गर्छन । आफै उम्रने र जस्ले जति सक्यो उत्ति टिप्न पाईने डौंडे बेचेर ३०–५० हजार रुपैयाँ गाउँका प्राय: घरले कमाउँछन ।
‘मैले रायखोर क्षेत्रको डौडे ल्याउँछु । यहाँ महिला कृषकहरुको समुह छ । समुहले जम्मा गरेको डौडे मैले प्रति केजी (मुठा) ५५–६० रुपैयाँमा खरिद गरी बेनी लगेर ७५–८० रुपैयाँमा बेच्छु’ बेनी–चिमखोला रुटका जीप चालक रहेका विरु पुनले भने, ‘सदरमुकाम लगे जति पनि विक्रिहुन्छ, गाउँमा पाईन्छ । आफ्नै गाढीमा ढुवानी हुने भएकोले मलाई पनि राम्रै आम्दानी भएको छ । सिजनमा डौडे वेचेर मलाई पनि २–३ लाख रुपैया हात पार्छु ।’


१ हजार ४ सय मिटरदेखी २ हजार मिटर सम्मको उचाईको क्षेत्रका पानी भएको ठाउँमा डौंडे उम्रन्छ । झाडी भै उम्रने वहुबर्षिय डौडेको मुनालाई जति टिप्यो उत्ती पलाउने गर्छ । बेनी, बाग्लुङ र पोखराको तरकारी बजारमा दोवा, हिदी, भर्जुला, कुहुं, झिं, पाखापानी, बेग, दग्नाम, दर्मिजा क्षेत्रबाट डौंडे तरकारी बजारमा आउने गरेका छ ।
स्थानीय ब्यापारीले कृषकबाट प्रति केजी ५५–६० रुपैयाँमा खरिद गरी सदरमुकामका तरकारी पसलमा पुर्‍याई ७५–८० मा वेच्ने गरेका छन । तर उपभोक्ताको भान्सामा पुग्दा भने सोही डौडेको मुख्य १ सयदेखी १ सय २० रुपैयाँ पर्ने गरेको छ । यही डौंडे बाग्लुङ, पोखरा पुर्‍याउँदा उपभोक्ताले एक सय ५० भन्दामाथी मुल्य तिर्न बाध्य छन ।
‘आफै उम्रने र विना लगानीको डौंडेको ब्यापारमा राम्रो मुल्य छ । कृषकले नै सदरदर केजीमा ५० रुपैयाँ मुल्य दैलोमा पाएका छन । मुल्य महंगो भएपनि अर्गानिक उत्पादन तथा मिठो स्वादले गर्दा उपभोक्ताको रोजाईको तरकारी हो’ बेनी नगरपालिका, ८ पिपलचोक स्थित तरकारीका थोक विक्रेता देवेन्द्र सुवेदीले भने, ‘असार तेस्रोसाता देखी डौडे बजार आउन थालेको हो । उपभोक्ताको भान्सामा पुग्दा १ सय २० रुपैयाँ मुल्य छ । यो वर्ष पानी कम परेकोले डौडे राम्रो पलाएको छैन, साउनपछि मुल्य केही सस्तो हुन्छ ।’ सुवेदीले थपे, ‘साउन र भदौमा डौडेको ब्यापार राम्रो हुन्छ ।’


पहाडी क्षेत्रमा मुना टिपेर तरकारी/अचारको रुपमा प्रयोग गरिने उन्यू प्रजातिको निउरोलाई उम्रने सयम, उचाई, रंग र आकारले लुते, माछे, काली निउरो र डौंडे गरी चार प्रकारका हुन्छन । लुते निउरो चैत–वैशाखको सुख्खा बारीको कान्लामा उम्रन्छ । यो निउरो चिल्लो र झुस हुँदैन । वैशाख अन्तिमदेखी जेठसम्म ओसिलो वनजंगलमा पाईने माछे निउरो हो । यो निउरोको मुनाको माथील्लो वेरिएरको भागको दुवैपट्टी कालो भुत्ला टाँसिएको हुन्छ । अचारको रुपमा बढी प्रयोग गरिने माछे निउरो पनि सिजनमा निक्कै विक्रि हुन्छ ।
‘सवैले खेत र खोल्सामा आफै उम्रेको डौंडेको मुल्य महंगो भयो भन्छन । वास्तवमा जुका लाग्ने झाडीमा पसेर सर्प समेत किराले टोक्ने डर मान्दै टिप्यो । फेरै एउटै झाडीबाट भारीका भारी टिप्ने पनि पाईन्न, खोज्दै दिनभरीमा १२–१५ किलो संकलन गऱ्यो, त्यैपनि महंगो भन्छन’ गौमति पाईजाले भनिन, ‘वास्तवमा डौंडे/निउरोको अर्गानिक स्वाद चिन्नेकालागी कृषकले वेच्ने मुल्य धेरै सस्ता हो । तर विचौलिया नभै उपभोक्ताको भान्सामा नपुग्ने रहेछ ।’
निउरो तथा डौंडे खानुको फाईदा धेरै छन । पूर्ण जैविक तथा अर्गानिक तरकारी भएकोले विषादी रहित छ । पोषण विदहरुका अनुसार कोलेस्टोर एवं वोसोजन्य पदार्थ नहुने निउरोमा प्रोटिन, कयाल्सियम, भिटामिन ए लगाएत पोषक तत्व पाईन्छ । यो वालबालिका र गर्भवती महिलाकालागी अझ लाभदायक मानिन्छ ।
नेपाली भान्सामा अर्गानिक तरकारी/अचारको रुपमा स्वादमा कहलिएको डौंडे/निउरो टिप्न भने सजिलो हुँदैन । बर्खायामको झरीवालदमा जुकाको टोकाई सहेर खोल्साखाल्सीको झाडिमा पुग्नु पर्छ । सर्पले टोक्न सक्ने र अन्य वन्यजन्तुले आक्रमण गर्न सक्ने जोखिम पनि उत्तिकै हुन्छ । निउरो स्वादिलो वनस्पती भएपनि पकाउन भने सीप चाहिन्छ । पकाउने तरिका नमिल्दा यो टर्रो स्वादको वन्छ । निउरोको तरकारी वा अचार जे पकाउँदा पनि अमिलो भने चाहिन्छ ।