FLASH NEWS
  • Loading...

बेनी अस्पताल फार्मेसीमा जहिल्यै औषधी अभाव

  • पुनहिल डट कम
  • १ साल अघि
  • २०१ पटक पढिएको
बेनी अस्पताल फार्मेसीमा जहिल्यै औषधी अभाव

स्वास्थ्य विमा गरेका विरामीले बेनी अस्पतालमा हत्तपत्त औषधी पाउन छोडेका छन । अस्पतालले संञ्चालन गरेको फार्मेसीमा औषधी स्टक नहुँदा विरामीले श्वास्थ्य विमाबाट पाउने नियमित औषधीबाट वन्चित भएका हुन । 
स्वास्थ्य विमा गरेका र बेनी अस्पतालबाट नियमित औषधी सेवन गर्ने सुगर, प्रेसर, थाईराईट, क्लोलिस्ट्रोल समेत विमाले तोकेका औषधी प्रयोग गर्दै आएका विरामीले अस्पताल फार्मेसीमा नपाएपछि बाहिर महंगो मुल्यमा किन्न बाध्य छन । विमा नगरेका विरामीले पनि बाहिर निजी क्लिनिकमा महंगो मुल्य तिर्न बाध्य हुन्छन ।
‘मैले वाथ, सुगर र दमको औषधी नियमित सेवन गर्छु । महिना दिनकालागी औषधी पाईन्छ । महिनापछि दिनभर नाम दर्ता, जचाउँदा दिन वित्छ, औषधी लिन फार्मेसी गयौं । औषधी पाईन्न औषधी बाहिर क्लिनिकबाट खरिद गर्नु पर्छ । पछिल्ला केही महिनादेखी यो समस्या भोगेकी छु’ अन्नपूर्ण गाउँपालिका, ६ घारकी ७३ बर्षिया गुमादेवी खड्काले भनिन, ‘कहिले काहीं क्लिनिकबाट डाक्टरको प्रिकेप्सनभन्दा फरक औषधी परेको छ । नियमति औषधी सेवन गर्ने विरामीको नाम राखेर समयमै औषधी ल्याउने ब्यवस्था भए हुन्थ्यो ।’
विरामी एवं सेवाग्राहीलाई सुलभ र गुणस्तरीय औषधी सेवा पुर्‍याउन अस्पताल फार्मेसी संञ्चालन भएपनि अस्पताल फर्मुलरीमा सूचिकृत औषधीहरुको प्रयाप्त आपुर्ती र भण्डारण नहुँदा विरामीलाई चाहिएको वेला औषधी दिन समस्या हुने गरेको छ । फार्मेसीमा सप्लायर्सले नियमित औषधी उपलब्ध नगराउँदा विरामीलाई बेलाबेला बाहिर किन्न पठाउनु परेको बेनी अस्पतालले जनाएको छ ।
अस्पताल फार्मेसीमा सर्जिकल र मेडिसिन गरी दुई आईटमका औषधी राखिएको छ । मेडिसिन अन्र्तगत पनि भिटामिनजन्य (एनएसएआईडी) र क्रोनिक डिजिज नियमित औषधी सेवन गर्नु पर्ने रोगका विरामीको औषधी गरी दुई प्रकारका औषधी हुन्छन । विमाबाट नियमित औषधी सेवन गर्ने अधिकांश विरामी यीनै क्रोनिक डिजिजका हुन । अन्य विरामीले फार्मेसीमा किन्न नपाए बाहिर साझा वा निजी क्लिनिकमा पनि थोरै बढी मुल्य तिरे औषधी किन्न पाउँछन । तर विमाका विरामीले नि:शुल्क औषधी किन्नु किन्नु पर्दा बढी गुनासो गर्ने अस्पतालको भनाई छ ।
‘हामीले औषधी स्टक आउट हुन लागेपछि औषधीको लिष्ट बनाएर सप्लायर्सलाई पठाउछौं । तर उस्ले सप्लाई दिन कम्तीमा तीन महिना लगाउँछ । अस्पताल फार्मेसीमा आएका कम्तीमा ३० प्रतिशत विरामीलाई कुनै न कुनै औषधी नभएको संकेतगरी बाहिर किन्न पठाउछौं । त्यसैमा विमाका विरामी पनि पर्छन’ बेनी अस्पताल फार्मेसी इन्चार्ज प्रकाश रेग्मीले भने, ‘हाम्रो फार्मेसीमा सर्जिकलका तीन र मेडिसिन तर्फका तीन वटा सप्लायर्सले औषधी पठाउँछन । अस्पताल फर्मुलरीमा राखिएको औषधीको लिस्ट अनुसार सप्लायर्सले औषधी पठाउँछ । असार मसान्तलागेपछि विलिङ झन्झट हुने भएकोले झन सप्लाई नै दिंदैनन ।’
अस्पताल फार्मेसीका अनुसार मेडिसिन आईटम तर्फ मेडिकार्ड, सन फार्मेसी र लियान्स फर्मा र सर्जिकल तर्फ भुमे ट्रेडर्स, गितास्वयनी र ब्रोदर्स नामका सप्लायर्सले औषधी पठाउने गर्छन । सवैभन्दा थोरै प्रकारका औषधी सप्लाइ गर्ने मेडिकार्डले मात्र ६ सय १६ प्रकारका औषधी पठाउँछ । सप्लायर्सले एउटा–एउटा औषधीको छुट्टाछुट्टै औषधी सप्लाइ गर्ने ठेक्का पाएकोहुँदा औषधीको मात्र थोरै हुँदा समयमा सप्लाई नदिने गरेको पनि अस्पतालले जनाएको छ ।
अस्पताल ब्यवस्थापन समितिले फार्मेसीकालागी आवश्यक औषधीको लिष्ट तयार पार्दा बेनी अस्पतालमा विशेषज्ञ डाक्टरको सेवा नभएकोले उपलब्ध डाक्टर (मेडिकल अफिसरहरु)ले लेख्ने प्रिकेप्सनको आधारमा औषधीको लिष्ट बनाउँछ । त्यस्तै, समितिले स्वास्थ्य विमाले सूचिकृत गरेका औषधीहरुको लिष्ट पनी हेर्दैन त्यसैले कतिपय औषधी यहाँ नपाईने गरेको फार्मेसी इन्चार्ज रेग्मीले बताए ।
बेनी अस्पतालमा फार्मेसीबाहेक औषधी ब्यवस्था विभागले निशुल्क पठाउने औषधी पनि हुन्छ । तर डाक्टरहरुले प्रिकेप्सन लेख्दा विरामीलाई नि:शुल्क औषधी पाईने फाँटमा रिफर गर्दैनन, मौन बस्छन । दरववन्दीका डाक्टर रिक्त भएको र अधिकांश डाक्टर अस्पतालको आन्तरिक श्रोतबाट नियुक्त हुन्छन । फार्मेसी अस्पता ब्यवस्थापन समितिले चलाएको हो ।
फोटो क्याम्पसन : बेनी अस्पताल म्याग्दीमा रहेको फार्मेसी । फार्मेसीमा औषधी स्टक नहुँदा विरामीले श्वास्थ्य विमाबाट पाउने कतिपय नियमित औषधीबाट वन्चित छन । तस्वीर : घनश्याम खड्का, कान्तिपुर ।