FLASH NEWS
  • Loading...

एक साताअघि नै वर्षा सुरु हुने र औसतभन्दा बढी पानी पर्ने अनुमान

  • पुनहिल डट कम
  • १ साल अघि
  • २६३ पटक पढिएको
एक साताअघि नै वर्षा सुरु हुने र औसतभन्दा बढी पानी पर्ने अनुमान

यस वर्ष सामान्यभन्दा एक साताअघि नै मनसुन सुरु हुने र नेपालका विभिन्न भूभागमा औसतभन्दा बढी वर्षा हुने मौसमविद्हरूले बताएका छन्। नेपालमा सामान्यतया जुन १३ मा मनसुन भित्रिने गर्छ।

भारतको मौसम पूर्वानुमान शाखाले जुन १ मा केरलाबाट मनसुन सुरु हुने जनाएको छ। नेपालमा पनि मनसुन प्रभावित हुनसक्ने अनुमान गरिएको मौसम पूर्वानुमानको महाशाखाका मौसमविद् वरुण पौडेलले बताएका छन्।

“नेपाली मौसमविद्हरूले गरेको आकलनमा भने जुन १० देखि १३ को आसपासमा मनसुन सुरु हुने देखिएको छ।”

यस वर्षको मनसुनमा औसतभन्दा केही बढी पानी पर्ने पूर्वानुमान छ। मधेश प्रदेश र बागमती प्रदेशको क्षिणी भेगमा औसत पानी परे पनि बाँकी भूभागमा औसतभन्दा बढी वर्षा हुने ठानिएको छ।

नेपालमा मनसुन जुन १३ बाट प्रवेश गरेर अक्टोबर २ मा बाहिरिने गर्छ। यस अवधिमा औसत १,४३० देखि १,५३० मिलिमिटर वर्षा हुने गरेको पौडेलले बताए। त्योभन्दा १० प्रतिशत बढी वा घटी वर्षा हुनुलाई औसत नै मानिन्छ। ठाउँअनुसार औसत वर्षाको मात्रा फरकफरक हुन्छ।

सम्बन्धित ठाउँको ३० देखि ४० वर्षको तथ्याङ्कको आधारमा त्यहाँको औसत वर्षाको गणना गरिन्छ। उक्त स्थानमा पर्ने पानीको तुलनामा ११० प्रतिशतभन्दा धेरै वर्षा भयो भने त्यसलाई औसतभन्दा बढी मानिने विज्ञहरू बताउँछन्।

सामान्य अवस्थामा पानी खण्डखण्ड गरेर पर्छ। मनसुनमा त्यस्तो हुँदैन। बिहानैदेखि छिपछिपे झरी पर्छ । मनसुन दक्षिण हिन्द महासागरबाट सुरु हुन्छ। दक्षिणपूर्वी वायु बिस्तारै नेपाल प्रवेश गर्दा त्यसले वायुमण्डलको तल्लो भागमा असर पुर्‍याउँछ। मनसुनको समयमा पूर्वी नेपालबाट पानी पर्न थाल्छ र मध्य भाग हुँदै पश्चिम लाग्छ।