FLASH NEWS
  • Loading...

म्याग्दीका दर्जनबढी पर्यटन पार्क अधकल्चा र अलपत्र

  • पुनहिल डट कम
  • २ साल अघि
  • २०४ पटक पढिएको
म्याग्दीका दर्जनबढी पर्यटन पार्क अधकल्चा र अलपत्र

पार्ककाे संभावना, अाैचित्य, उपदेयता र भविश्यमा त्यसकाे उपयाेग, संरक्षण गर्ने कुनै उदेश्य र लक्ष्य तथा भिजनकाे तयारी विना म्याग्दीकाे पर्यटन पर्वद्धन गर्न सुरू गरिएका दर्जनबढी पर्यटन पार्क अधकल्चा र अलपत्र परेका छन ।

नेपालभर पाइने ३२ थरीका गुराँस रोपेर अन्नपूर्ण गाउँपालिका–७ फूलबारी डाँडाखर्कमा पार्क बनाउने योजना अलपत्र छ । गण्डकी प्रदेशको पर्यटन मन्त्रालयको ९ लाख ६० हजार र समुदायको १ लाख १० हजार गरी १० लाख ७० हजार रुपैयाँको लागतमा गुराँस पार्क बनाउने योजना थियो । डिभिजन वन कार्यालय म्याग्दीले पार्क बनाउनुपर्ने भए पनि हालसम्म गुराँसका बेर्ना सारिएका छैनन् ।

 

उक्त क्षेत्रमा ९ प्रकारका गुराँस पाइन्छन् । बाँकी २३ प्रजाति प्रदेश एकको तीनजुरे मिल्के जलजले गुराँस संरक्षण क्षेत्र आयोजनाबाट ल्याउने बताइएको थियो । सहायक वन अधिकृत नरबहादुर क्षेत्रीले कोरोना महामारीका कारण बेर्ना ल्याउन नसकिएको बताए ।

गुराँस पार्क मात्र होइन, बेनी नगरपालिका–१ रत्नेचौर नजिक ठूलो रानीवन सामुदायिक वनभित्र निर्माणाधीन ‘सहरी हरित पार्क’, रघुगंगा गाउँपालिका–५ झिंको टोड्केमा निर्माणाधीन ‘सिद्धबाबा हरित उद्यान’, अन्नपूर्ण–५ खोप्रा लेकमा निर्माणाधीन ‘पाहुना घर (धर्मशाला)’ अधकल्चो छन् । रघुगंगा गाउँपालिकाका सब–इन्जिनियर कमलबहादुर चोखाल बजेट अभावका कारण पार्क अलपत्र परेको बताउँछन् । पालिकाको तर्फबाट टोड्केको हरित पार्कको डिजाइन इस्टिमेट उनले गरेका थिए । ठेकदारले इस्टिमेटमा तोकेको काम अझै गरिसकेको छैन ।

बेनी नगरपालिका–९ तोरीपानीमा निर्माण गर्ने भनिएको ‘हरियाली उद्यान’ वन डिभिजन कार्यालयमार्फत सञ्चालन गरिएका पर्यापर्यटन पूर्वाधार, सहरी हरित पार्क र सिमसार संरक्षणका सबै ९ वटै कार्यक्रम बेवारिसे बनेका छन् । वनको अभिलेखअनुसार घोरेपानी–प्यारी बराह तालसम्म ३ हजार ३ सय मिटर लामो साइकल मार्ग र घोडा राख्ने तबेला बनाउन १९ लाख ९० हजार, टोड्केमा वनभोजस्थल घेराबार, खानेपानी आपूर्ति शौचालय बनाउन १९ लाख ९९ हजार, टोड्केमा हरियाली पार्क बनाउन ९ लाख ३७ हजार, गुराँस पार्क बनाउन ९ लाख ५० हजार, बेनीको रत्नेचौरमा सहरी हरित पार्क बनाउन ३ लाख ३४ हजार र प्यारीबराह तालमा सिमसार संरक्षण कार्यक्रमअन्तर्गत तालवरपर फुटपाथ निर्माण गर्न ५ लाख रुपैयाँभन्दा बढी खर्च भएको उल्लेख छ ।

‘प्रदेश पर्यटन मन्त्रालयको बजेट, पर्यटनमा अनुभवहीन वन कार्यालयले कार्यान्वयन गर्ने, वन उपभोक्ता समितीले ठेकदार लगाएर बनाउने र पालिकाले डिजाईन इष्टिमेट गर्ने भएकाेले कार्यान्वयनमै कठिनाइ थियाे । पार्ककाे अाैचित्य र उपदेयताबारे कुनै भिजन विना, समितिले बजेट तथा कार्यक्रम लिएर अाए र डिजाइन, इष्टिमेट निकाल भने, हामीले वजेट अनुसारकाे इष्टिमेट निकाल्याैं र साेही अनुसारकाे काम हेर्याै’ रघुगंगा गाउँपालिकाका सवइन्जिनियर कमलबहादुर चोखालले भने, ‘पार्क बनाउने भनेर केही पैसा आयो, घरावार, आरसिसि गरी केही बाटो, शौचालय र सानो भवन बनाएर छोड्ने छ । पार्कमा आवश्यक वगैचा निर्माण, आराम कुर्ची, पानी समेतका थप पूर्वाधार बनाउने बजेट नभएपछि पार्क अलपत्र बनेको हो ।’