FLASH NEWS
  • Loading...

सर्वोच्चको आदेशपछि म्याग्दीका पालिकाले आम्दानीकाे शीर्ष श्रोत गुमाए

  • पुनहिल डट कम
  • २ साल अघि
  • १४७ पटक पढिएको
सर्वोच्चको आदेशपछि म्याग्दीका पालिकाले आम्दानीकाे शीर्ष श्रोत गुमाए

सर्वोच्च अदालतका प्रधान न्यायाधिश चोलेन्द्र शम्शेर जवराको ०७८ साउन ४ गतेको उत्पेषणसमेतको आदेशले कालीगण्डकी नदीबाट दहत्तर, बहत्तर उत्खनन गर्न नपाएपछि यहाँका स्थानीय पालिकाले आन्तरिक आम्दानीको ठूलो श्रोत गुमाएका छन ।
म्याग्दीका बेनी नगरपालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाको राजश्वको शीर्ष स्रोत बनेका कालीगण्डकीको नदीजन्य पदार्थको विक्रि वितरण पनि एक हो । तर सर्वोच्च अदालतको कालीगण्डकी नदीको प्राकृतिक वहावलाई पथान्त्रणगरी नदीजन्य पदार्थ उत्खनन नगर्नु, नगराउनु यथास्थितीमा राख्नु भन्ने गत असारको आदेशले पनि यहाँका पालिकालाई अप्ठ्यारो पारेको छ । सर्वोच्च अदालतको आदेश भन्दै जिल्ला अनुगमन तथा समन्वय समितिले स्थानीय तहलाई पत्राचार गरेपछि ति नदीमा नदीजन्य पदार्थ उत्खननको ठेक्का हुन सकेको छैन ।
‘पालिकाको आन्तरिक आम्दानी ह्वात्तै घटेको छ । बजेटमा चालु आवमा १ करोड ३ लाख आन्तरिक आम्दानी हुने अनुमान गरिएको भएपनि पछिल्लो ८ महिनामा जम्मा २८ लाख मात्र आम्दानी भएको छ’ मंगलवार रघुगंगा गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा पालिकाको आर्थिक अवस्था प्रस्तुत गर्दै राजश्व तथा आलेप शाखा प्रमुख कुशल ढुङ्गानाले भने, ‘आम्दानीको शीर्ष श्रोत कालीगण्डकी नदीको उत्खनन गर्न नपाईने भएपछि नदीजन्य पदार्थको आम्दानी शुन्य छ । आन्तरिक आम्दानीको श्रोत खोजी जरुरी छ ।’
त्यसैगरी बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकाले पनि कालीगण्डकी नदीबाट दहत्तर, बहत्तर उत्खनन गर्न नपाएपछि आन्तरिक आम्दानी घटेको जनाएको छ । बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालका अनुसार सर्वोच्च अदालतको आदेशकै कारण कालीगण्डकी नदीमा नदीजन्य पदार्थ उत्खनन गर्न ठेक्का लगाउन नपाएकोले अन्य आन्तरिक आयको श्रोत नभएको नगरपालिकाले राजश्वको शीर्ष स्रोत परेको हो ।
त्यस्तै कोरोना कहरको कारण पनि यी पालिकाले तातोपानी कुण्ड समेत पर्यटकीय क्षेत्रबाट हुने आम्दानी पनि गुमाएका छन । आन्तरिक राजश्व गुमाउनेमा सवैभन्दाबढी अन्नपूर्ण गाउँपालिका रहेको छ । अन्नपूर्ण गापाले पछिल्ला दुई बर्षदेखी करिव दुई करोड बढी आन्तरिक राजश्व गुमाएको छ ।

पालिकाले यहाँका पर्यटकीय क्षेत्रहरु तातोपानी, खोप्रा र पुनहिल समेतका गन्तब्यमा वाह्य प्रर्यटकसँग लिँदै आएको प्रवेश शुक्क उठ्न रोकिएपछि आन्तरिक आम्दानी घटेको हो । त्यस्तै होटल/रेष्टुरेन्ट ब्यवसाय दर्ता र नविकरण तथा पर्यटनमा आधारित उद्योग/ब्यवसायबाट राजश्व बढ्नुको सट्टा छुट दिनु परेकोले झन आन्तरिक आम्दानी घट्न पुगेको छ ।
कोरोना कहरले पर्यटक नआएपछि भुरुङ तातोपानीबाट बार्षिक ९० लाख, पाउद्धार तातोपानीबाट १५ लाख, खोप्राबाट ५ लाख र पुनहिल (घोरेपानी)बाट ८० लाख बार्षिक आन्तरिक राजश्व गुमाएको हो ।
‘कोरोनाले गर्दा हाम्रो पालिकाको आन्तरिक राजश्व संकलन ह्वात्तै घटेको छ’ अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरणप्रसाद शर्माले भने, ‘अघिल्लो बर्ष त ठप्प भयो, यो वर्ष न्यून अङ्कमा भएपनि तातोपानी र पुनहिलमा टेण्डर लगाउन खोजेका छौं । तातोपानीमा २० लाखमा टेण्डर आह्वान गर्दा पनि ब्यवसायी सम्झौता गर्न आएका छैनन । पुनहिलको अवस्था पनि उस्तै रहेको छ ।’